कर्जाको डुब्लिकेशन नहटाउने हो भने लघुबित्तहरु भयानक समस्यामा पर्नसक्छन् - केशवकुमार पौडेल, प्रमुख कार्यकारी, कालिका लघुवित्त विकास बैंक

Dec 16, 2015 Merolagani

केशवकुमार पौडेल नेपालको लघुवित्त अभियानका अनुभवी ब्यक्तित्व हुनुहुन्छ । २१ बर्ष निर्धन उत्थान लघुवित्त बिकास बैंकमा बिताएर गत बैसाखदेखि स्याङजाको कालिका माईक्रो केडिट बिकास बैंकको प्रमुख कार्यकारी बन्नुभएका पौडेल नेपालको माईक्रो क्रेडिट अभियानका बारेमा खुलेर कुरा गर्न रुचाउनुहुन्छ । प्रस्तुत छ, उहाँसँग मेरोलगानी डटकमले गरेको कुराकानी । 

कालिका माइक्रोफाइनान्सले लघुवित्त कारोबारलाई कसरी अघि बढाईरहेको छ ?

स्थापनाको सात वर्षे यात्रामा हाम्रो माइक्रो फाइनान्सले पश्चिम नेपालका १० जिल्लाहरुमा स्थानीयस्तरमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस क्रममा हामीले १९ वटा शाखाहरु मार्फत दुर्गम क्षेत्रमा लघुवित्त सेवा प्रदान गर्दैछौं । अब निकट भविष्यमै हामी अरु सेवाप्रदायक नभएका स्थानमा आधा दर्जन बढी शाखाहरु बिस्तार गर्ने योजनाका साथ अघि बढिरहेका छौं । संस्थागत सुशासनलाई प्रभावकारी बनाउने र फरक ढंगले कसरी स्थापित हुन सकिन्छ भन्ने सम्बन्धमा पनि गृहकार्य गरिरहेका छौं । 

माईक्रो फाइनान्सको अहिलेको वित्तीय अवस्था कस्तो छ ?

स्थापनाकालदेखि अहिलेसम्मको कृयाकलापलाई हेदा हाम्रो वित्तीय अवस्था एकदमै सन्तोषजनक छ । शेयरधनीहरुलाई कुनै किसिमको लाभांस तथा बोनस शेयर बितरण नगरेको अवस्थामा यस पटकबाट लाभांस बितरण पनि गर्ने योजना बनाएर त्यसै अनुरुप अघि बढेका छौ. । आगामी वर्षदेखि यसलाई निरन्तरता दिने क्रममा लाभांस तथा बोनसको दायरा पनि बढाएर लगानीकर्तालाई अझै आकर्षित गर्ने हाम्रो योजना छ । यसरी हेर्दा दुर्गम क्षेत्र केन्द्रित भएर चुनौतीका साथ त्यहाँका जनतालाई लघुवित्त सेवा प्रदान गर्ने क्रममा हामीले पाएको सफलता सन्तोषजनक छ । 

पश्चिम नेपालका विकट क्षेत्रलाई प्राथमिकतामा राखेर १० जिल्लाबाट लघुवित्त सेवा प्रदान गर्दाका अनुभवहरु कस्ता छन् ?

 दुर्गममा मात्र नभई पहाडी क्षेत्रमा नै लघुवित्त कम्पनी सञ्चालन तराईको तुलनामा केही असहज भएको हाम्रो अनुभव छ । तुलनात्मक रुपमा तराई भेगमा सवारी आवागमन, जनसंख्या, बस्तीको संरचना लगायत कारणले लघुवित्त कम्पनीले सानो क्षेत्रफलमा सहज रुपमा सेवा बिस्तार गर्न सक्ने अवस्था छ भने पहाडी भेगमा बस्ती पनि पातलो हुने अनि दुरीका हिसावले पनि सेवाग्राहीलाई संस्थासम्म पुग्न समस्या हुने अवस्थाले यस क्षेत्रमा काम गर्न पक्कै पनि सहज अवस्था छैन । अर्कातिर यस्ता कम्पनीले प्रवाह गर्ने ऋणलाई सदुपयोग गर्ने क्षेत्र पहाडको तुलनामा तराईमा धेरै छ, जसले पहाडी क्षेत्रमा कर्जा प्रवाह अनि निक्षेप संकलनमा सोचेजस्तो सफलता नपाउने अवस्था देखिएको हामीले अनुभव बटुलेका छौ. । तराई भेगमा ठुलो रकमको कारोबार हुन्छ भने यहाँ सानो रकमको कारोबारमा चित्त बुझाउनु पर्ने अवस्था छ ।

