आधा दर्जन विकास बैंकहरुको नाफा घट्यो, १४ मध्ये २ विकास बैंक घाटामा

Jan 23, 2023 01:05 PM Merolagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आधा दर्जन विकास बैंकहरुको नाफा घटेको देखिएको छ। विकास बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो।

हालसम्म १४ विकास बैंकहरुले पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका छन्। सोमध्ये ६ विकास बैंकको नाफा बढेको छ भने ६ विकास बैंकको नाफा घटेको छ। बाँकी २ विकास बैंक भने नोक्सानीमा रहेका छन्।

 

२१ प्रतिशत घट्यो विकास बैंकहरुको नाफा

समीक्षा अवधिमा विकास बैंकहरुको नाफा २१.३१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब २८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको १४ विकास बैंकहरुले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ५८ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। आधा दर्जन विकास बैंकहरुको नाफा घटेसँगै कुल नाफा पनि घट्न पुगेको हो।

सर्वाधिक नाफा बढाउनेमा कर्पाेरेट डेभलपमेन्ट बैंक

पुस मसान्तसम्ममा कर्पाेरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले मात्र गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढाउन सफल भएका छन्। जसमध्ये सर्वाधिक नाफा वृद्धि गर्नेमा कर्पाेरेट डेभलपमेन्ट बैंक रहेको छ। बैंकले गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा २७९.०५ प्रतिशत नाफा बढाएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३० लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्मा १ कराेड १७ लाख रुपैयाँ नाफा कमाएको छ।

मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी

१४ विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी रहेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ६२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशत बढी हो।

ज्याेति विकास बैंकको नाफा सबैभन्दा बढी घट्यो

नाफामा रहेका ११ विकास बैंकमध्ये ज्याेति विकास बैंकको नाफा सबैभन्दा बढी घटेको छ। समीक्षा अवधिमा यस बैंकको नाफा ८९.९० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ करोड ४७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।

२ विकास बैंक नोक्सानीमा

पुस मसान्तसम्ममा नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक नोक्सानीमा रहेका छन्। यी तीनमध्ये सबैभन्दा बढी घाटामा सिन्धु विकास बैंक रहेको छ। बैंकले यस अवधिसम्ममा १ करोड ८७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

comments powered by Disqus