नेपाल स्टक एक्सचेन्जको लाईभ फ्लोरसिट नै राताम्मे भईरहेको बेला यसले मुर्ख कुरा गर्यो भन्ने भान धेरैमा पर्नसक्छ । अब यसले धेरै सोझा साझा लगानीकर्तालाई डुबाउने भो भन्दै बदनाम गर्न खोज्नेहरु सल्बलाउन थालिहाल्ने छन् किनभने अहिले शेयर बजार अरु घटोस् भनेर धुप हालेर बस्ने र बढोस भनेर कामना गर्ने जमातको कुनै कमी छैन । कसैले धुप हाल्दा पनि बजार पहिले जस्तो ११७५ बाट २९२ मा झरेजस्तै झर्दैन र एकाएक उकालो लागेर आकाशमा पनि पुग्दैन । तर यी दुबै खाले अतिबादीहरुको चंगुलबाट मुक्त भएर यो सामाग्री तयार पारिएको छ । बजार घटाउनु, बढाउनुसँग यस लेखाईको कुनै साईनो छैन ।
यदि तपाइँको बैंक खातामा पैसा छ भने तयार हुनुहोस्, सुरक्षित लगानी गर्ने समय यही हो । यसका निश्चित मान्यताहरु चाँही तपाइँले पालना गर्नेपर्छ ।
१. तपाइँले कम्पनीहरुले प्रकाशित गरेका चौथो त्रैमासिक बित्तीय बिबरणहरुको राम्ररी अध्ययन गर्नुभयो ? छैन भने पहिले त्यो राम्रोसँग अध्ययन गर्नुहोस् । अघिल्लो आर्थिक बर्ष र गत आर्थिक बर्षको बिबरणहरुको तुलनात्मक अध्ययन गर्नुहोस् ।
२. तुलनात्मक अध्ययनबाट के पाउनुभयो ?
कम्पनीको चुक्ता पूँजी र ब्यापार अघिल्लो बर्ष भन्दा बढेको छ ?
खुद नाफा अघिल्लो बर्ष भन्दा बढेको छ ?
जगेडा कोष चुक्ता पूँजीकै हाराहारी वा उल्लेख्य छ ?
प्रति शेयर आम्दानी अघिल्लो बर्ष भन्दा बढेको छ ?
निस्क्रिय कर्जा अघिल्लो बर्ष भन्दा घटेर ५ प्रतिशत मुनि र त्यो भन्दा पनि अति न्युन छ ?
कम्पनीले अघिल्लो आर्थिक बर्षमा के कति बोनस शेयर दियो, गत बर्ष त्यो भन्दा बढायो ? यो बर्ष अरु बढाउला ?
प्रति शेयर नेटवर्थ ११० भन्दा माथि छ ?
ईक्विटीमा प्रतिफलको मात्रा बढेको छ ?
मूल्य आम्दानी अनुपात अर्थात आजको शेयर मूल्यलाई प्रति शेयर आम्दानीले भाग गर्दा ३० गुणा भन्दा कम छ ?
कम्पनीका संचालकहरु ईमानदार र प्रतिष्ठित छन् ? संस्थागत सुशासन राम्रो छ ?
हकप्रद भन्दा बोनस शेयर धेरै प्रतिशत दिने घोषणा गरेको छ ?
अरुसँग मर्ज वा एक्विजिशनमा गएर लामो समयसम्म शेयर कारोबार बन्धक बन्ने अबस्था छैन ?
