सन्तानको माेहले आफ्नो मान, सम्मान, पद, प्रतिष्ठा सबै गुमाएका यी नेता, यस्ता राजनीतिक नेतृत्वबाट मुलुकले के अपेक्षा गर्ने?

Mar 23, 2024 06:36 PM Merolagani

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे । आफूमाथि लागेको आरोपबाट महराले कहिले कसरी मुक्ति पाउलान्, त्यो भविश्यमा अदालतले बताउला । तर, सुन तस्करी प्रकरणमा महराको भूमिकाको बारेमा बिचार गर्ने हो भने उनी आफ्नै चाहानाले भन्दा पनि छोरा राहुल महराको लागि काम गरिदिंदा फस्दै गएको देखिन्छ ।

अर्थात् महरा छोराको महत्वाकाँक्षा पूर्ति गरिदिनको लागि चिनिया सुन तस्करहरुको गिरोहसंगको सम्पर्कमा पुगेका मात्र छैनन्, आफै त्यो चंगुलमा निकै नराम्ररी फसेका छन् । जहाँबाट निस्किन सहज छैन । कथंकदाचित अदालतबाट सफाइ पाइहाले भने पनि आम नेपालीको बीचमा उनको परिचय सुन तस्करको नाइकेको रुपमा स्थापित भइसकेकाे छ र त्यो आरोपबाट उनले सम्भवत जीवन पर्यन्त मुक्ति पाउने छैनन् ।

महरा एउटा उदाहरण हुन्, खोजी गर्ने हो भने नेपाली राजनीतिमा सन्तानको स्वार्थपूर्तिको लागि आफ्नो मान, सम्मान, पद, प्रतिष्ठा सबै गुमाएका उदाहरण थुप्रै छन् । पंचायत, राणाकाल र त्योभन्दा पुरानो इतिहासको कुरा गर्नै पर्दैन, विसं २०४७ यता करिब तीन दशकको अवधिमा देश र नागरिकले आदर्श पात्र मानेका कतिपय व्यक्तिहरुसमेत समय क्रममा सन्तानको स्वार्थमा जेलिएर अपराधकर्ममा लिप्त भएर जीवनको उत्तरार्धमा आफूलाई नै सडकमै पुर्याएकाहरुको सूची लामो छ । कुनै बेला गोरखाली कांग्रेसी नेता चिरन्जिवी वाग्ले देशका प्रभावकारी नेताहरु मध्ये मानिन्थे । सन्त नेता कृष्णप्रसाद भट्राईका अनुयायी वाग्ले २०४८ देखि २०५९ को बीचमा पटक पटक मन्त्री भए । आफू सन्त नेता भट्राईको अनुयायी भए पनि उनले छोरा देवेन्द्र वाग्लेको अति महत्वाकांक्षालाई व्यवस्थापन गर्न नसक्दा एक एक पछि अर्काे गर्दै भ्रष्टाचारका काण्डहरुमा संलग्न हुन पुगे । हाल कांग्रेसको महासमितिको सदस्य रहेका वाग्लेले बाबुको नाममा मच्चाएका ब्रम्हलुटहरुको बारेमा दिनहुँ जसो संचारमाध्यम रंगिन थालेपछि अख्तियारले उनी विरुद्ध अदालतमा मुद्धा दायर गर्यो । र, विशेष अदालत हुँदै सर्वाेच्च अदालतबाट पनि उनी भ्रष्टाचारी ठहर भएपछि केही वर्ष जेल नै बसे । जेलबाट मुक्त भएपछि राजनीतिबाट अवकाश लिएका वाग्ले आफूलाई भेटन जानेहरुलाई सन्तान मोहले आफूलाई डुबाएको गुनासो गर्ने गरेको उनी निकटका व्यक्तिहरु बताउंछन्

छोरा प्रतिक थापाको तस्करी धन्दामा साक्षी बसेको कारण एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलको राजनीतिक भविश्य माथि समेत प्रश्न उठिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त प्रतिक त हाल फरार छन् भने उपाध्यक्ष थापामाथि कति बेला के हुने हो भन्न सकिने अवस्था छैन । सोही प्रकरणमा हालमा थुनामा रहेका एमाले सचिव टोपबहादुर रायमाझी पनि छोरा सन्दिप रायमाझीको लुटलाई संरक्षण र नेतृत्व गर्दाको परिणाम भोगिरहेका छन् । टोपबहादुर र सन्दिप दुवै अहिले जेलमा छन् ।

