कम्पनीको साधारण सभामा बोल्ने धन्दा गर्ने हो ? मालामाल भईन्छ

Sep 08, 2016 Merolagani

- परमेश्वर अधिकारी
पब्लिक कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विबरण प्रकाशित गरेपछि अब लाभांस घोषणा र साधारण सभाको मिति तय गर्ने क्रम तीब्र भएको छ । यससंगै त्यससंग सम्बन्धित एउटा धन्दा अब फस्टाउनेवाला छ । त्यो हो, साधारणसभामा बोल्ने र एकै दिनमा हजारौं रुपैंया कमाउने धन्दा । यस्ता धन्दा चलाउनेहरुको कमाई थाहा पाउनुभयो भने तपाइँ चकित हुनुहुने छ । 

कम्पनीले साधारणसभा बसाली लेखा परीक्षण पारित गराउनु, नयाँ लेखा परीक्षक नियुक्त गर्नु, लाभांस पारित गर्नु तथा कम्पनीका अन्य महत्वपूर्ण विषयमा छलफल गराउनु सामान्य कुरा हो । साधारणसभामा प्रस्तुत भएका विषयबस्तु बारे शेयरधनीले निर्धक्क भएर समर्थन, बिरोध र आलोचना गर्न पाउनु पनि उनीहरुको नैसर्गिक अधिकार हो । तर, यसको आबरणमा कम्पनीका साधारणसभामा बोल्ने पेशेवरहरुको धन्दा भने सर्वसाधारण लगानीकर्तालाई आश्चर्यचकित पार्ने खालको हुन्छ ।

कसरी चिन्ने धन्दावाल वक्ता ?

दुई चार वटा कम्पनीको साधारण सभामा तपाई पुग्ने सोचमा हुनुहुन्छ भने यस्ता धन्दामा सक्रिय हुनेहरु कुन् कुन् कम्पनीको साधारण सभामा पुगे र कसरी बोले भनेर सजिलै पत्ता लगाउन सक्नु हुनेछ ।
तपाई आफ्नो कम्पनीले गर्ने साधारणसभामा पुगेर एउटा कुरा याद हुनुपर्छ, पहिलो साधारणसभामा बक्ताको रुपमा देखिएका ब्यक्ति दोस्रो कम्पनीको साधारणसभामा पनि त्यसैगरी बक्ताको भुमिका निभाईरहेका हुन्छन् । ती ब्यक्ति वास्तविक रुपमा लगानीकर्ता नभई कम्पनी संचालक वा ब्यवस्थापनको दलाल हुनसक्ने बलियो संभावना हुन्छ । फरक फरक कम्पनीहरुको साधारणसभामा बक्ता बनेर उभिने ती ब्यक्ति धन्दावाल, पेशेवर वक्ता वा भत्ता पचाउनेवाला हुनसक्छन् ।

कसरी बोल्छन् ?

उनीहरु साधारणसभामा कम्पनी व्यवस्थापनको बिरोध नहुने गरी बोल्छन् । एकाध सामान्य विषयमा असहमति जनाए जस्तो पनि गर्छन किनभने उनीहरु आफु सिधै संचालकको मतियार बनेर बोलेको कुरा अरुले थाहा नपाउँन भनी सामान्य हेक्का राख्छन् । तर पछि कुरा फुस्कदै गएपछि प्रष्ट भईहाल्छ ।  कसै कसैले त संचालक समितिले ल्याएका प्रस्तावहरु पारित गराउने नियतले कथा काली हाली, हँसाउने बुंदा राखेर  लामो भाषण पनि गर्ने गर्छन् । एकै दिन धेरै कम्पनीको साधारण सभा परेको रहेन छ भने उनीहरु केही समय बस्छन्, अरुको पनि कुरा सुन्छन्, एकैदिन धेरै कम्पनीको साधारणसभा परेको रहेछ भने कहाँ फुर्सद हुनु र ? बोल्यो टाप कस्यो । उनीहरुलाई समयको अति चापाचाप हुन्छ किनभने सबैको साधारणसभामा बोल्न पुग्नै पर्छ ।

उनीहरु साधारणसभाको निर्धारित वक्ता हुन् किनभने उनीहरुले बोल्ने कुरा एक साता अघि नै तय भईसकेको हुन्छ । उनीहरुलाई केबल बोल्नु छ, आफुले बोलेपछि काम सकियो, भत्ता पाक्यो । उनीहरुलाई न त सभा अवधिभर बस्ने फुर्सद नै हुन्छ, न त अरुको कुरा सुन्ने नै धैर्यता । पहिले नै तयार पारिएको विषयवस्तुलाई मिठास थपेर बोल्ने कला भने  तारिफ गर्न लायक नै हुन्छ । उनीहरुले आफ्नो भाषणमा कसले के प्रतिक्रिया जनाइरहेको छ भन्नेमा चासो पनि दिदैनन् किनभने धाराप्रवाह भाषण गर्दा उनीहरु सयौं पटक लगानीकर्ताहरुको हुटिड. खाएर अभ्यस्त भईसकेका हुन्छन् । नूनको सोझो गरेर व्यवस्थापनलाई चोखो बनाउन हरपल प्रयास गरेर त्यसबाट आम्दानी गर्नु नै मानौ उनीहरुको मुख्य धर्म हो । वर्षौंदेखि यस्तै धन्दा गर्दै आएका र पछिल्ला दिनमा त्यही संस्कारमा रमेका  यस्ता व्यक्तिहरु भाषण कला प्रस्तुत गर्न तछाड मछाड गर्छन् । लामो समयसम्म एउटै विषयलाई यताबाट उता अनि उताबाट यता घुमाउन खप्पिस हुन्छन् । सुरुमा कलात्मक ढंगले बोले पनि उनीहरुको भाषण केहीबेर पछि पट्यारलाग्दो हुन्छ र सञ्चालक र व्यवस्थापकहरुको स्तुतिगानमा केन्द्रित हुन्छ ।

