सेयर बजारमा संस्थागत र ठूला लगानीकर्ता निस्क्रिय बस्दाको परिणाम

Oct 26, 2016 Merolagani

मेरोलगानी बिश्लेषण

सेयर बजारमा संस्थागत र ठूला लगानीकर्ता निस्क्रिय बस्दा दैनिक रुपमा नेप्से सूचक तथा कारोबार रकम ओरालो लागेर संबेदनशील बिन्दुतर्फ गएकोमा बुधबार केही सुधार देखियो । किनबेच भएको सेयर कारोबारको प्रबृत्ति बिश्लेषण गर्दा साना कित्ताहरु मात्र बढी मात्रामा खरिद बिक्री भएको पाईन्छ भने एकाध कम्पनी बाहेक धेरैको सेयर कारोबार कित्ता १० हजार नाघ्न सकेको छैन ।

कस्ता लगानीकर्ताले सेयर किनिरहेका छन् ?

अहिले बजारमा आफुसँग केही पैसा भएका र सेयर बजारमा लगानी गर्दा फाईदा हुन्छ भन्ने बुझ्न थालेका साना र नयाँ लगानीकर्ताले मात्र किनबेच गरिरहेको जस्तो देखिन्छ । दैनिक १०, १५ करोडको सेयर किनबेच गर्ने सेयर दलालहरुको कारोबारको बिश्लेषण गर्दा पनि यो अनुमान लगाउनु उचित ठहर्छ । अधिकांश कारोबारमा ५०, १०० कित्ता देखिन्छ, जसलाई हेरेर भन्न सकिन्छ, ठूलो रकम लगानी गरेर धेरै सेयर किनी जोखिम मोल्न चाहनेहरु बजारमा देखिएका छैनन् ।

बुधबार भएको सेयर किनबेचको अबस्थासँग अघिल्ला दिनहरु तुलना गर्दा अहिले संस्थागत लगानीकर्ता र धेरै रकम परिचालन गरेर सेयर किन्नसक्ने हैसियतका लगानीकर्ता बजार प्रबेश गरेको देखिन्न । उनीहरु पर्ख र हेरको अबस्थामा छन् । बरु संस्थागत र ठूला लगानीकर्ताहरुले फाईदा भएको बाणिज्य बैंक समूहको सेयरहरु बेचेका छन् र थप सेयरहरु बजारबाट उठाएका छैनन् जसले बजारको चहल पहलमा कमी ल्याईदिएको छ । बिमा कम्पनीको सेयरमूल्य तुलनात्मक रुपमा कम घटेको छ , जसलाई बोनस, हकप्रद र नयाँ थप साधारण सेयर घोषणाको क्रमले आधार दिईरहेको छ । यसो हुँदा बजार अरु घट्ने बिश्लेषण गर्दै संस्थागत र ठूला लगानीकर्ताहरुले मौनता साँधेको बुझ्न सकिन्छ । यसमा बजार घट्छ भन्ने मनोबिज्ञानले पनि काम गरेको हुनसक्छ ।

संस्थागत र ठूला लगानीकर्ता किन मौन ?

पहिले देखि नै बजारमा कारोबार गरिरहेका सामुहिक लगानी कोषहरुले बजार घटेको मौकामा राम्रा सेयरहरु उठाउनु पर्ने हो तर उनीहरु पनि अहिले पछि हटेका छन् । हालै नयाँ ईकाईहरु बेचेर पैसा जम्मा पारेको नबिल ईन्भेष्टमेन्ट र एनएमबी क्यापिटलले पनि बजारबाट सेयर उठाएको संकेत देखिएको छैन । बजार अरु घट्छ भन्ने नै उनीहरुको बुझाई रहेकोले उनीहरु बजारमा नओर्लिएका हुनसक्छन् ।

अर्को तर्फ बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिएर सेयर बजारमा ठूलो रकम लगानी गर्नेहरुले दैनिक रुपमा गिर्दो सेयरको भाऊमा माथि चढ्दै गएको महंगो ब्याज दरको कर्जा लिन नचाहेको देखिन्छ । ब्यापारिक मानसिकताका यस्ता ठूला लगानीकर्ताले कर्जाको ब्याज दर र सेयरबाट हुनसक्ने फाईदा तौलदा अहिले मौन बस्नु नै ठीक ठानेका हुनसक्छन् ।

धेरै अघि सेयर किनेर बसेका लगानीकर्ताले सेयर बेच्दा फाईदा देखेको, हकप्रदको लागि रकम जुटाउन सेयर बेच्न परेको, बोनस र हकप्रद सुचिकृत हुँदा बजारमा सेयर आपुर्ति बढेको लगायतका कारणले केही समय चाँही बिक्री गर्नेहरुकै चाप बजारमा देखिन्छ भन्ने बिश्लेषण गर्नु सही पनि मान्न सकिन्छ । धेरै बैंक तथा बित्तीय संस्थाहरुले लाभांश र हकप्रद घोषणा गरिसकेको अबस्थामा बजारमा नयाँ समाचार नआएकाले पनि यो अबस्था रहिरहेको हुनसक्छ ।