अहिले लघुवित्तको क्षेत्र फराकिलो हुँदै गएको हो ?

हो, अहिले लघुवित्तको कार्यक्षेत्र बिस्तार हुँदै गएको छ भने यसको दायरा पनि फराकिलो हुँदै गएको छ । यस क्रममा केही समस्या र व्यवधानहरु पनि थपिँदै गएका छन् । किनभने सबैलाई नाफा बनाउनु छ । यसका लागि लगानी पनि बढाउनु पर्ने अवस्था छ । जसले गर्दा १ जना सदस्यले कम्तीमा पनि चार पाँच स्थानबाट कर्जा लिएको देखिएको छ ।

पालो गरेर कर्जा प्रवाह गर्ने प्रणालीलाई यसले समस्यामा पार्ने अवस्था देखिएको छ । यदि अनाधिकृत रुपमा भैरहेको कर्जाको डुप्लिकेशन नहटाउने हो भने आगामी दिनमा समग्र लघुवित्त क्षेत्रलाई नै समस्यामा पार्ने भयानक अवस्था मैले देखेको छु । 

लघुवित्त कम्पनीहरुले गाउँका सोझा जनताहरुबाट चर्को व्याज लिएर कर्जा परिचालन गरिरहेको र त्यसैको आडमा लघुवित्त कम्पनीहरु मोटाउँदै गएको भन्ने आरोपहरु पनि लाग्ने गरेका छन नि ?

 

वित्तीय सेवाको पहुँच नभएका क्षेत्रमा केन्द्रित भएर सेवा दिने क्रममा चर्को मात्रामा व्याज असुली गरेको भन्ने कुरा सबै तिर सुनिँदै आएको छ । तर वास्तविक रुपमा हेर्ने हो भने एउटा लघुवित्त कार्यक्रमले गाउँ गाउँमा वित्तीय पहुँच बढाएको छ । यो क्रममा लघुवित्त कम्पनीहरुको सञ्चालन खर्च एकदमै धेरै भएकाले सबल र सक्षम हुनुपर्ने चुनौती एकातिर छ भने अर्कातिर वाणिज्य बैंकहरुबाट कर्जा लिएर त्यहि रकमको सहयोगमा यस्ता कार्यक्रम सञ्चालन गर्ने हो ।

अहिले हाम्रो कष्ट अफ फण्ड ७ प्रतिशतको हाराहारीमा हुँदा व्याजदर केही धेरै भएको देखिए तापनि पछि कुनै पनि बेलामा वाणिज्य बैंकहरुले कर्जाको व्याजदर बढाउन सक्ने अवस्था छ । हामीले केही वर्ष पहिले त दश बाह« प्रतिशतमा पनि त कर्जा प्रवाह गरेका हौं नि । अहिले राष्ट्र बैंकले पनि अरु बैंकलाई जस्तो यो क्षेत्रमा पब्लिक डिपोजिटलाई स्वीकृति नदिएको अवस्थामा आफु सञ्चालनमा रहनका लागि पनि व्याज अलि बढी लिनु पर्ने अवस्था छ ।

हाम्रोमा अहिले चलनमा रहेको बीस बाइस प्रतिशतको व्याजदरलाई अन्तर्राष्ट्रिय जगतमा चलेको व्याजदरसंग तुलना गर्ने हो भने त्यो न्युन व्याजदर हो । 

धेरै लघुवित्त संस्थाहरु खुल्दै छन्, प्रतिष्पर्धा पनि बढेको छ नि हैन ? 