३. यदि माथिको अबस्था पाउनुभयो भने त्यस्तो कम्पनीको शेयर तपाइँले घटेको मूल्यमा ढुक्क भएर उठाए हुन्छ । बजार घट्दै जाँदा त्यस्तो राम्रो कम्पनीको शेयर मूल्य जति घट्दै जान्छ, त्यति धेरै किन्दै जानुहोस् । तर एकैचोटी सबै पैसा लगानी गरेर शेयर नकिन्नुहोस् । तपाइँसँग १०० कित्ता शेयर किन्ने क्षमता छ भने पहिले १० कित्ताबाट सुरु गर्नुहोस्, घट्दो मूल्यमा किन्दै संख्या बढाउनुहोस् ।
४. बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, बिमा, लघुवित्त, जलबिद्युत र सेवा क्षेत्र सबैतिर राम्रा र नराम्रा कम्पनी छन् । राम्रा भए पनि मूल्य उचालिएर माथि पुर्याईएका कम्पनीहरु पनि छन्, त्यसबाट पनि सावधान हुनु पर्छ । सबै कम्पनी राम्रा हुँदैनन्, राम्राहरु सस्ता नहुन सक्छन् तर राम्रा भन्दैमा मुल्य उचालिएका कम्पनीमा लगानी गर्दा फाईदा नहुनसक्छ । मध्यम बिन्दुमै आफ्नो स्थान खोज्नु चाँही सुरक्षित हुनसक्छ ।
५. राम्रा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, लघुवित्त र बिमाहरुको अलग अलग पोर्टफोलियो बनाउनुहोस् । हरेकको शेयर संख्या सन्तुलन मिलाएर उठाउनुहोस् । यसो गर्दा एउटा कम्पनीले राम्रोे प्रतिफल दिएन, मूल्य बढेन भने पनि अर्कोले गर्ने फाईदाले तपाइँ सुरक्षित हुनुहुनेछ ।
६. अब कम्पनीहरुले धमाधम लाभांश, धेरैले त आकर्षक बोनस शेयर प्रस्ताव गर्ने र साधारणसभा डाकी त्यो तपाइँलाई बाड्ने प्रस्ताव गर्न थाल्नेछन् । बजार घटेको बेला सस्तोमा राम्रो कम्पनीको शेयर उठाउनु भयो भने तपाइँको दुबै हातमा लड्डु हुनेछ । एकातिर कम्पनीले दिने आकर्षक बोनस शेयर, हकप्रद पाईने अर्कोतिर सस्तोमा किनेको शेयरको मूल्य बढ्ने । तर याद राख्नुहोस् धेरै हकप्रद जारी गर्ने कम्पनीको शेयर उठाउनुभयो भने हकप्रद किन्ने पैसा खोज्दैमा सास्ती भोग्नुपर्ला । हकप्रदको हल्लामा बढी केन्द्रित भएर हैन, कम्पनीको समग्र अबस्था र बोनस शेयर बढी दिनेमै जोड गर्नुहोस् । राम्रो कम्पनी छ र प्रतिशेयर आम्दानी यसबर्ष पनि बढाउनसक्ने अबस्था आँकलन गर्नुहुन्छ भने हकप्रदले पनि फाईदै गर्ला ।
७. नेप्से कति अंकले घट्यो भन्ने कुरा तपाइँको ठूलो चिन्ताको बिषय बन्नुहुन्न किनभने नेप्से धेरै घट्दा पनि तपाइँले किनेको राम्रो कम्पनीको शेयरमुल्य धेरै नघटेको हुनसक्छ । जब आफ्नो लगानी सुरीक्षत छ भने खराब कम्पनीहरुमा लगानी गरेर धेरै गुमाएकाहरुको लहरमा उभिएर किन रुवाबासी गर्नुपर्यो ? बजार घट्ने क्रम सुरु हुँदा नराम्रो कम्पनीकै मूल्य धेरै घट्न थाल्छ, राम्रा कम्पनीको मूल्य धेरै घट्दैन । यो कुरा तुलना गरेर हेर्नुस, आफै थाहा पाउनुहुन्छ ।
