आगामी बर्ष लाभांश बाड्ने प्रभु बैंकको उद्देश्य सफल होला ?

Mar 01, 2015 merolagani



 निस्क्रिय कर्जाले झण्डै डुब्ने अबस्थामा पुगेको किष्ट बैंकलाई किनेर बनेको प्रभु बैंकले हकप्रद शेयरको अनुपात १० बाट २० प्रतिशत बनाएपछि लगानीकर्ताहरुको चासो सो बैंकतर्फ मोडिएको छ । यही कारण पछिल्ला दिनहरुमा सो बैंकको शेयर किनबेच तीब्र छ । पछिल्ला दिनमा प्रभु बैंकको शेयर कारोबारले अरु सबै कम्पनीलाई पछि पारेको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५० करोड रुपैयाँ प्रोभिजन गरेर पनि ५४ करोड नाफा कमाएको सो बैंकले चालु त्रैमासमा पनि उल्लेखनीय नाफा बढाउने संकेत देखिएको छ ।

निस्क्रिय कर्जा असुलीको क्रममा तत्कालीन किष्ट बैंकका मुख्य कार्यकारी कमल ज्ञवालीले बेचेको शेयर वापतको १२ करोड रकम चालु तेस्रो त्रैमासको बित्तीय विवरणमा सामेल हुने र अन्य निस्क्रिय कर्जा असुली पनि तीब्र पारिएकोले बैंकको खुद नाफा राम्रै हुने बताईएको छ ।


प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले मेरोलगानी डटकमसँग कुरा गर्दै भन्नुभयो– दोस्रो त्रैमासकै हाराहारीमा हामी निस्क्रिय कर्जा असुलीमा प्रगति देखाउने प्रयासमा छौ, पहिले सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआउने ऋणीहरु हाम्रो सक्रियता बढेपछि अहिले आफै ऋण तिर्न चासो दिन थालेका छन् ।
प्रभु बैंकले गत बर्षको साधारणसभाबाट पारित गरेको दश प्रतिशत हकप्रदको निर्णयलाई परिमार्जन गरेर बीस प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव केही दिन भित्रैमा हुने विशेष साधारणसभामा लैजाने भएको छ । निस्क्रिय कर्जा असुलीका साथै कारोबार बृद्दि गर्दै जाने रणनीति अनुरुप पूँजी बृद्दिको निर्णय गरिएको शेरचनले बताउनुभयो । ग्राण्ड बैंकलाई एक्विजिशन गर्ने सम्झौता भएको र हालै ग्राण्डको विशेष साधारणसभा पनि सकिएकाले उसँग अन्तिम समझदारी भएपछि प्रभुले विशेष साधारणसभा आब्हान गर्ने छ । ग्राण्डसँगको एक्विजिशन सक्नु अगावै प्रभुले हकप्रद शेयर निश्काशन र बांडफाँड सक्ने योजना बनाएको छ ।

तीन अर्ब बीस करोड चुक्ता पूँजी भएर पनि संस्थापकहरुले पनि तोकिए अनुसारको रकम हाली हकप्रद दिने निर्णयमा पुग्नुले प्रभुका प्रबद्र्दकहरुमा दृढ ईच्छाशक्ति भएको सक्षम ब्यक्तिहरु छन् भन्ने देखाउँछ । किनभने प्रबद्र्दकले रकम हालेपछि मात्र सर्वसाधारण शेयरधनीका लागि हकप्रद निश्काशनको अनुमति पाईन्छ ।  

अर्कोतर्फ प्रभुले तेस्रो त्रैमासमा पनि खुद नाफा बढाएपछि निस्क्रिय कर्जा १६ प्रतिशतबाट निकै तल झर्ने अपेक्षा गरिएको छ । निस्क्रिय कर्जा उठाउँदै जाने र सुरक्षित तवरले ऋण लगानी गरी नाफा पनि कमाउँदै जाने रणनीति उस्को छ । बैंकले आगामी बर्ष हुने साधारणसभामा केही न केही लाभांश लगानीकर्तालाई बाड्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ । प्रमुख कार्यकारी शेरचनले भन्नुभयो– लाभांश दिने अबस्थामा पुगिएमा नगद लाभांश चाही नभनौ, सकेसम्म बोनस शेयर नै दिने भन्ने हो ।


बैंकले निस्क्रिय कर्जा असुली बढाउँदै लगेमा त्यस्तो कर्जा वापत प्रोभिजन गरेको ठूलो रकम फिर्ता ल्याएर नाफामा देखाउनसक्ने हुनाले बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्ममा आफुलाई पूर्ण रुपमा स्वस्थ देखाउँनसक्ने प्रशस्त आधार छन् । अर्कोतर्फ ग्राण्ड बैंकलाई एक्विजिशन गरेको अबस्थामा पनि बैंकले निस्क्रिय कर्जा असुली र सुधारको प्रयासलाई झनै तीब्र पार्ने रणनीति बनाएको छ । ग्राण्ड बैंकको १२ अर्ब कर्जा मध्ये बढीमा ५० करोड मात्र नउठ्ने आंकलन प्रभु समूहले गरेको छ ।

ग्राण्डलाई किन्ने योजना सफल भएमा प्रभुले आफ्नो केन्द्रीय कार्यालय बिजुलीबजारबाट ग्राण्डको हालको आफ्नै भवनमा सार्ने वा दुई मध्ये एउटा कार्यालय भवन बेच्ने योजना पनि बनाउँदै गरेको छ । यसबाट पनि बैंकको अबस्था निकै राम्रो हुने स्पष्ट छ । 

 

यो पनि बढ्नुहोस्

प्रभु बैंकले हकप्रद शेयर १० प्रतिशतबाट २० प्रतिशत बनायो

अन्तिम दिनको शेयर कारोबारमा किन हौसिए लगानीकर्ता ?

ग्राण्ड बैंकले बोलायो बिशेष साधारण सभा, प्रभुसँग एक्विजिशन उल्लेख नहुनु अर्थपूर्ण

ग्राण्डलाई प्रभुले लगेपछि जनता बैंकलाई किन पर्यो चिन्ता ?

प्रभुको साथ पाएपछि बीमा संस्थानका ग्राहकलाई अब झन् सजिलो

ग्राण्डलाई मिसाउने सम्झौता गरेपछि प्रभु समूह उत्साहित, प्रभुको दोस्रो त्रैमासको खुद नाफा ५४ करोड