अर्थतन्त्रसँगको सम्बन्धको चर्चा

बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप र कर्जाको ब्याज दर बढाए भन्दैमा पनि आत्तिईहाल्नु पर्ने अबस्था हैन । जसले बढाएका छन्, त्यो न्युन रुपमा बढाएका छन् र यसले खासै ठूलो असर पार्दैन तर अर्थतन्त्रका अरु पक्षहरु चाँही के हुन्छन् भन्ने मुख्य कुरा हो ।

अर्को तर्फ घट्दो क्रममा रहेको रेमिट्यान्स आप्रबाहले अर्थतन्त्रमा कस्तो प्रभाव छाड्ला भन्ने पक्ष पनि बिचारणीय नै छ । त्यसको प्रभाव पर्दा सबैभन्दा पहिले तरंगित हुने भनेको सेयर बजार र घरजग्गा नै हो । तरलता कम हुँदै गएपछि ब्याज दर महंगिन्छ, महंगो ब्याजमा कर्जा लिएर यी दुबै क्षेत्रमा लगानी गर्दा अपेक्षित प्रतिफल हासिल हुनसक्दैन । त्यसमाथि मूल्यांकन भएको धितोको ५० प्रतिशत मात्र कर्जा पाउने कुरा छदैछ ।

आईपीओमा आकर्षण

साधारण सेयर (आईपीओ)हरु जारी हुने क्रमले पनि दोस्रो बजारको चहल पहललाई ओझेलमा पारेको अर्को कारण हुनसक्छ । दोस्रो बजारमा आकर्षण घटेको र अन्योल बढेको अबस्थामा लगानीकर्ताहरु साधारण सेयर आबेदनमा केन्द्रित हुनुलाई बजार घटाईको मनोबैज्ञानिक असर परेको मान्न सकिन्छ । दोस्रो बजारमा प्रबेशै नगरेका कतिपय साधारण मानिसहरु आईपीओको आबेदन पत्र बोकेर संकलन केन्द्रहरुको भीडमा सामेल भएको देख्न पाईन्छ । यसले बैंकिड. प्रणाली भन्दा बाहिर रहेको तरलतालाई पनि खिचेको हुन्छ । सेयर बजार घटिरहेको बेला आईपीओमा लगानी सुरक्षित छ भन्ने बुझाईले काम गरेको पनि हुनसक्छ ।

कहिलेसम्म यस्तो होला ?

सेयर बजार यो दिन, यतिसम्म तल जान्छ वा माथि चढ्छ भनेर बिगतमा गरिएका कयौं अनुमानहरु खेर गएका छन् । अहिले पनि त्यही हुनसक्छ ।

मंगलबार दोहोरो अंकले घटेको बजार बुधबार अन्त्यमा केही हरियो भएर लगानीकर्तालाई आशाबादी बनायो । कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा केही आशाप्रद अबस्था देखियो तर यो क्रम चलि नै रहने देखिन्छ । कहिले बजार केही अंकले घट्छ, कहिले बजार अलि सुधारिए जस्तो देखिन्छ, जबसम्म बजारलाई हलचल गराउने नयाँ कुरा आउँदैन । कुनै कम्पनीको बारेमा चलाईने हल्लाहरुको कुरा त अर्कै पाटो हो ।
बजारमा नयाँ हलचल ल्याउने कुराहरु भनेका कम्पनीहरुको प्रगति र बजार सुधार तथा बिस्तारमा चालिने कदमहरु नै मुख्य हुन् । प्रथम त्रैमासको बित्तीय बिबरण आउने क्रम जारी रहेको भए पनि त्यसले बजारमा हलचल ल्याउन सक्दैन किनभने त्यसैका आधारमा मात्र लगानीकर्ताले लगानी बढाउनुपर्छ भन्न सकिन्न ।

धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल स्टक एक्सचेन्जबाट तत्काल नयाँ कुराहरु आउने छाँट पनि छैन । गैरआवासीय नेपालीलाई सेयर बजारमा ल्याउने, अनलाईन कारोबार प्रणाली स्थापना गर्ने, सेयर दलालहरुलाई देशैभरि पठाउने, बाणिज्य बैंकहरुलाई सेयर दलाल लाईसेन्स दिने, सेयर दलालमार्फत मार्जिन ल्याण्डिड. जस्ता कुराहरु केही समय गफमै सिमित होलान् जस्तो छ ।

अहिले निस्क्रिय वा पर्ख र हेरको अबस्थामा रहेका संस्थागत, ठूला लगानीकर्ता र थप नयाँ साधारण लगानीकर्तालाई बजारमा उतार्न केही नयाँ कुरा आउनैपर्छ । बजारमा आऊ आऊ भन्ने भन्दा पनि जाऊ जाऊ भन्ने अबस्था रहिरहेसम्म सेयर बजारमा उत्साह बढ्न सक्दैन । जबसम्म बजारलाई प्रत्यक्ष प्रभाव पार्ने गरी नयाँ कुरा आउँदैन, तबसम्म संस्थागत र ठूला लगानीकर्ताहरुले मौनता साँधिरहन्छन् । उनीहरुको तर्फबाट हल्लाखल्ला सुरु नभएसम्म बजार फेरि माथि जाँदैन ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।