हिन्डेनबर्गको प्रतिवेदनले भारतीय शेयर बजारमा ठुलो झड्का,प्रतिबेदनमा के छ ? अडाणी ग्रुपको अस्तित्व संङ्कटमा

Jan 27, 2023 03:55 PM merolagani



सन् २०२० मा अमेरिकाको न्यासड्याकमा एक कम्पनी सूचिकृत भयो। सूचीकरण भएको केही समयमै कम्पनीको मूल्यमा तीव्र वृद्धि देखियो। पाँच डलर भन्दा कम मूल्यमा सूचिकृत कम्पनीको कम्पनीको शेयर मूल्य बढेर ९० डलरसम्म उक्लियो।

रातारात कम्पनीको शेयर मूल्य आकासिएपछि अमेरिकाको हिन्डेनबर्गले एक प्रतिवेदन सार्वजनिक गर्‍यो। उक्त प्रतिवेदनले निकोलाका संस्थापक ट्रेभोर मिल्टनले लगानीकर्तालाई झुट बोलेको दाबी गर्‍यो। उक्त प्रतिवेदनले गरेको खुलासाको विरुद्ध निकोलाको विषय अमेरिकी अदालतसम्म पुग्यो। अदालतले समेत निकोलाका संस्थापकले लगानीकर्ताहरूलाई झुट बोलेको प्रमाणित गरिदिएपछि रातारात आकासिएको कम्पनीको शेयर मूल्य मात्रै घटेन, कम्पनीको अस्तित्व नै लगभग समाप्त भयो। निकोलाले दर्जनौँ झुठको जगमा कम्पनी खडा गरेको र त्यसको अवैध कारोबारको दोषी मिल्टन रहेको आरोप प्रतिवेदनले लगाएको थियो।

निकोलाको विषयले पूर्ण बिराम नपाउँदै पुनः फोरेन्सिक पाइनेन्सियल रिसर्च फर्म हिन्डेनबर्गले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्यो। जसले भारतको अणानी ग्रुपलाई ठुलै झड्का दिएको छ। बुधवारदेखि घट्न सुरु गरेको अणानी ग्रुपको शेयरको मूल्य झर्ने क्रम शुक्रवार पनि रोकिएन। प्रतिवेदनमा अडाणी ग्रुप माथि धोखादडी गरेको आरोप लगाइएको छ। जसले अडाणी ग्रुपको शेयरमा ठुलै धक्का लागेको छ। बुधवारदेखि शुक्रवारसम्म अडाणी ग्रुपको नेटवर्थ १० प्रतिशत भन्दा बढीले घटिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ब्लुमबर्गका अनुसार अडाणीलाई करिब १.४४ लाख करोड भारतीय रुपैयाँको नोक्सानी भइसकेको छ।

सूचिकृत कम्पनीको मात्रै शेयर मूल्य घटेको छैन, अडाणीले निष्कासन गर्न लागेको एफपिओमा समेत निक्कै ठुलो धक्का लागेको छ। शुक्रवारबाटै अडाणी ग्रुप अन्तर्गतको अडाणी इन्टरप्राइजेजले एफपिओ निष्कासन गर्ने मिति तय गरिएको थियो। कम्पनीको शेयर तीन प्रतिशतमा डिस्काउन्टमा बिक्री गर्ने तय भएको थियो। कम्पनीले प्रति कित्ता मूल्य ३११२ रुपैयाँदेखि ३२७६ रुपैयाँसम्मको मूल्य तय गरेको थियो। तर उक्त प्रतिवेदन सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्य नै दोस्रो बजारमा २७ सयको लाइनमा झरेको छ। जसले कम्पनीको शेयर बिक्री हुने नहुने अनिश्चित हुन पुगेको छ।

सार्वजनिक भएको प्रतिवेदनलाई लिएर अडाणी ग्रुपले अदालत जाने सङ्केत गरेको छ। अडाणी ग्रुपका प्रमुख फाइनान्सियल अफिसर जुगशिंदर सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै अदालत जाने सङ्केत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। तर प्रतिवेदन सार्वजनिक गर्ने संस्थाले समेत कानुनी कारबाहीको विषयको स्वागत गर्ने प्रतिक्रिया दिएको छ। जसरी प्रतिवेदन सार्वजनिक भएपछि निकोलाको अस्तित्व समाप्त भएको थियो त्यस्तै हालत कतै अडाणीको त हुने होइन भनेर भारतीय लगानीकर्ता अत्तालिएका छन्।