कतिपय बक्ताहरु एकोहोरो धारा प्रबाह ब्यवस्थापनको पक्षमा बोल्दा मन्च तल बसेका लगानीकर्ताहरुलाई नै खपिनसक्नु हुन्छ । लगानीकर्ताहरुले भत्ता पच्यो, भाषण छोट्याउँ भन्ने आबाज थाम्न नसक्ने गरी उठाएपछि मात्र उनीहरु भाषण सकेर कुलेलम ठोक्छन् ।

यस्ता वक्ताको शेयर कति हुन्छ ?

पब्लिक कम्पनीको साधारणसभामा बोल्नका लागि शेयरधनी हुनु पर्ने व्यवस्था अनिवार्य छ । यसका लागि कम्पनीको पक्षमा साधारण सभामा वकालत गर्ने प्रायः दलालहरुले सबैजसो सुचिकृत कम्पनीहरुको १० कित्ताका दरले शेयर खरिद गर्ने गरेका हुन्छन् । उनीहरु सबै कम्पनीको साधारण सभामा बोल्ने भएकाले सबै कम्पनीको शेयर ठूलो परिमाणमा किनेर लगानी गर्ने लगानीकर्ता भए यो दलाली धन्दामा आउनु पर्ने बाध्यतामा उनीहरु आउनुपर्ने नै थिएन । यस आधारमा उनीहरुले ३ सय कम्पनीको १० कित्ताका दरले ३ हजार कित्ता शेयरमा एक पटक केही रकम लगानी गरेका हुन्छन् वा त्यही शेयरलाई यताबाट उता गरेर घुमाउँदै शेयरधनीको परिचय बनाउँछन् ।

कमाई थाहा पाएर बेहोस् हुनुहोला

अहिले नेप्सेमा सुचिकृत कम्पनीको संख्या २ सय ५० भन्दा बढी छ । कम्पनीको साधारण सभा र साधारण सभा पहिलेको छलफल तथा तयारी कार्यक्रममा सहभागी भएर सभामा कम्पनीका संचालकको पक्षमा बोलिदिए वापत त्यस्ता दलालहरुले कम्पनीको अवस्था हेरी प्रति कम्पनी दुई देखि १० हजार रुपैंयासम्म असुल गर्ने गर्छन ।


औसतमा ७ हजार रुपैंयाको दरले २ सय ५० वटा कम्पनीको सभामा बोले वापत यस्ता दलालहरुले कमाउने  रकम प्रति ब्यक्ति बार्षिक १७ लाख रुपैंयाभन्दा माथि हुन आउँछ । पुर्वाभ्यासको आधारमा केहीले यो भन्दा धेरै रकम पाउँछन भने केहीले थोरै । तर उनीहरुको यो कमाई सभामा उपस्थित सर्वसाधारणलाई भुल्याए वापतको अनि लगानी नगरी आएको कमाई हो । अब वर्ष दिनमा सधैंजस्तो व्यस्त अनि बिना लगानी गतिलो आम्दानी हुने भए पछि भइएन त मालामाल ? मुलुकका शीर्ष व्यक्तित्वहरुको भन्दा धेरै कमाई वर्ष दिनमा नै हुने भए पछि यस्ता दलालहरुलाई साधारण लगानीकर्ताको के चिन्ता ? न उमेरको हदबन्दी, न केही होला भन्ने सवाल । 

कतिपय कम्पनीहरुको साधारणसभामा शेयरधनीका लागि उपहार र मीठो खानाको बन्दोबस्ती पनि गरिएको हुन्छ । त्यसको लाभ पनि यस्ता दलाल बक्ताहरुले नउठाउने कुरै भएन । कुनै कुनै कम्पनीले लेखापरीक्षण प्रतिबेदनमा सुको कमाई नभएको, करोडौ घाटामा रहेको देखाएका हुन्छन्, सर्वसाधारण शेयरधनीले केही लाभांश पाउँदैनन् तर यस्ता दलाल बक्ता र संचालकहरु सधै मालामाल हुन्छन्, कम्पनी नाफा बाठ घाटामा होस् के मतलव, भत्ता त आईहाल्छ । 

