नेपाल राष्ट्र बैंकलाई केन्द्रीय बैंक अर्थात बैंकहरुको पनि बैंक भनिन्छ । केन्द्रीय बैंकका प्रमुख अर्थात गभर्नरको मासिक तलव ७८ हजार रुपैयाँको हाराहारीमा मात्रै रहेको छ । तर, बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले मासिक पाँच लाख देखि १५ लाख रुपैयाँ सम्म बुझ्दै आएका छन ।
कस्को कति तलब ?
बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी तलव लिनेमा ईन्भेष्टमेन्ट बैंकका ज्योति पाँडे देखिएका छन । उनको बार्षिक
तलव ८६ लाख ४० हजार रहेको छ भने भत्ता, सञ्चयकोष, दशै खर्च समेत गरी एक करोड ६६ लाख ३७ हजार रुपैयाँ भन्दा माथि पुग्छ ।
बैंकिङ किङ भनेर चिनिने मेगा बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहको तलव भत्ता समेत गरी १ करोड ५९ लाख २५ हजारको हाराहारीमा रहेको छ ।
उता, अनिल शाह नै पहिले प्रमुख कार्यकारी रहेको नबिल वैंकका हालका प्रमुख कार्यकारी अनिल ज्ञवालीको तलव शाहको भन्दा कम छ । अनिल ज्ञवालीले नबिल बैंकबाट एक
करोड २० लाख रुपैयाँ तलव, ११ लाख ४० हजार रुपैयाँ भत्ता लिने गरेका छन् । यसबाहेक बैंकले उनलाई थप सुविधा पनि प्रदान गर्ने गरेको देखिएको छ ।
एनएमबी बैंकका प्रमुख कार्यकारी उपेन्द्र पौडेलले वार्षिक ९६ लाख चार हजार रुपैयाँ तलव भत्ता लिने गरेका छन् । उनले तलव वापत ५० लाख ४० हजार, भत्ता वापत ३३ लाख ६० हजार, दशैं खर्च सात लाख र सञ्चय कोष वापत पाँच लाख चार हजार रुपैयाँ पाउदै आएका छन ।
प्राईम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले तलव वापत ५७ लाख ६० हजार, भत्ता वापत ३८ लाख ४० हजार पाउदै आएका छन । भत्ता ,सञ्चयकोष समेत जोड्दा उनको वार्षिक आय एक करोड ७१ लाख ६५ हजार भन्दा माथि पुग्छ ।
सानिमा बैकका प्रमुख कार्यकारी भुवन दाहालको तलव ८४ लाख ५५ हजार ८ सय सात,
संचयकोष तथा भत्ता छ लाख ९५ हजार ६३८ गरी जम्मा ९१ लाख ५१ हजार ४४५ रहेको छ ।
त्यस्तै, कुमारी वैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्याय ८० लाख ७६ हजार ४सय ७२ रहेको छ ।
लक्ष्मी वैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको तलव भत्ता समेत गरी वार्षिक एक करोड ९ लाख ३० हजार रहेको छ ।
त्यस्तै सिटिजन्स बैंकका मुख्य कार्यकारी राजनसिंह भण्डारीको तलव वार्षिक ९६ लाख ६३ हजार ६८० रुपैयाँ छ ।
सिभिल बैंकका प्रमुख कार्यकारी किशोर महर्जनले मासिक तलव १२ लाख रुपैयाँ बुझ्ने गरेकामा अरु सुविधा जोड्दा उनले वार्षिक एक करोड ४४ लाख रुपैयाँ बुझ्छन् । त्यसबाहेक बैंकले उनलाई दशैं खर्च, बोनस, सञ्चयकोष सुविधा, गाडी, मेडिकल र दुर्घटना बीमा अलग्गै सुविधा पनि दिएको छ ।
लुम्बिनी बैंकका प्रमुख कार्यकारी शोभनदेव पन्तले तलव भत्ता तथा अन्य सुविधावापत वार्षिक एक करोड १६ लाख १० हजार रुपैयाँ लिने गरेका छन् ।
यस पटक वैंक अफ द ईयर को उपाधी पाएको ग्लोवल आईएमई बैंकका सिइओ रत्नराज बज्राचार्यको तलव भत्ता समेत गरी ९७ लाख ५१ हजार सात सय ७९ रहेको छ ।
