चार दिनदेखि आलु प्याज आएन, स्थानीय उत्पादनमा समेत भ्याट लगाइएपछि विरोधमा उत्रिए व्यवसायी, बिक्री वितरण ठप्प

Dec 07, 2023 03:08 PM merolagani

हरेक दिन कालीमाटी फलफूल तथा तरकारी विकास समिति अन्तर्गतको बजारमा मात्रै दैनिक सरदर दुई सय टन रातो आलु आउने गर्छ। त्यसैगरि सुकेको प्याज औसत एक सय ४० टनको दरले झर्ने गर्छ।

आलु १७ गतेदेखि र प्याज १९ गतेदेखि कालीमाटीमा आएको छैन।  १७ गते आएको एक सय ४० टन आलुले अहिले काठमाडाैंकाे माग धानिरहेको छ भने १९ गते झरेको साढे २४ टन प्याजले बजार धान्नु पर्ने स्थिति छ। चार दिनदेखि कालीमाटी तरकारी बजारमा आलु प्याज नझरेका कारण त्यसको दैनिक मूल्य समेत समितिले निर्धारण गरेको छैन। आलु प्याज नै नआएको कारण मूल्य निर्धारण नगरेको समितिले जनाएको छ। “तीन/चार दिनदेखि आलु प्याज बजारमा आएको छैन। जसको कारण मूल्य निर्धारण नगरिएको हो,” समितिका प्रवक्ता विनय श्रेष्ठले भने।

श्रेष्ठका अनुसार आलु प्याज व्यवसायीहरूले अहिले बजारमा ती बस्तु नै आयात नगरेका कारण मूल्य निर्धारण गर्न नसकिएको हो। उनीहरूले आलु प्याजमा लगाइको भ्याटको विषयलाई लिएर विरोध गरिरहेको कारण आलु प्याज नआएको हो। व्यवसायीले विरोध गरिरहँदा समितिले उनीहरूलाई वार्ता गराउन समन्वय गरिरहेको छ। तर कुरा अझै मिली सकेको छैन। समिति त्यसमा प्रयासरत रहेको छ।

गएको चार दिनदेखि आलु प्याज बिक्री वितरण नै ठप्प पारेर विरोध गरिरहेका व्यवसायीहरूको महासंघले भने यो विरोध संस्थागत विरोध नभएर व्यवसायी बाटै स्वतःस्फूर्त रुपमा भएको विरोधकाे रुपमा अर्थ्याएको छ। स्वतःस्फूर्त रुपमा आलु प्याज व्यवसायीले विरोध गरेपछि त्यसको नेतृत्व मात्रै महासंघले गरिरहेको आलु प्याज व्यवसायी महासंघका महासचिव प्रकाश गजुरेलले बताए।

गजुरेलका अनुसार यस अघि सरकारले बजेटमा आलु प्याजमा भ्याट लगाउने विषय ल्याएको थियो। जसको विरोध त्यति बेलै गरिएको थियो। उक्त विरोध पछि आन्तरिक राजस्व विभागका महानिर्देशकले आन्तरिक उत्पादनमा नलाग्ने तर आयातितमा लाग्ने भनेर मौखिक आश्वासन दिएका थिए। यो आन्तरिक उत्पादनलाई सुरक्षित गर्न ल्याएको नीति भनेर थुमथुम्याएका थिए। उता अर्थमन्त्रीले समेत सोही कुरा भनेपछि व्यवसायीले कारोबार गर्दै आइरहेका थिए। तर अचानक अहिले आएर आन्तरिक र आयातित दुबैमा आन्तरिक राजस्व कार्यालयबाट खटिएका कर्मचारीले निरीक्षणको क्रममा भ्याट बिल खोज्न थालेपछि व्यवसायी आतङ्कित भएका छन्। भ्याट बिल मात्रै नखोज्ने, व्यवसायीलाई धर पकड नै गर्न थालिएपछि सबै व्यवसायीले एक जुट भएर स्वतःस्फूर्त रुपमा बिक्री वितरण नै बन्द गरेका हुन्।

चार दिनदेखि चलिरहेको बिरोधकाबीच आलु प्याज भने अभाव हुन थालिसकेको छ। यस बीचमा व्यवसायी र सम्बन्धित पक्षबीच पनि निरन्तर वार्ता भइरहेका छन्। बुधवार मात्रै व्यवसायीहरूले आन्तरिक राजस्व विभागमा छलफल गरे। त्यसमा पनि त्यही कुरा कार्यालयले दोहोर्‍याएको छ। तर व्यवसायी अझै त्यो विषयमा कन्भिन्स हुन सकेका छैनन्। बिहीबार बिहान समितिसँग पनि व्यवसायीले छलफल गरेका थिए। त्यसमा पनि कुनै निष्कर्ष निक्लिएन। व्यवसायी यस पटक मौखिक आश्वासनले मात्रै नमान्ने मुडमा छन्। उनीहरू लिखित रूपमै दिनु पर्ने अडानमा छन्। “पहिले पनि हामीलाई मौखिक रुपमा भनियो। त्यही आधारमा हामीले व्यवसाय गर्दै आइरहेका थियाैं। तर यस पटक भने हामीले लिखित नै माग गरिरहेका छौ,” गजुरेलले भने।

आन्तरिक उत्पादनमा भ्याट लगाउँदा कृषकबाट आलु प्याज खरिद गर्दा भ्याट बिल नपाइने र उनीहरूबाट खरिद गर्दा दोहोरो भ्याट लाग्ने अवस्था सिर्जना हुने भएपछि व्यवसायीले बिक्री वितरण रोक्नुको विकल्प नदेखेको गजुरेल बताउँछन्। यसबीचमा राजस्व कार्यालय र समितिले आलु प्याजको यो विरोधलाई भने अझै साम्य पार्न सकेका छैनन्। जसका कारण उपभोक्ताले बजारमा एक्कासी बढेको मूल्यमा आलु प्याज किन्न बाध्य हुनु परेको छ। अर्कोतर्फ समितिले मूल्य नतोक्दा आफूखुसी मूल्य निर्धारण हुने क्रम बजारमा देखिन थालिसकेको छ।  

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।