हो, अहिले लघुवित्त कम्पनीहरु खुल्ने क्रम बढेर गएका कारण तिनीहरुका बीचमा प्रतिष्पर्धा पनि बढेर गएको छ । यो पक्कै पनि राम्रो कुरा हो किनभने कुनै एउटा मात्र कम्पनीले गर्ने सक्ने मानोपोलीलाई नियन्त्रण गर्न यसले सकारात्मक भुमिका निर्वाह गर्ने भएकाले यो प्रतिष्पर्धालाई सकारात्मक मान्नु पर्छ । 

तपाईहरुको संस्थाले ऋणी र लगानीकर्ताहरुलाई कस्तो सुविधा र प्रतिफल दिइरहेको छ ?

हामीले हाम्रा सेवाग्राहिलाई कसरी सहज रुपमा कर्जा प्रवाह गर्न सक्छौं भन्ने सम्बन्धमा वर्षमा छ, सात पटक भन्दा बढी छलफल गरेर योजना तर्जुमा गर्ने गरेका छौं । सेवाग्राहीको हितमा हामीले काम गर्न कुनै कसर बाँकी राखेका छैनौं । किनभने ग्राहकका वित्तीय समस्या समाधानमा हामी तत्पर भएर काम गरिरहेका छौं । यसले नै हामीलाई व्यवसायिक सफलता पनि दिलाएको छ ।

शेयरधनीको हकमा हामीले गत आर्थिक वर्षको नाफाबाट पहिलो पटक बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेका छौं । हामीले १० प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाएका छौं । राष्ट्र बैंकले बोनसको प्रस्ताव स्वीकृत गरे पछि हामी साधारण सभा आह्वान गरेर लगानीकर्तालाई बितरण गर्छौं ।
आगामी वर्षहरुमा हाम्रो कमाइका आधारमा २० देखि ३० प्रतिशतसम्म बोनस शेयर बितरण गर्ने लक्ष्य लिएका छौं । यस पटक पनि त्यहि अनुपातमा जान सक्ने अवस्था थियो, तर सुरुवात भएकाले हामीले १० प्रतिशत मात्र प्रस्ताव गरेका हौं ।

५ करोड मात्रै चुक्ता पूँजी त अहिलेको अवस्थामा अलि कम भएन र ? कारोबार बिस्तार र जोखिम बहन क्षमता बढाउन पूँजी बढाउने योजना बनाउनु भएको होला नि ?

बोनस शेयर बितरण सुरु गरेकाले यसलाई केही हदसम्म सजिलो बनाएको छ । यस पटक १० अर्को पटक कम्तीमा पनि २५ प्रतिशत बोनस शेयर बितरण गर्ने हाम्रो पाइपलाइन बनेको छ । यसबाट झण्डै ७ करोड पुगेको पूँजीलाई १० करोड पुर्याउन हकप्रद शेयर जारी गर्ने योजना छ । २ वर्ष पछि हामी राष्ट्र बैंकले तोके अनुसारको पूँजी भएको लघुवित्त कम्पनीका रुपमा स्थापित हुन्छौं । 

दुरदराजमा सेवा पुर्याउने माइक्रोफाइनान्सलाई सरकारले कसरी अझै प्रोत्साहित गर्नु पर्ला ?

अहिले माइक्रोफाइनान्स भनौं वा अरु वित्तीय संस्था भनौ सबैलाई एउटै दायराको कर लगाइएको छ । जब कि सबै संस्थाले एकै किसिमको सेवा प्रवाह अनि आम्दानी त गर्दैनन् । यो अवस्थामा माइक्रोफाइनान्सको करको दायरा अलि खुकुलो बनाउन सके यसको सेवा बिस्तार प्रभावकारी हुने थियो ।

