पूर्वी क्षेत्रमा सबैभन्दा बढी घर जग्गा कारोबार, तैपनि छैन उत्साह, मन्दीको असर देखिएको व्यवसायीको ठम्याइ

Mar 15, 2024 06:28 AM merolagani

सुवास निरौला

घर जग्गा कारोबारको मामलामा इनरुवा मालपोत कार्यालयले सबै मालपोत कार्यालयलाई पछाडि पार्‍यो। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको फागुन महिनाको विवरण अनुसार इनरुवा मालपोत सबैभन्दा अघि देखिएको हो।

फागुनमा इनरुवा मालपोतबाट मात्रै दुई हजार ६ वटा घरजग्गा किनबेच भए। जुन अरू मालपोत कार्यालयहरूको तुलनामा सबैभन्दा बढी हो। सुनसरी जिल्लाको सदरमुकाम रहेको इनरुवा मालपोतले सबैभन्दा बढी घर जग्गाको कारोबार गर्दै गर्दा नेपालका पूर्वी क्षेत्रका अरू जिल्ला पनि कारोबारमा अघि देखिएका छन्। काठमाडौँदेखि पश्चिम भन्दा पनि पूर्वी क्षेत्रका बढी कारोबार हुँदै आएका छन्। किनकि इनरुवा पछि जनकपुरधामबाट १९ सय ९७ वटा, भद्रपुर झापाबाट १८ सय ५०, बेलबारी मोरङबाट १६ सय ४३, राजविराज सप्तरीबाट १३ सय ६५, जलेश्वर महोत्तरीबाट १२ सय ८४  र मलंगवा सर्लाहीबाट ११ सय १४ वटा घरजग्गा किनबेच भएका छन्।

तर गत वर्षको तुलनामा करिब ३० प्रतिशत घरजग्गाको कारोबार घटेको छ। गत वर्ष औसतमा ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेकोमा यो आर्थिक वर्ष उक्त अनुपात ५० हजारमा झरेको छ। गएको महिना माघकै तुलनामा फागुनमा किनबेच घटेको  विभागको तथ्याङ्क छ। गत माघमा देशभरका मालपोत कार्यालयबाट ५० हजार ९२१ वटा घरजग्गाको किनबेच भएको थियो। विभागका अनुसार फागुनमा उक्त कारोबार घटेर ४९ हजार २८७ वटामा खुम्चिएको छ। ३६ हजार ७५१ वटा घरजग्गा रोक्का भएको छ भने २९ हजार १४१ वटा घरजग्गा फुकुवा भएको विभागले जनाएको छ।

यति बेला घरजग्गा कारोबार सुस्त छ। जति पनि घर जग्गा कारोबार भइरहेका छन्। ती सबै आवश्यकता अनुसार मात्रै कारोबार हुँदै आएका छन्। यस अघि भने आम सर्वसाधारणले लगानीको रुपमा समेत घरजग्गा किन्ने गरेका थिए। आज किनेको घरजग्गाको मूल्य भोलिपल्टै बढ्ने गरेकाले पनि सर्वसाधारण घरजग्गा कारोबार प्रति आकर्षित हुने गरेका थिए। तर अहिले त्यस्तो देखिएको छैन। सर्वसाधारणले घर र जग्गामा पैसा हाल्न चाहिरहेका छैनन्। पहिले जस्तो मूल्यमा तीव्र उतार चढाव नभएकोले पनि लगानी गर्न सर्वसाधारण अनिच्छुक देखिएका हुन्। जसले गर्दा अहिले कारोबार घट्दै आएको विभागले जनाएको छ।

अर्को तर्फ मुलुकमा आर्थिक क्षेत्र चलायमान नहुनु र मुलुक आर्थिक मन्दीमा रहेकोले पनि पहिले जस्तो कारोबार नभएको घरजग्गा व्यवसायीको ठम्याइ छ। “अहिले मुलुक नै आर्थिक मन्दीको मारमा परेको छ। यस्तो अवस्थामा अरू क्षेत्र चलायमान नभएसम्म यो क्षेत्र पनि चल्ने देखिँदैन। समग्रमा भन्दा अहिले घर जग्गा कारोबारमा मन्दी आएको छ,” एक घरजग्गा व्यवसायीले मेरो लगानीसँग भने।

फागुनमा देशभरका मालपोत कार्यालयले सेवा दिएबापत ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेका छन्। देशभरका मालपोत कार्यालयबाट सेवा कर बापत २५ करोड ६६ लाख रुपैयाँ, रजिस्ट्रेसन दस्तुर बापत २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ, पूँजीगत लाभकर बापत १ अर्ब २८ करोड ४८ लाख रुपैयाँ र अन्य विभिन्न सेवामार्फत माथि उल्लेखित राजस्व सङ्कलन गरेका हुन्।

फागुन महिनामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्नेमा लगनखेल मालपोत कार्यालय छ।  उसले ३५ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलन गर्‍यो। दोस्रोमा चाबहिल मालपोत कार्यालय छ। उसले २५ करोड ८२ लाख रुपैयाँ सङ्कलन गर्‍यो। क्रमशः भक्तपुरबाट २५ करोड ४४ लाख रुपैयाँ, कलङ्की मालपोतले २४ करोड २९ लाख, डिल्लीबजार कार्यालयले २१ करोड ३७ लाख रुपैयाँ, चितवन मालपोतले १६ करोड ११ लाख रुपैयाँ, कास्कीले १२ करोड ६६ लाख रुपैयाँ र इनरुवा मालपोत कार्यालयले ११ करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेका हुन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।