८. अरुको हल्लामा शेयर किनबेच नगर्नुहोस्, आफ्नो निर्णय गर्नुहोस् । फलानो समूहले शेयर बेच्यो रे, फलानोले यसो गर्दै छ रे, यस्ता हल्लाको केही अर्थ छैन । ठूला लगानीकर्ताले उसो गरे रे भन्ने पनि सबै बकबास हुन् । हिजोका ठूला लगानीकर्ता भन्नेहरु आज कोही गुमनाम भईसके, कोही नेप्से १५०० बिन्दुमा हुँदा नै शेयर बेचेर बसिसकेका थिए, केहीले अहिले बेच्दै होलान् । उनीहरुको हाउगुजीबाट डराउनुपर्ने आबश्यकता छैन । सामुहिक लगानी कोषहरुले अहिले शेयर बेचे भने फेरि किन्छन् । कसैलाई लागु औषधको मुद्धा लाग्यो र शेयर बेचे वा बेच्न पाएनन् भने पनि त्यो सामान्य लगानीकर्तालाई त्रास बढाउने कुरा हैन । जसले गलत कर्म गर्छ, यसैले सजाय भोग्छ ।
९. सामाजिक संजालबाट चलाईने गलत हल्ला, अफवाहबाट पनि बच्नुहोस् । केही समूहहरु आफुहरुले ठूलो संख्यामा उठाएको शेयरको मूल्य बढाउन वा बेच्ने वातावरण तयार गर्न यस्ता सामाजिक संजालबाट हल्ला चलाउने, कतिपय शेयर दलालकै कार्यालयमा पुगेर कानेखुशी गर्ने र संचार माध्यमहरुकै उपयोग गरेर लेख्न लगाउने गर्छन । शंका लाग्यो भने आधिकारिक निकायबाट पुष्टि गराएर मात्र हल्लाबारे बुझ्नुहोस्, नभए हल्ला गर्नेहरुको कुरा एक कानले सुनेर अर्को कानले उडाईदिए हुन्छ ।
[‘बजारबाट भाग्ने हैन, जम्ने सुनौलो समय यहि नै हो’ - छोटेलाल रौनियार, लगानीकर्ता एवं विष्लेषक]
१०. शेयर किन्दा तपाइँको माग मार्केट डेब्थमा देखाउने काम नगर्नुहोस् । माग बढेको देखिए शेयर बेच्न खोज्नेहरुले मूल्य बढाईदिन्छन् र तपाइँले किन्न खोजेको शेयर महंगो पर्छ । शेयर बजारलाई माग अर आपुर्तिको खेलको रुपमा पनि बुझ्न सकिन्छ । माग बढ्दा मुल्य पनि बढ्नसक्छ, आुपर्ति बढ्दा मूल्य पनि घट्नसक्छ । मार्केट डेब्थमा सस्तोमा धेरै शेयर किन्न बसेको देखाएर महंगोमा थोरै शेयर किनेर (म्याचिड. गरी ) बिक्री गर्ने शेयरको मुल्य बढाउने र सस्तोमा कित्ता बेच्न बसेको देखाएर मूल्य घटाउने रणनीतिहरु पनि कतिपयले अख्तियार गरेको हुनसक्छ । बजारमा घटाएर बेच्न राखिएका शेयरहरु किन्नुहोस् । हौसिएर शेयर किन्नुपर्ने कुनै कारण छैन, सस्तैमा पाईन्छ ।
११. पहिले सस्तोमा किनेका राम्रा कम्पनीको शेयर अहिले बजार घटेको बेलामा बेच्दै नबेच्नुहोस् । कुनै प्रकारको लाभांश दिन नसक्ने, संकटग्रस्त अबस्थामा रहेका, सुध्रिन समय लाग्ने, पूँजी बृद्धिको सिमा पार गर्न हकप्रदको भारी मात्रै बोकाउने, आफै टिक्न नसकेर अरुसँग गाभिन र बेचिने मौका कुरिरहेका, कम्पनीको बित्तीय अबस्था ठीकै भए पनि संचालकहरु खराब भएका, कमाई घटाउँदै गएका कम्पनीहरुको शेयर बेचिहाल्नुस र राम्रा कम्पनीको शेयरमा आफ्नो लगानी सारिहाल्नुस् । आज बजार घटेको बेलामा त्यस्ता कम्पनीको शेयर बेचेर राम्रा कम्पनीको शेयरमा लगानी सार्दा भोलि बजार बढ्दा तपाइँले कमाउने संभावना कयौं गुणा बढी हुन्छ ।
