आईतबारको सेयर बजारमा गएको पहिरोबाट सिक्नुपर्ने पाठ

Nov 20, 2016 Merolagani

मेरोलगानी टिप्पणी 
सेयर बजारमा तीब्र उतार चढाव भईरहेको बेला निकै सावधानी अपनाउनुपर्छ भन्ने कुरा आईतबारको नेप्सेले देखाईदियो । ८० अंकसम्मले घटेको बजारमा आँट गरेर सेयर किन्नेहरु कमै थिए तर जब किन्ने क्रम बढ्न थाल्यो त्यसपछि नेप्से घट्ने क्रम कम हुँदै गएर सुधारको आश जाग्न थाल्यो तर अन्त्यमा नेप्से ५८ अंकले घटेर बन्द भएपछि केही प्रश्नहरु उब्जिएका छन् ।

डेढ घण्टामा पहिलो सर्किट लागेर बन्द भई कारोबार खुलेको केही समयमा खरिदकर्ताहरु ओईरिए, कुनै कुनै पाँच देखि सातसय मूल्यका कतिपय सेयरमा त आघा घण्टामै मूल्य उचालिएर पहिलेकै ठाउँमा पुग्यो । सर्किट लागेर फेरि बजार खुलेको एक घण्टामा कयौं कम्पनीहरुले आफ्नो अनुहारमा हरिया रंग पोतिसकेका थिए ।

लगानीकर्तालाई झुक्याउने बजारको चाल यस्तो थियो

 

बीचमा बजार सुधारिएर २८ अंकले मात्र घट्यो तर अन्त्यतिर फेरि घट्दै गएर बजार ५८ अंकले घटेर नेप्से १५९९.६२ मा बन्द भयो ।  कारोबार रकमको हिसाबले एक अर्ब २४ करोडको सेयर किनबेच हुनु त्यत्ति नराम्रो हैन  । 

दीर्घकालीन लगानीको हिसाबले सेयर बजार घटेको बेलामा सेयर किन्न हिम्मत चाहिन्छ भनेर मेरोलगानी डटकमले सर्वसाधारण लगानीकर्तालाई भन्दै आएको हो । सेयर बजार एकोहोरो घटेरै जाँदैन र एकोहोरो बढेरै मात्रै पनि जान्न । घटेको बेला मनोबल उच्च बनाएर किन्ने र मूल्य बढेर फाईदा भएन भने पनि कम्तिमा तीन बर्षसम्म पाल्ने हिम्मत लगानीकर्ताले जुटाउँनै पर्छ । एकैपटक भए भरको पैसा खर्च गरेर सेयर निकिनी सेयर बजार जत्ति घट्दै गयो, उत्ति धेरै राम्रा कम्पनीको सस्तो सेयर किन्दै जाने हो भनिन्छ तर अहिलेको अबस्थामा त घटेको राम्रा कम्पनीको सेयर किन्न कुबेरको धनले पनि नपुग्ने स्थिति आयो । नेप्सेमा घटाईको क्रम सुरु भएपछि समग्र बजार पूँजीकरण दुई खर्बले कमी आई आईतबार १७ खर्ब ७९ अर्बमा झरेको छ । यो चानचुने गुमाई हैन ।

                      आईतबार एक समय बजार घटाईको अबस्था 

 

आजको भोलि फाईदा हुन्छ भनेर सेयर बजारमा लगानी गर्नेहरुलाई यसरी बजारको घटेको बेला सहनै गाह्रो पर्ने खालको पीडा हुनसक्छ र उनीहरु हतासिएर सेयर बेची घाटा खान्छन् । बजार घटेर सबै भागाभाग गरिरहेको बेला कोही पनि लगानीकर्ता पुराण सुनेर बस्दैनन् । बजार घटाईको चिन्ताले सबैलाई सताएकै छ । त्यसो हुँदा लगानीकर्ताले आफ्नो विवेक र निर्णयमा लगानी गर्नुपर्छ भनेर भनिएको हो । घाटा हुँदा कोही सहयोग गर्न आउँदैनन् र नाफा हुँदा नाफा पनि कसैलाई बाड्नु पर्दैन ।

