फोटोहरुः मेरोलगानी
यसरी बौरिदैछ
सरकारले औषधी कारखाना फेरि संचालनमा ल्याउने घोषणा गरेर १४ करोड रुपैयाँ निकाशा गरेपछि औषधी लिमिटेडका कर्मचारीहरु आफ्नो कम्पनीले नयाँ जीवन प्राप्त गर्नसक्नेमा आशाबादी देखिएका छन् ।
२०२९ साल असोज १ गते शाही औषधी लिमिटेडका नामले संचालनमा आएको यो उद्योगले अत्याबश्यक औषधी उत्पादन गरेर देशभर आपुर्ति गर्दथ्यो । सिटामोल, एमजीट र जीवन जल लगायतका धेरै खपत हुने औषधीहरु यसैको उत्पादन थिए ।
अहिले पनि मानिसहरु ज्वरो आयो भने सिटामोल खोज्छन्, पेट दुख्यो भने एमजीट खोज्छन् र पखाला लाग्दा जीवनजल नै खोज्छन् । त्यसैले नेपाल औषधी लिमिटेडलाई ब्राण्डको लोकप्रियता कायम गराउनु त्यति कठिन छैन ।
कमिशनको खेलले बर्बाद
बिदेशी औषधी कम्पनीका एजेण्ट र निजी कम्पनीहरुको कमिशनको चक्करमा सरकारी अधिकारीहरु पर्दा तत्कालीन शाही औषधी लिमिटेड थला परेको थियो । त्यसलाई थला बसाउन नेपालमा निजिकरणका प्रणेता भनिएकाहरुको पनि ठूलै योगदान रह्यो ।
एकातिर सरकारले उद्योग चलाउन हुँदैन भन्ने नीति ल्याईयो भने अर्कोतिर आफ्ना नातेदार र कार्यकर्ता कर्मचारीमा हुलेर थाम्नै नसक्ने भार बढाईयो । अर्को तिर निजी र बिदेशी औषधी कम्पनीका एजेण्टहरुको कमिशनको खेल त छदैथियो ।
सरकारले खरिद गर्ने औषधीमा कमिशनको खेल र सरकारी कम्पनी डुवाएर निजिलाई पोस्ने राजनीतिज्ञहरुको कारणले नेपाल औषधी लिमिटेडको औषधी बिक्न छाड्यो । जत्तिखेर यो उद्योग संचालनमा थियो, त्यतिखेर ६५० जना कर्मचारीहरु कार्यरत थिए । बेलायत, फ्रान्स, हल्याण्ड र बिश्व स्वास्थ्य संगठनले उपहार र अनुदान स्वरुप दिएका महंगा मेसिनहरु थिए, औषधी उत्च्पादनमा प्रयोग हुने त्यस्ता मसिनहरु नेपालमा अहिले पनि कुनै कम्पनीसँग नभएको बताईन्छ । त्यस्ता मसिनहरुबाट उत्पादन हुने गुणस्तरीय औषधीसँग प्रतिस्पर्धा गर्न निजी औषधी उत्पादक र बिदेशी दलालहरुलाई हम्मे हम्मे परेको थियो । अनेक हथकण्डा प्रयोग गरेर औषधी उद्योग बन्द नै गराईयो । यसमा राजनीतिक दलका ट्रेड युनियनहरु पनि कम जिम्मेबार रहेनन् । उद्योगको बबार्दी हुनुमा कर्मचारीहरुको कामचोर प्रबृत्ति पनि केही हदसम्म जिम्मेबार रह्यो ।
अहिलेको अबस्था
अहिले ९७ जना कर्मचारी मात्र बाँकी रहेका छन् । त्यही मध्येका निमित्त महाप्रबन्धक रमेशकुमार महतो पनि एक हुन् ।
सरकारले उद्योगलाई पुनः संचालन गर्ने भन्दै १४ करोड निकाशा गरेपछि उनी निकै उत्च्साहित भएका छन् । कर्मचारीहरु मसिनमा लागेको धुलो पुच्दै पुनः संचालनको पर्खाईमा बसेका छन् ।
निमित्त महाप्रबन्धक महतो दह्रो आत्मबिस्वासका साथ भन्छन् औषधी लिमिटेडलाई हामी पून पुरानै अवस्थामा सञ्चालन गर्न सक्छौ ।
महतोले संचालनको तीन महिनामै आठ प्रकारका औषधीहरु उत्पादन गरिने जानकारी दिए । एमजीट,र्आिडरन टेवलेट , एलवेण्डाजोल, जीवनजल, नेमोक्सील र झोल कफ हिप्स्ट र कपनास जस्ता अत्यावस्यक औषधीहरु सुरुवाती चरणमा उत्पादन थालिने उनले बताए ।
नेपाल सरकारले हाल ७० प्रकारका अति आबश्यक औषधीहरु आयात गरिरहेको छ ।
औषधी उत्पादन गर्ने मसिनहरु
यी अति आवस्यक औषधीहरु देशका विभिन्न हेल्थपोष्ट र संघ सस्थाहरुवाट निशुल्क वितरण हुन्छ । औषधी लिमिटेड चौबिसै घण्टा संचालनमा ल्याए करोडौ रुपैयाँको त्यस्ता औषधी स्वदेशमै उत्पादन हुनसक्ने अबस्था रहेको छ ।
महतो आफ्नो उद्योगप्रति गर्व गर्दै भन्छन् हाम्रा औषधी उत्पादन गर्ने मेशिनहरु अहिलेसम्म प्राइभेट औषधी उत्पादन गर्ने कुनै पनि कम्पनीहरुले ल्याउन सकेका छैनन् । हामी थरी थरीका गुणस्तरीय औषधीहरु ट्यावलेट, झोल ,महलम सबै उत्पादन गर्न सक्छौ ।
नयाँ सोच नभए फेरि खतरा
सरकारले बिउः पूँजी उपलब्ध गराएर सर्वसाधारणको पनि सेयर भए औषधी लिमिटेड राम्रोसँग चल्नसक्ने विकल्प पनि प्रस्तुत गरिएको छ ।
यो सरकारी कम्पनी फेरि चल्न लाग्यो भनेपछि निजी औषधी उत्पादक र बिदेशी कम्पनीका दलालहरुलाई असह्यै भएको बुझिन्छ । उनीहरु यसलाई फेरि संचालनमा आउन नदिन अनेक बहानाबाजी गरिरहेका छन् । मजदुर र कर्मचारीहरुलाई भड्काएर र नेताहरुकोमा कमिशन पुर्याएर फेरि धरासायी बनाउने षडयन्त्र नगर्लान् भन्न सकिन्न । त्यसबाट यसलाई जोगाउन कर्मचारीहरुलाई पनि सेयर बिक्री गरेर स्वामित्वबोध गराउने र निजी क्षेत्रको सहभागिता गराएर संयुक्त रुपमा संचालन गर्ने विकल्प नै सर्बोत्तम हुनसक्छ ।