१२. आजको भोलि दोब्बर नाफा गर्छु भनेर हैन, कम्तिमा तीन बर्षका लागि मैले राम्रो कम्पनीको शेयर किन्दैछु भनेर सोच्नुहोस् । त्यसै अनुसार आफ्नो लगानी जुटाउनुहोस् । तपाइँ शेयर बजारको जुवाडे हैन, लगानीकर्ता हो । लगानीकर्ताले जहिले पनि नाफा र जोखिमको आँकलन गरेर लगानी गरेको हुन्छ । लामो समयका लागि लगानी गरेको भए पनि केही समयपछि बजार बढेर आफुले किनेको शेयरको मूल्य बढ्दा नाफा सुरक्षित गर्न शेयर बेच्न पनि तयार रहनुहोस्, त्यसो गर्नु भएन भने त्यसैमा अल्झिरहने न हो ।
१३. शेयर बजार कहिले बढ्छ, कहिले घट्छ तर सधंै बढिरहने र घटिरहने हुन्न । एकोहोरो ढंगले बढेको थियो, त्यसैगरी घटेको छ । यो घटाई पनि एउटा बिन्दुमा पुगेपछि रोकिन्छ र फेरि बजार बिस्तारै फर्किन्छ । बजार आफ्नो नियमले चल्छ, त्यो नियमलाई प्रभाव पार्ने बिभिन्न कुराहरु हुन्छन् । बजार घट्दा आत्तिने र बढ्दा मात्तिने दुबै कुरा हानिकारक हुन् । यसबाट तपाइँ चाँही मुक्त हुनुहोस् । केही लगानीकर्ताहरु बिमा र लघुवित्तहरुको शेयर उचालिएर किन्दा घाटा खाएर बेच्नु न राखिरहनु जस्तो अबस्थामा छन् । यो पाठ सबैले सिक्नु जरुरी छ । बिमा र लघुवित्त मात्रै हैन कुनै पनि कम्पनीको शेयर उचालिएर किन्दै नकिन्नुहोस् ।
१४. बजार धेरै घट्दा बैंकहरुबाट शेयर धितो कर्जा लिएकाहरुको सवालमा मार्जिक कल आउने संभावना बढेर गएको छ भन्ने चर्चा सुरु भएको छ । सबैभन्दा पहिले कर्जा ब्यवस्थापनमा ध्यान केन्द्रित गर्नुहोस् । आफुले ऋण लिएर किनेको शेयर नाफामा रहेको छ भने शेयर बेचेरर कर्जा तिरी तनाबबाट मुक्त हुन पनि सक्नुहुनेछ । त्यसो गर्न सक्ने अबस्था छैन भने धैर्यतापूर्वक विकल्पहरुको खोजी गर्नुहोस् तर आत्तिएर हतारको निर्णय गर्नबाट पछि हट्नुहोस् ।
१५. कालो धनको खोजीले धेरैलाई पिरोलेको हुनसक्छ तर तपाइँ अलिकत्ति पनि आत्तिनुपर्ने अबस्था छैन । तपाइँले बैध स्रोतबाट लगानी गर्नुभएको छ, आफ्नो पसिनाको कमाई लगानी गर्नुभएको छ भने तपाईँको पैसा खोस्न कोही पनि आउनसक्दैन । जो जसले कालो धन लगानी गरेका छन्, उनीहरुको चिन्ताको कुरा हो, त्यो चिन्ताको भारी बोक्ने जिम्मेवारी उनीहरुकै हो, तपाइँको हैन । नजाने गाउँको बाटै नसोध्नु ठीक । तर शेयर कारोबार गर्दा बैध रकम र सधै बैकिड. कारोबार मात्रै गर्नुहोस् ।