अर्कातिर राष्ट्र बैंकले माइक्रोफाइनान्सलाई पब्लिक डिपोजिटमा लगाएको बन्देजले समस्या देखा परेको छ । असमान व्यवहार अनि समान करको कुरा जायज हो भन्ने पनि मलाई लाग्दैन । पब्लिक डिपोजिटको अधिकार माइक्रोफाइनान्सलाई पनि दिने हो भने माइक्रोफाइनान्सले पनि लगानी गर्न सक्ने थिए । जसले गर्दा उनीहरुको आम्दानीको स्रोत पनि बढ्ने थियो ।

दुर दराजमा ग्रामिण अर्थतन्त्र बलियो अनि आत्मनिर्भर बनाउन माइक्रोफाइनान्सको अरु रचनात्मक भुमिका के हुन सक्छ ?

मुख्य रुपमा अहिले वित्तीय सचेतनाका कार्यक्रम दुर्गम क्षेत्रका लागि महत्वपुर्ण छन् । अहिले केही हदसम्म यस्ता कार्यक्रम सञ्चालन पनि भइरहेका छन् । यसलाई अझै प्रभावकारी बनाउन समय समयमा तालिमहरुको आयोजना गर्ने काममा अग्रसर हुन जरुरी छ । अहिले माइक्रोफाइनान्सको उपस्थितिले दुर दराजका जनता केही हदसम्म सक्षम भएको देखिन्छ ।

अहिले वाणिज्य बैंकहरुलाई पूँजी बढाउन धौ धौ परेको अवस्थामा साना साना माइक्रोफाइनान्सहरुलाई पनि टिक्नै नसक्ने अवस्थाले अनिवार्य मर्जमा जानुपर्ने अवस्था पनि आउला नि ?
हाम्रो हकमा यो अवस्था नआए पनि अधिकांस माइक्रोफाइनान्सको अवस्था यही छ । यस कारण पनि हामीले लघुवित्त कम्पनीको पूँजी ४ गुणाले नभई २ देखि ३ गुणाले अनि २ वर्षको ठाउँमा ३ वर्षदेखि माथिको समयावधि तोकिनु पर्छ भन्दै आएका छौं । यस्तो अवस्था नबन्ने हो भने भनाईमा ४ गुणा भए पनि त्यो भन्दा धेरै पूँजी बढाउनु पर्ने अवस्थालाई सहज रुपमा टार्न सक्ने अवस्था हुन्न । यसले गर्दा मिले पनि नमिले पनि जबरजस्ती मर्जरमा जानुको कुनै विकल्प हुँदैन । 

पछिल्लो समय माइक्रोफाइनान्समा लगानीकर्ताको ओइरो लागिरहेको छ, तर ती सबै माइक्रोफाइनान्सको वित्तीय अवस्था अनि प्रतिफल त त्यति राम्रो देखिन्न । लगानीकर्ताका लागि यो त खतरा हुन सक्छ नि हैन ?

अहिले हेर्दा माइक्रोफाइनान्सको प्रतिफल केही बढी भएकाले नै लगानीकर्ताको आकर्षण माइक्रोफाइनान्समा बढेको हो जस्तो मलाई लाग्छ । सानो संस्था भएकै कारणले अहिले यस्ता कम्पनीको नाफा पनि बढि देखिएको छ भने भोलिका दिनमा पूँजी वृद्धि गर्ने क्रममा धेरै मात्रामा बोनस शेयर र हकप्रद शेयर जारी हुन्छ भन्ने आशाले पनि लगानीकर्ता अहिलेदेखि नै झुम्मिन थालेका हुन् । कष्ट अफ फण्ड र व्याजदरमा देखिएको फराकिलो अन्तर नै यसको प्रमुख कारण हो । तर भोलि गएर व्याजदरमा कुनै कारणले नियन्त्रण हुने अवस्था आयो भने पुँजी वृद्धिका क्रममा सबै माइक्रोफाइनान्सको नाफा अकल्पनिय रुपमा ओरालो लाग्न सक्छ । त्यो बेला चैं अहिले माइक्रोफाइनान्समा आकर्षित भएका लगानीकर्ता प्रभावित हुन सक्छन् ।

.................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।