हाल थुनामै रहेका छोरा दिपेश पुनको कारण पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन समेत कतिबेला कानुनी दायरामा आउने हुन्, आशंका कायमै छ । प्रहरी छानविनको दायरा राम्रोसंग फैलियो भने उपराष्ट्रपति नन्दबहादुर पुनसम्म पुग्न सक्ने संभावना रहेको स्वंय सरकारी अधिकारीहरु बताउंछन् । छोरी सुजाता कोइरालाको महत्वाकांक्षालाई साथ दिंदा नेपाली कांग्रेसका नेता गिरीजाप्रसाद कोइराला स्वंय भ्रष्टाचारको आहालमा डुब्न पुगे । २०४८ मा कोइराला प्रधानमन्त्री भएपछि घटेका, घटाइएका धमिजा, लाउडा लगायतका प्रायः सबै भ्रष्टाचारका काण्डहरुमा कुनै न कुनैरुपमा सुजाताको भूमिका निर्णायक रहेको देखिन्छ । सुजाताको भ्रष्ट मनोवृत्तिको कारण आफ्नो हैसियत र देशको अवस्था नै संकटमा परे पनि कोइरालाले पचाए । यदि सुजाताले आफ्नो बाबुको शक्तिलाई दुरुपयोग गरेर काण्डहरु सृजना नगरेको भए आज कोइराला बाबु छोरीलाई नागरिकले हेर्ने दृष्टिकोण त अति उच्च हुने नै थियो, देशको अवस्था पनि फरक हुने थियो ।

हाल नेकपा समाजवादीको समाजवादीको सम्मानित रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि पुत्र मोहले पटक पटक विवादमा परेका छन् । उनका छोरा निर्भिक खनाल आफै ठेक्का पट्टाको काम त गर्छन नै, बाबुको पहुँचलाई आधार बनाएर चलखेल गर्ने गरेको समाचारहरु बेलाबेलामा आउने गर्छन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरहादुर देउवा आफै विवादित पात्र त हुदैंहुन्, त्यसमाथि पछिल्लो समय उनी छोरा जयविरको आर्थिक लुटको संरक्षक बन्न थालेका समाचारहरु आइरहेका छन् ।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको २०७४ सालमा असमयमै निधन भयो । तर, निधन हुनु अगाडि नै उनका अनेक काण्डहरु सार्वजनिक भइसकेका थिए । उनको निधन भएपछि अहिले प्रचण्डकी कान्छी छोरी गंगा दाहाल अनेक काण्डहरुमा मुछिरहेकी छन् । गंगाकै कारण प्रचण्डमाथि अनेक आरोप लाग्दासमेत प्रचण्ड मौन वसिरहेका छन् । पूर्व राजा ज्ञानेन्द्रका छोरा, पूर्व युवराज पारसका उद्धण्डताको बारेमा त हरेक नेपालीलाई थाहा छदैंछ । नेपालमा राजतन्त्रलाई अलोकप्रिय बनाउनमा पारसका उद्धण्ड र भ्रष्ट कृयाकलापहरुलाई मुख्य कारण मानिन्छ । त्यसो त सन्तानको मोहका कारण आफै बदनाम भएका, सत्याच्युत हुन पुगेका घटना नेपालमा मात्र होइन, विश्वव्यापीरुपमा हुने गर्छ । भ्रष्टाचारको एउटा मुख्य आधार नै शक्तिमा रहेकाहरुको सन्तान मोह हो । फरक के छ भने विकसित देशमा प्रश्न उठ्ने वित्तिकै छानबिन हुन्छ र दोषी पाइएमा हदैसम्मको कारवाही हुन्छ । नेपालमा भने नागरिकको तहबाट जति प्रश्न उठे पनि दोषि माथि छानबिन हुदैन, छानबिन भैहाल्यो भने पनि दोषी किटान गरिदैंन र किटान गरिहालियो भने पनि कारवाही गरिदैन । अपवादमा वाहेक उच्च पदस्तका भ्रष्ट सन्तानमाथि कारवाही हुदैंन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।