उता, बिदेशी साझेदारी रहेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी एके आलुवालियाको बार्षिक तलब सुबिधा ६५ लाख ५५ हजार रहेको देखिन्छ । नेपाल एसबीई बैंकका प्रमुख कार्यकारी आलोककुमार शर्माको बार्षिक तलब सुबिधा पनि आकर्षक रहेको छ ।
तल्ला तहकालाई मार
बैंकका प्रमुख कार्यकारी र माथिल्ला तहका कर्मचारीहरुले आकर्षक तलब सुविधा लिए पनि तल्ला तहका कर्मचारीहरु भने निकै कम पारिश्रमिकमा काम गर्न बाध्य छन् । कतिपय बैंकले कर्मचारीलाई बढी तलब दिन पर्ने अबस्था देखेपछि बाहिरबाट भाडामा कर्मचारी राख्ने (आउट सोर्सिङ) गर्ने गरेका छन् भने कतिपयले प्रशिक्षार्थी कर्मचारी राखेर खाजा खर्च मात्र दिएर काममा लगाउने गरेका छन् ।
यसरी कर्मचारीलाई आउँट सोर्सिङ गर्दा कर्मचारीलाई बढी सुविधा दिनु नपर्ने, कुनै एउटा कम्पनीसँग सम्झौता गरेर भाडाका कर्मचारीलाई काममा लगाउँदा उनीहरुको सेवा सुविधा र भविष्यमा आईपर्ने उपदान, संचय कोषलगायतका रकमहरु ब्यहोर्न नपर्ने र कुनै समस्या आए सम्बन्धित कम्पनीले नै जिम्मेवारी लिने हुँदा बैंक तथा बित्तीय संस्थाहरुलाई सहज हुने गरेको छ ।
भाडामा राखिएका कर्मचारीहरुले केही समय अघि नबिल बैंकमा अन्य कर्मचारी सरह सेवा सुबिधाको माग गर्दै आन्दोलन समेत गरेका थिए । अर्को तर्फ प्रशिक्षार्थीको रुपमा राखिएका कर्मचारीलाई एक बर्षसम्म काम सिकाएर बढीमा छ हजार पारिश्रमिकमा बल्ल नियुक्त गर्ने गरिएको बताईन्छ ।
राष्ट्र बैंकले पनि केही गर्न सकेन
बैंकका कार्यकारीहरुको सुविधामा अंकुश लगाउने गरी राष्ट्र बैंकले केही बाध्यकारी कानुनी प्रबन्ध गर्न
खोजे पनि त्यो सफल हुन सकेको छैन् ।
राष्ट्र बैंकले हालै प्रस्ताव गरेको बैंक तथा बित्तीय संस्थाहरु सम्बन्धी ऐनको संशोधनमा पनि प्रमुख कार्यकारीहरुको पारिश्रमिक तथा सेवा सुविधामा अंकुश लगाउने बारेमा कुनै प्रावधान नथपिएको बताईन्छ ।
सक्नेले लिने तर्क
बैंकका कार्यकारीहरुको तलब सुविधा बढी भएको भन्ने बारेमा नाम उल्लेख गर्न नचाहने एक बैंकका कार्यकारीको तर्क छ– यो हामी आफैले लिएका हैनौं । हामी यति तलब सुबिधा दिन्छौ भनेर संचालक समितिले नै बोलाए पछि आएका हौं । कसले कति लियो हैन्, बैंकले कति प्रगति गर्यो भन्नेलाई आधार बनाउनुपर्छ ।
अर्का कार्यकारी भन्छन् – राम्रो काम गर्नेले सेवा सुबिधा पनि राम्रै खोज्छन्, जस्ले राम्रो काम गरेर बैंकको प्रगति गर्छ, उस्ले लिनु स्वभाविक हो । यस्ता मामिलामा प्रश्न उठाउनेहरुले बुझ्नुपर्छ, मह काढ्नेले हात अबश्य चाट्छ । अनि बैंकको अबस्था खस्किएर धरासायी भए त्यसको दोषको भारी पनि बोक्नुपर्छ ।
आफ्नो करियर दाउमा राखेर ठूलो जोखिम मोली बैंकलाइ फाईदामा पुर्याउने कामको नेतृत्व प्रमुख कार्यकारीले नै गर्ने हुँदा सेवा सुबिधा लिएको कुरालाई अन्यथा भन्न नमिल्ने तर्क गर्नेहरु पनि छन् ।
बसाइँ सर्नेहरु बढ्न थाले
बैंक संचालक समितिले राम्रा ब्यक्तिहरुलाई प्रमुख कार्यकारी बनिदिन आग्रह गर्दै आकर्षक तलब सुबिधा प्रस्ताव गर्न थालेपछि पछिल्लो समयमा एक बैंकबाट अर्को बैंकमा कार्यकारी प्रमुखहरु बसाइँ सर्ने क्रम पनि बढ्न थालेको छ ।