वास्तविक लगानीकर्ताले बोल्नै पाउँदैनन्

धेरै पब्लिक कम्पनीका संचालक र ब्यवस्थापकहरुले सही नियत नै काम गरेका छन् र नेपालको शेयर बजारमा सुचिकृत त्यस्ता कम्पनीहरुको संस्थागत सुशासन र प्रगतिको अबस्था पनि संतोषजनक नै छ । यहाँ बदमास संचालकहरुको पक्ष पोषण गर्नेहरुको सबालमा मात्र धन्दावालको उपयोगको चर्चा गरिएको हो । 

साधारणसभामा बोल्ने सबै शेयरधनी यस्तै पेशेवर हुन्छन् भन्न खोजिएको कदापी हैन । कतिपय शेयरधनीले व्यवस्थापक र सञ्चालकहरुका बदमासीको खुलासा गर्दै समग्र सर्वसाधारण शेयरधनीका पक्षमा बुलन्द आवाजहरु उठाईरहेका हुन्छन् । कम्पनीका कमजोरीहरु देखाउँदै सुधार गर्नु पर्ने पक्ष र विकल्पहरु पनि उनीहरुले सुझाई रहेका हुन्छन् । तर पहिले नै किनेर साधारणसभामा बोल्न लगाइएका दलाल वक्ताहरुको काम चैं आम लगानीकर्ताको पक्षमा बोल्नेको तेजोबध गर्नु नै हो । आम लगानीकर्ताहरुमा भ्रम कसरी छर्न सकिन्छ र ब्यवस्थापनको जय जयकार कसरी गर्नुपर्छ भन्ने कुरा उनीहरुलाई पहिले नै राम्ररी पढाईएको हुन्छ ।

साधारणसभा औपचारिकता मात्रै

साधारणसभामा बोल्नका लागि एक साता पहिले नै बोल्नु पर्ने विषयवस्तुको आशय सहित कम्पनीमा नाम दर्ता गर्नु पर्ने हुन्छ । यो कुरा आम लगानीकर्तालाई त्यति धेरै थाहा नहुने मात्र हैन, साधारणसभा कहिले हुँदैछ भन्नेसम्म हेक्का हुँदैन र जानकारी राख्नेलाई पनि एक साता पहिले भाषण र नाम टिपाउने महत्वकांक्षा हुँदैन । केही गरी साधारणसभाको बारेमा थाहा पाएर अरु लगानीकर्ता सभामा पुगे पनि धन्दावाल दलालहरुका अगाडि उनीहरु केवल श्रोता अनि दर्शकका रुपमा मात्र सिमित हुन्छन् । उनीहरुले सातादिन पहिले नै बोल्नका लागि कम्पनीमा आफ्नो नाम टिपाउनु पर्ने रहेछ भन्ने कुरा साधारणसभा स्थलमा पुगेपछि मात्रै थाहा पाउँछन् ।

धन्दावाललाई नै जिल्ल पार्ने घटना

सबैले बुझ्न पर्ने कुरा के हो भने साधारणसभामा उपस्थित शेयरधनीको संख्याले विषय वस्तुको निर्णय गर्ने नभई कति प्रतिशत शेयर धारण गरेका शेयरधनीहरु उपस्थित भए भन्ने कुरा महत्वपुर्ण हुन्छ । यसको पछिल्लो उदाहरण कुमारी बैंकको विशेष साधारण सभा हो भन्दा अत्युक्ति नहोला । कुमारी बैंक अरु ५ वटा बैंक तथा वित्तीय संस्थामर्जमा जाने सम्झौता भएको थियो । त्यसैलाई अनुमोदन गर्न बिशेष साधारणसभा आयोजना गरियो । संचालक समितिका र ब्यवस्थापकहरु मर्जर कै पक्षमा थिए । सभामा बोल्ने यस्तै पेशेवर धन्दावालहरुले पनि धमाधम मर्जरको समर्थनमा वकालत गरे, कतिपयले मर्जर भएमा लगानीकर्ता मालामाल हुन्छन्, छिटो प्रक्रिया सक्नु पर्छ भनेर जोड समेत दिए । अन्ततः सभामा सहभागी  शेयर धारण गरेका व्यक्तिहरुको निर्णयका आधारमा मर्जर तोडियो । दलाल जिल्ल परे, सित्तैमा भत्ता पचाए ।

यसरी हुँदै आएको धन्दावाल बक्ता राख्ने बिकृति हटाउँन र साधारणसभालाई शेयरधनीहरुको हित संरक्षण र कम्पनीको बिकासबारे मन्थन गर्ने स्थल बनाउँन सम्बन्धित कम्पनी र नियमनकारी निकायहरुको ध्यान जानै पर्ने देखिएको छ । 

मेरोलगानी डटकममा प्रकाशित कुनै पनि समाचार सामाग्री पुनः प्रकाशन नगर्नुहुन अन्य संचार माध्यमहरुलाई आग्रह गरिएको छ । अनुमति लिएर भने आंशिक वा पूर्ण रुपमा पुनः प्रकाशन गर्न सकिने छ । 

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।