१६. बजारमा राम्रा कम्पनीको शेयर सस्तोमा जत्ति पनि पााईन्छ किनभने दुई महिना अघि शेयर किनेर राखेकाहरु पनि अहिले फाईदामै छन्, उनीहरु फाईदा सुरक्षित गर्न शेयर बेच्न आउँछन् । शेयर नपाईएला कि भनेर भाऊ बढाएर शेयर किन्ने काम गर्दै नगर्नुहोस् । दुई महिना यता उचालिएर शेयर किनेकाहरु अलि अफ्ठेरोमा परेका छन् । उनीहरुले पनि धैर्य गरे भने यसपालि आउने बोनस र हकप्रदले घाटा पुर्ति गरिदिनसक्छ । शेयर बजार घटेको त्रासमा बेचेर घाटा खाईसकेका वा बोनस शेयर नदिने थारो गाई महंगोमा किनेकाहरुको सवालमा केही भन्न सकिन्न । बेलैमा बुद्धि नपुर्याउँदा यस्तै हुन्छ ।
१७. राजनीति, अर्थतन्त्र र शेयर बजारको सम्बन्ध पनि हेर्नु त पर्छ तर सधै यसको सन्तुलन मिलेको हुन्छ भन्न सकिन्न । नेपालमा पनि त्यही भएको छ । तर राजनीति सुधारिदो, अर्थतन्त्र र शेयर बजार दुबै फैलदो क्रममा भएकाले सुरक्षित लगानी गर्नेहरुले आगामी दिनहरुमा धेरै प्रतिफल पाउनसक्ने संभावना छ ।
१८. धितोपत्र बजारमा धितोपत्र बोर्डले गर्दै गरेको ऐतिहासिक सुधार, शेयर बजारको आधुनिकीकरण, दिनदिनै थपिदै गएका ब्यक्तिगत, संस्थागत लगानीकर्ताको संख्या र कारोबार रकम, बाणिज्य बैंकहरुलाई शेयर दलाल लाईसेन्स दिएपछि बिस्तार हुने बजार, शेयर दलालहरु ७५ वटै जिल्लाहरुमा पुगेपछि ब्यापक हुने कारोबार, अनलाईन कारोबार प्रणाली जडानपछि बिदेशी र गैर आवासीय नेपालीहरु पनि नेपालको शेयर बजारमा आउनसक्ने संभावना, शेयर दलाल मार्फत नै मार्जिक ल्याण्डिड.को ब्यवस्था, लगानीकर्ता पहिचान कार्ड जारी भएपछि पर्ने त्यसको सकारात्मक प्रभाव, माथिल्लो तामाकोशी जस्ता ठूला कम्पनीहरु शेयर बजारमा आउने अबस्था, राजनीतिक कारणले अरु क्षेत्रमा तत्काल ठूलो लगानी जान नसक्ने अबस्था, केही क्षेत्र बाहेक घरजग्गा कारोबारको घट्दो अबस्था, बैंक ब्याज दर लगायतका कुराहरु हेर्दा शेयर बजार अब खुचिन्न । आगामी दिनमा अरु ब्यापक भएर जाने आधार धेरै छ । जसले आज सुरक्षित लगानी गरेको हुन्छ, दुई बर्षपछि उसको अबस्था बेग्लै हुनेछ ।
१५. शेयर बजार उचालिएर माथि पुगेको बेला नयाँ लगानीकर्ताको प्रबेश जोखिमपूर्ण हुन्छ नै । तर जब बजार हदैसम्म घटेर तल आएको हुन्छ यस्तो बेलामा नयाँ लगानीकर्ताहरु प्रबेश गर्नु सुरक्षित हुन्छ । अहिले पनि नयाँ लगानीकर्ताको लागि पुरै सुरक्षित त छैन तर शेयरमूल्य तल आएका, लाभांश दिनसक्ने खालका, मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका, केही तोकिएका कम्पनीहरुको हकमा साना लगानीकर्ताको प्रबेश सुरक्षित छ । सामुहिक लगानी कोषको ईकाई दोस्रो बजारबाट किन्दा पनि सुरक्षित नै छ ।
कहाँबाट सुरु गर्ने ?
