सीडीएससीकी प्रशासन प्रमुख सविना पुजारीले हितग्राही खाता खोलेर आफ्नो नाममा रहेका बाणिज्य बैंकका शेयर प्रमाणपत्रहरु अभौतिकीकरण गराईसकेका लगानीकर्ताहरुको बोनस र हकप्रद शेयर डिम्याट खातामै जम्मा हुने प्रबन्ध मिलाईएको स्पष्ट पार्नुभयो ।
कागजी प्रमाणपत्र राख्नेलाई झंझट
मेरोलगानी डटकमसँग कुरा गर्दै पुजारीले हितग्राही खाता नखोल्ने र आफ्नो नाममा रहेका बाणिज्य बैंकका शेयर प्रमाणपत्रहरु कागजी रुपमा नै राख्नेहरुको हकमा भने बोनस र हकप्रद प्रमाणपत्र छापिएर कागजी रुपमै आउने जनाउनुभयो । यसरी हेर्दा समयमै हितग्राही खाता खोल्न चासो नदिने लगानीकर्ताहरु कागजी प्रमाणपत्र लिन शेयर रजिष्ट्रारकै कार्यालय धाउनु पर्ने, लामो लाईन बस्नुपर्ने र भौतिक प्रमाणपत्रको झंझटिलो प्रक्रियामै अल्झिरहनुपर्ने भएको छ ।
हालै साधारणसभा गरेको कुमारी बैंकको शेयर शाखाले आफ्नो कम्पनीको ३३ प्रतिशत बोनस शेयर वितरणको हकमा हितग्राही खाता खोलेर शेयर प्रमाणपत्रहरु डिम्याट गराएका शेयरधनीको हकमा बोनस शेयर हितग्राही खातामा जम्मा हुने र शेयर डिम्याट गराएकाहरुको भौतिक प्रमाण पत्र नै छापिने जनाएको छ ।
नेप्से र बोर्ड किन बेखबर ?
बोनस र हकप्रद शेयर प्रमाणपत्र कसरी उपलब्ध हुँदैछ भन्ने बारेमा नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डका अधिकारीहरु भने अझै स्पष्ट भईसकेका छैनन् । सीडीएससीले बोर्ड र एक्सचेन्जलाई बोनस र हकप्रद शेयर प्रमाणपत्र प्राप्त गर्नेसम्बन्धी कार्ययोजना एक महिनाअघि नै पठाईसकेको स्पष्ट पारेको छ ।
सीडीएससीले गत असोज २० गतेदेखि खरिद भएर नामसारीमा आएका बाणिज्य बैंकहरुको शेयर प्रमाणपत्रहरुलाई डिम्याट गराएर मात्र सम्बन्धित खरिदकर्ताको नाममा हकहस्तान्तरण गर्ने प्रक्रिया मिलाएकोे छ । त्यसैगरी कार्तिक २ गतेदेखि खरिद गरिएका सबै कम्पनीका शेयर नामसारी गर्दा धितोपत्र खरिद गर्दा अभौतिकीकरण गर्ने कार्यबिधि अनुसार भईरहेको छ । पुजारीका अनुसार बोनस र हकप्रद पनि डिम्याट रुपमै उपलब्ध गराउन असोज २० यता साधारणसभा गरेका बाणिज्य बैंकहरुको शेयर प्रमाणपत्रलाई अभौतिक गराउने काममा अहिले सीडीएससी केन्द्रित भईरहेको छ ।
आगामी माघ २ गतेदेखि बाण्ज्यि बैंक, फागुन १ गतेदेखि बिकास बैंक र बैशाख १ देखि सबै कम्पनीहरुको अनिवार्य पूर्ण डिम्याट शेयर कारोबार गर्ने कार्यतालिका सीडीएससीले तय गरेको छ । पूर्ण डिम्याट शेयर कारोबार गर्ने क्रममा शेयर बेच्ने र किन्ने दुबैको हितग्राही खाता हुनुपर्ने र बेच्ने शेयर डिम्याट गराएपछि मात्र शेयर दलाललाई बिक्री आदेश दिन पाईने छ । यसरी बिक्री गरिएको डिम्याट शेयर तेस्रो कार्य दिनमा खरिदकर्ताको हितग्राही खातामा जम्मा हुने छ ।
कम्पनी र लगानीकर्ता पनि उस्तै
सीडीएससीले शेयर कारोबारलाई आधुनिकीकरण गर्ने र सहज बनाउने प्रक्रिया अगाडि बढाई रहेको भए पनि अझै केही कम्पनीहरुले आफ्ना शेयर अभौतिक गराउने र लाखौं लगानीकर्ताले हितग्राही खाता खोल्नेतर्फ चासो देखाएका छैनन् । सीडीएससीले दिएको तथ्यांक अनुसार नेपालको शेयर बजारमा १० लाख लगानीकर्ताहरु रहेकोमा हालसम्म ११ हजार ७ सय २६ जनाले मात्र हितग्राही खाता खोलेका छन् ।
त्यसैगरी नेप्सेमा सुचिकृत ३ सय ३३ कम्पनीहरु मध्ये हालसम्म ६३ कम्पनीले मात्र शेयर डिम्याट गराउने सम्झौता गरेका छन् भने ६५ कम्पनीले निबेदनसम्म दिए पनि सीडीएससीसँग सम्झौता गर्नमा ढिलाई गरेका छन् ।
काठमाडौमै थुप्रिए डीपी
हितग्राही खाता खोल्ने निक्षेप सदस्य (डीपी)को संख्या २३ पुगेको छ र थप ५ वटा कम्पनीहरुले यसका लागि निवेदन दिएका छन् । डीपीहरुको कार्यालय काठमाडौमा मात्र केन्द्रित रहेकाले देशका मुख्य शहरहरुमा विस्तार हुन नसकी हजारौ लगानीकर्ताहरु हितग्राही खाता खोल्ने पहुँचबाट बाहिरै छन्् । सुचिकृत कम्पनीहरुको अर्बौ कित्ता शेयर संख्या रहे पनि हालसम्म केही शेयरधनीका २५ लाख ८२ हजार ८ सय कित्ता कागजी प्रमाण पत्रमा रहेका शेयर मात्र अभौतिकीकरण गरिएको सीडीएससीले जनाएको छ ।