सुनकाे भाउ एक लाख १० हजार रुपैयाँसम्म पुग्नसक्ने, बजारमा किन्ने भन्दा बेच्नेकाे संख्या धेरै

Jan 25, 2023 01:03 PM Merolagani

ऐतिहासिक रेकर्डमा पुगेको सुनको भाउ बुधबार सामान्य घटेको छ । माघ ११ गते, सुन तोलामा १०० रुपैयाँले सस्तिएको छ । चाँदी भने यस दिन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार भने सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । हिजो, सुन तोलामा एक हजार रुपैयाँले महंगिएर प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँको उंचाइमा पुगेकाे थियो जुन हालसम्मकै उच्च हो ।

अघिल्लो वर्षको फागुन २५ गते, सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँको स्तरमा पुगेको थियो । पछिल्लो रेकर्डभन्दा हालको रेकर्ड मूल्य ८०० रुपैयाँले बढी हो ।

चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम रहेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार ३६५ रुपैयाँमा झरेको थियो ।

सुन एक लाख १० हजार रुपैयाँसम्म पुग्नसक्ने

अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ । पछिल्लो ९ महिना यताकै उच्च दरमा सुन बजारमा कारोबार भइरहेको छ ।

यद्यपी बुधबार भने विश्व बजारमा सुनको भाउ ओरालो लागेको देखिन्छ । तथ्यांक अनुसार यो समाचार प्रकाशित हुने समयसम्म सुन प्रति अउन्स सात डलरले घटेर एक हजार ९३० डलरमा किनबेच हुँदैछ ।

नेपालमा सुनको मूल्य अझै माथि जाने नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुमान रहेको छ । विश्वमा नै सुनखानी ७५ प्रतिशत रित्तिएको र २५ प्रतिशत मात्र बाँँकी रहेको अन्तरराष्ट्रिय संचारमाध्यमले लेखिरहेका छन् । जसकारण सुन युरेनियम भन्दा पनि महत्वपूर्ण हुने र सुनको प्रयोग विशेष स्थानमा मात्र हुने आंकलन गरिएको छ । सोहि क्रममा अमोरिकाका विज्ञहरुले विश्वभर भइरहेकाे मूल्यवृद्धिको तुलनामा सुनको भाउ नबढेको गुनासो गरिरहेका छन् । विज्ञहरुका अनुसार प्रतिअउन्स सुन तीन हजार डलरसम्म पुग्न सक्नेछ । सोहि आधारमा नेपालमा पनि सुनको भाउ २ लाख रुपैयाँसमम्म पुग्न सक्ने अनुमान महासंघको रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले सुनको भाउ तत्काल नै २ लाख रुपैयाँ नपुगे पनि बिस्तारै पुग्न सक्ने बताएका छन् । "अहिले एक वा डेढ महनिाभित्र सुन प्रतितोला एक लाख १० हजार रुपैयाँसम्मको रेकर्ड बन्ला कि ?", उनी संकेत गर्छन् ।

विश्वमा सुनको भाउ बढिरहनु र डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै गइरहेकोले पनि सुनको भाउ बढोत्तरी हुँदै जाने महासचिव बज्राचार्यले खुलाउँछन् । "जब जब विश्वको अर्थतन्त्रमा क्राइसिस आउँछ, ठुला लगानीकर्ताहरुले कागज अथवा मुद्रामा लगानी गर्न छोडेर मेटल वा सुनमा लगानी गर्न थाल्छन् । कोभिडको समयदेखि रुस र युक्रेनको युद्धको समयमा सुनको भाउ उथलपुथल भएको थियो । अहिले चीन र ताइवानको युद्ध भएमा पुन सुनको भाउ माथि जान सक्छ ", उनी सुनाउँछन् ।

नेपाली सुन बजारमा छैन कुनै उत्साह, किन्नेभन्दा बेच्नेकाे संख्या धेरै

माघ महिना विवाहकाे सिजन भएपनि अहिले नेपाली सुनबजारमा भने कुनै उत्साह देखिँदैन । यतिबेला सुन पसलहरूमा सुन किन्ने भन्दा बेच्नेकाे संख्या धेरै रहेकाे छ । सुन व्यवसायीहरूका अनुसार सुनकाे भाउ बढ्दा सुन खरिद गर्ने निकै कम रहेका छन् । अत्यावश्यक हुनेले पनि थाेरै सुनमा नै काम चलाउने गरेकाे उनीहरू बताउँछन् ।

महासचिव बज्राचार्य भन्छन्,"अहिले जनताको क्रयशक्ति अत्यन्त क्षिण छ । त्यसैले यो विवाहको सिजन भएपनि व्यापार राम्रो छैन। सुन महंगो हुँदा बजारमा पुरानो सुन बेच्न ल्याउनेको संख्या धेरै छ । सुन किन्न आउनेको भन्दा बेच्न आउने धेरै हुने भएकोले नेपाली सुनबजारमा असर परेको छ । बजारमा कुनै उत्साह छैन ।"

डेढ महिना अघिदेखि बैंकबाट आएन सुन

सुनकाे भाउमा महंगी र व्यापार सुस्त भएकाले नेपाल बैंकर्स एसोसियसनसँग समन्वय गरेर नेपाल सुनचाँदी व्यवसायी महासंघले हाललाई सुन रोक्का गरेकाे छ । माग कम भएकाे भन्दै अहिले वाणिज्य बैंकहरूले सुन आयात गरेका छैनन् । बैंकहरूमा पुरानै सुन अझै माैजदातमा रहेकाले बैंकर्स एसाेसियसनले सुन आयातकाेलागि सिफारिस गरेकाे छैन ।

अन्य समयमा यस्तो सिजनमा दैनिक ४० किलो सुनको माग हुने गरेकाेमा  डेढ महिनाअघिदेखि बैंकबाट आएको सुन बल्ल सकिन लागेकाे महासंघले जानकारी दिएकाे छ ।  पुस ३ गते आएको सुनले नै हाल बजार धानिरहेको अवस्था छ ।

महासचिव बज्राचार्यले मेराेलगानीसँग भने, "हालको परिस्थितीलाई मध्यनजर गर्दै नेपाल बैंकर्स एसोसियसनसँग समन्वय गरेर नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेलाई सुन रोकिएको छ तर बजार राम्रो भएसँगै फेरि सुचारु हुन्छ।"

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।