धेरै लगानीकर्ताको सोचाई के पाईन्छ भने नेप्से अझै घट्ला कि ? यसको अनुमान लगाउँन धेरै गाह्रो छ । तर बजार जत्ति घट्दै जान्छ किन्दै जाने हो । आफुसँग भएको सबै रकम एकैपटक खर्च गरेर शेयर किन्ने हैन कि बिस्तारै खरिदको मात्रा बढाउँदै जाने हो । तपाइँले आफुसँग भएको रकमबाट घट्दो बजारमा एकैचोटी शेयर किन्नुभयो भने बजारमा परिवर्तन हुने लाभबाट कम फाईदा लिनसक्नुहुन्छ । बजार घटे अनुसार आफुँग भएको रकम हिसाब गरी क्रमबद्ध रुपमा किन्दै जानुभयो भने तपाइँले बजार घटेको तल्लो बिन्दुसम्म पनि शेयर किन्ने अबसर पाईरहनु भएको हुन्छ ।
बजार घट्ने तल्लो बिन्दु कुन होला त ? यो पनि कसैले अनुमान लगाउँन सक्ने र प्राबिधिक वा आधारभुत बिश्लेषणको आधारमा भन्न सकिने कुरा हैन । त्यसैले बजार अरु घट्ला भनेर शेयर नकिनी बसेर घट्दो बजारबाट लाभ लिन ढिलाई नगर्नुहोस्, आजैबाट सुरु गर्नुहोस् । नत्र बजार घटेर एउटा बिन्दुबाट फेरि बढ्न सुरु गर्दा तपाई अवसरबाट बंचित हुनुहुनेछ । धेरै जसो लगानीकर्ताहरु शेयर बेचेर बाहिर त निस्कन्छन तर बजार घटेर एउटा बिन्दुमा पुगी फेरि माथि चढ्न लाग्दासम्म शेयर नकिनी बसेर बजारबाट फाईदा लिन चुक्छन् ।
अरु डराएको बेला तपाइँमा हिम्मत चाहिन्छ
जब बजारमा अब शेयर बजार घट्छ, अरु घट्छ, खत्तमै हुन्छ भन्ने डर हुन्छ र धेरै मानिसहरु शेयर बेच्नतिर लागिरहेका हुन्छन्, यसमा माग र आपुर्तिको नियमले बजार घटाउँछ । गएको भुकम्पको बेला धेरै मानिसहरुमा डर थियो, यही डरका बीचमा केही लगानीकर्ताहरुले आधा मूल्य कम हुँदा पनि शेयर बेचे तर जब मानिसहरुमा डर हराउँदै गयो र शेयर बजार माथि गयो, डराएर शेयर बेच्नेहरु हेरेको हेर्यै भए, फाईदा लिनेले ५० प्रतिशतसम्म फाईदा लिए ।
बजारमा माग कम र आपुर्ति बढी भयो भने मूल्य स्वतः तल आउँछ । अहिले हामी आफैले मार्केट डेब्थ हेर्न पाईरहेको अबस्थामा त्यो त सबैले अनुभुत गरेकै हुनुपर्छ । यस्तो बेलामा धेरै मूल्य घटेको हुन्छ, राम्रो कम्पनीको शेयर छानी छानी उठाउने अबसर हिम्मतवाला लगानीकर्तालाई आउँछ । एकाथरी लगानीकर्ताहरु आत्तिएर शेयर बेचिरहेका हुन्छन्, जत्ति मूल्यमा किन्न बसेका छन्, त्यति मूल्यमा बेचेर बाहिर निस्कन उनीहरुलाई हतारो हुन्छ तर हिम्मतवाला अर्थात जोखिम र फाईदाको आँकलन गर्ने लगानीकर्ताहरु यस्तो बेलामा मौका हेरेर बसेका हुन्छन् । अब आफुले किन्न चाहेको शेयरको मूल्य तल आउँछ, अवसर छोप्नेहरुले आफ्नो कब्जामा राम्रा शेयर पारिहाल्छन् । अनि बजार बढ्दा बेचेर बाहिर निस्कन्छन् र फेरि बजार घट्ने मौका हेरेर बस्छन् ।
बजार बढेर कुन बिन्दुमा पुग्छ र झरेर कुन बिन्दुमा अडिन्छ अर्थात उच्चतम र न्युनतम बिन्दु कुन होला ? ठ्याक्कै भन्न सकिन्न । अप्रत्याशित घटना, आपत्काल वा अर्थतन्त्रमा ठूला परिवर्तन भएमा भने अनुमान मिल्नसक्छन् । बजार क्रयासै हुने अबस्थामा घाटा नै खाएर पनि जोखिम ब्यवस्थापन गर्ने र घाटा कम गर्ने उपाय अपनाउँनु बुद्धिमानी हुन्छ । सामान्य अबस्थामा बिज्ञहरुको अनुमान खेर गएको कयौं दृष्तान्तहरु छन् ।
कस्ता शेयर किन्ने ?
घटेको बजारमा शेयर किन्दा पनि निकै सावधानी अपनाउनुपर्छ । यस्तो बेला खराब कम्पनीहरुको शेयर मुल्य धेरै घटेको हुन्छ र राम्रा कम्पनीहरुको शेयर मूल्य स्थिर वा कम घटेको हुन्छ । धेरै मूल्य घटेको छ भन्दैमा खराब कम्पनीहरुको शेयर उठाउनुभयो भने पनि तपाईले बजारबाट धेरै लाभ लिनसक्नु हुन्न ।
तपाइँलाई राम्रो लाग्ने कुनै कम्पनी छान्नुहोस् र त्यसका तीन आर्थिक बर्षका चौथो त्रैमासिक बित्तीय बिबरणहरु र लाभांश दरको तुलना गर्नुहोस् । जुन कम्पनीको ब्यापार बढेको छ, खुद नाफा बढेको छ, चुक्ता पूँजीकै हाराहारीमा वा बढी जगेडा कोष छ, निस्क्रिय कर्जा घटेको छ, पूँजी पनि बढेको छ, लाभांश दर बढेको छ र यस बर्ष पनि बढेकै पूँजी अनुसार लाभांश दर बढाउने प्रशस्त्र संभावना छ, भन्ने यकिन गर्नुभयो ? हो यही कम्पनीको शेयर किन्नुहोस् । तर यस्ता कम्पनीको शेयर मूल्य उचालिएर आकाशमा पुगेको छ भने रोकिनुहोस्, त्यो शेयरबाट तपाइँलाई धेरै फाईदा नहुनसक्छ ।
पूँजी आधार बलियो र ब्यापार र खुद नाफा बढाउँदै लगेकोे कम्पनी छान्नुभयो । तर शेयर बजार अरु तल गयो भने पनि नआत्तिनुस किनभने आउने साधारणसभाामा तपाइँलाई त्यस कम्पनीले दिने लाभांशले नै घाटा पुर्ति गरिदिनसक्छ । याद गर्नुहोस्, कम्पनीहरुको बिश्लेषण गर्दा मूल्य आम्दानी अनुपात कम, प्रति शेयर नेटवर्थ धेरै, पूँजी कोष १० भन्दा माथि, प्रति शेयर सम्पतिको मूल्य धेरै भएको होस् । यसो भन्दैमा एक दुई करोड चुक्ता पूँजी भएका कम्पनीको शेयर किन्नुभयो पनि तपाइँलाई फाईदा नहुनसक्छ किनभने राष्ट्र बैंक र अरु नियमनकारी निकायको नीति र कारबाहीले यस्ता कम्पनीहरु अनिवार्य मर्जमा जाँदा तपाइँको पैसा महिनौ दिनसम्म बन्धक बन्नेछ र बदलिदो बजारबाट लाभ लिनबाट टाढै रहनुपर्छ ।
बिगतमा ध्वस्त भएर क्रमशः सुधारिदै गरेका र सुधारको महत्वपूर्ण बिन्दुमा आईपुगेका कम्पनीहरुको शेयर मूल्य यदि बजारको अबस्था भन्दा कम छ अर्थात अन्डर भ्यालुड छ भने पनि यस्ता कम्पनीहरुमा लगानी गर्नु उत्तम विकल्प हुनसक्छ । यसमा तपाइँको बिश्लेषण गर्ने र जोखिम बहन गर्ने क्षमता कति छ भन्ने कुरामा भर पर्छ ।
जसले धेरै जोखिम बहन क्षमता राख्छ, यसले नाफा पनि कमाउँछ र जसले जोखिम बहन गर्नसक्दैन, उसले नाफा कमाउँन सक्दैन अर्थात नो रिक्स, नो गेन । यसो भन्दैमा अनाबश्यक जोखिम बोक्नु हुँदैन । खराब कम्पनीहरुको शेयर किन्नुभयो भने त्यस्ता शेयरहरुलाई धितो राखेर कर्जा लिनसक्नुहुन्छ र चाहिएको बेलामा बेचेर बजारबाट बाहिरिन पनि सक्नुहुन्न ।
शेयर बजारमा हल्ला र अफवाहले ठूलो प्रभाव पार्ने गरेको छ । कम्पनीहरुको बारेमा चल्ने हल्ला र अफवाहमा सूचनाको मात्रा कति छ भनेर जाँच्नुहोस्, हल्लामा साच्चै सूचना र यथार्थ छ कि छैन भनेर यकिन गर्नुहोस् । सूचना र यथार्थ रहेछ भने पनि त्यसैका आधारमा उचालिएर शेयर नकिनिहाल्नुस किनभने तपाइँकहाँ त्यो सूचना आउनु अगावै पहुँचवाला र ठूला लगानीकर्ताले त्यो थाहा पाएर शेयरको भाऊ आकाशमा पुर्याईसकेका हुन्छन् जस्तो हालै नेपाल लाईफ र डिप्रोक्सको एफपीओ र हकप्रदको हल्ला चलेपछि शेयरको मूल्य उचालियो र पहिल्यै सूचना थाहा पाएर सस्तामा शेयर उठाउनेहरुले सूचना सार्वजनिक हुनु आगावै वा भएपछि बेचेर नाफा सुरक्षित गरे ।
धेरै लोभ नगर्नुहोस्
तपाइँले दीर्घकालीन लगानीको हिसावले शेयर किन्ने हो । आजको भोलि नै दोब्बर पैसा बनाएर धनी बन्छु भन्ने सोचाई कहिल्यै नबनाउनुहोस् । दीर्घकालीन लगानी गरे पनि आफुले किनेको शेयरको मूल्य १० देखि २० प्रतिशतसम्म बढ्यो र नाफा भयो भने अरु बढ्ला कि भनेर बढी लोभ नगर्नुहोस् बेचेर नाफा सुरक्षित गर्न पनि तयार हुनुहोस् । याद गर्नुपर्ने कुरा यो हो कि शेयर बजार सधै बढिरहदैन र सधै घटि पनि रहँदैन । यदि तपाइँले बढेको मूल्यमा शेयर बेच्नु भएन भने त्यसैमा झुुण्डिरहने न हो । शेयर किन्न भन्दा बेच्नु गाह्रो कुरा हो भन्ने सधै हेक्का राख्नु पर्छ ।
शेयर कहिले बेच्ने ?
शेयर कहिले बेच्ने ? यसमा सजिलो तरिका अपनाउन सकिन्छ । तपाइँसँग भएका शेयरहरुलाई चार भागमा बाड्नुहोस् । पहिलो भागमा सकेसम्म खराब कम्पनीहरु भएको राम्रो हो । दोस्रो भागमा अलि मध्यमस्तरका कम्पनीहरुलाई राख्नुहोस् । तेस्रो भागमा राम्रै कम्पनीहरुलाई राख्नुहोस् । चौथो भागमा सबैभन्दा राम्रा कम्पनीहरुलाई राख्नुहोस् जसको शेयर तपाइँले जीवनमा शायदै बेच्छु होला भन्ने सोच्नु भएको छ ।
[कसरी लगानी सुरक्षित गर्ने ? टिम जि र माइकल जिका १० सुत्र]
शेयर मूल्य २५ प्रतिशतसम्मले बढेमा पहिलो भागमा परेका कम्पनीहरुको शेयर बेच्नुहोस् र नाफा सुरक्षित गर्नुहोस् । शेयर मूल्य ५० प्रतिशतसम्मले बढेमा दोस्रो भागका शेयर बेच्नुहोस् । शेयर मूल्य ७५ प्रतिशतसम्मले बढेमा तेस्रो भागका शेयरहरु बेच्नुहोस् । बजार शत प्रतिशतले बढ्यो अब चौथो भागका शेयरहरु नबेचे पनि तपाईलाई केही फरक पर्दैन किनभने तीन भाग शेयर बेचेरै तपाइँ धनी बनिसकेको अबस्था हुनेछ ।
समग्र बस्तुस्थितिको आँकलन गरी घट्दो बजारबाट पनि लगानीकर्ताले फाईदा लिन जान्नुपर्छ । बजार ओरालो लाग्दा झोक्राएर बस्ने र उकालो लाग्दा बुर्कर्सी मारेर उफ्रिने नेपाली लगानीकर्ताहरुको चरित्र पटक्कै अनुकरणयोग्य छैन । कमसे कम तपाइँले चाँही परिपक्व र जिम्मेबार लगानीकर्ताको परिचय दिनुहोस् ।
- देशकोखबर डटकमबाट साभार
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।