एभरेष्ट, नेशनल लाईफ, शिखर जस्ता कम्पनीको धेरै रकमको सेयर कारोबार हुनुले ठूला लगानीकर्ता अझै ती कम्पनीको सेयर किनबेच गरिरहेका छन् छन्ने देखिएको छ । ती सेयरहरु ठूला लगानीकर्ताले नै किनेका हुन् । यो क्रम केही दिनदेखि चलिरहेकै छ ।

अहिले सेयर बजार घट्नुमा धेरै कारणहरु हुनसक्छन् र ती कारणहरुलाई पुष्टि गर्न चलाईने हल्लाहरुको पनि महत्वपूर्ण भुमिका हुनसक्छ । हकप्रदको ओईरोले पारेको प्रभाव, नाफा सुरक्षित गर्ने प्रबृत्ति, बजारमा सकारात्मक भन्दा नकारात्मक कुराहरुको चर्चा बढी, लगानीकर्ताको आत्मबल कमजोर हुनु, सेयर माग भन्दा आपुर्ति बढी, संस्थागत र ठूला लगानीकर्ताको रमिता हेराई, अर्थतन्त्रको अबस्था लगायतका कारणहरु खोतल्दा पनि थाम्नै नसक्ने गरी पहिरो जानुपर्ने चाँही हैन । सबैैभन्दा ठूलो कुरो लगानीकर्ताको मनस्थिति नै कमजोर हुनु र केही पक्षहरु त्यसलाई अझ कमजोर पार्नेतर्फ लाग्नु हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको पूँजी बृद्धिको योजना ल्याएपछि धेरै बैंकहरु मर्ज वा खरिद बिक्रीमा जान्छन् भन्ने अनुमान गरिएको थियो । तर त्यस अपेक्षा विपरित धेरै संस्थाका संस्थापक र संचालकले आफै पूँजी पुर्याउँछु भन्दै हकप्रदलगायतका औजारहरु चलाए, त्यसले उनीहरुको गानो गएको छ । त्यसमाथि हकप्रद आबेदन गर्दा संस्थापकले रकमको प्रमाणित स्रोत सम्बन्धी कागाजात पेश गर्नुपर्ने भएपछि उनीहरु हावाकावा गरिरहेका छन् ।

एउटा उदाहरण हेरौं, संस्थापकहरुले हकप्रदको रकम जुटाउन नसक्दा सेवा बिकास बैंकले स्वीकृति पाएको धेरै पछि सेयरधनी दर्ता किताब बन्दको सूचना निकाल्नु र कैलास बिकास बैंकले संस्थापकहरुको रकम जुटाउनै नसकेर धितोपत्र बोर्डलाई जवाफ लेख्नै नसकेको अबस्था छ । सेन्चुरी लगायतका केही बाणिज्य बैंकहरुका संस्थापकले पटक पटक हकप्रद हाले पनि आठ अर्ब पुर्याउन अझै कति हकप्रद हाल्नुपर्ने हो भनी आत्तिएको अबस्था छ । मेघा, सिभिल, जस्ता बैंकहरुले कसरी आठ अर्ब पुरयाउने अहिले नै भन्न सकिने अबस्था छैन । एभरेष्ट, एसबीआई जस्ता सेयर मूल्य धेरै भएका बैंक र बिमा कम्पनीहरुको हकप्रदको ओईरो लाग्ने स्पष्ट भईसकेको छ । साना संस्थाहरुलाई झन् सकस परेकै छ ।

यसरी हेर्दा एफपीओ र हकप्रदले नै सेयर बजारलाई धक्का दिन्छ भन्ने आँकलन सही सावित भयो । बजार स्पष्ट रुपमा घट्ने क्रममा जान्छ भन्ने बिश्लेषण गरी अझै घटोस भनेर धुप हाल्दै बसेका संस्थागत लगानीकर्ता, सामुहिक लगानी कोष र ठूला लगानीकर्ताहरुलाई अहिले कसैले सेयर किन भनी आदेश दिन सक्दैनन् । सेयर मूल्य घट्छ भनेर जान्दाजान्दै कसैले पनि लगानी गरेर घाटा खाँदैन, सामुहिक लगानी कोषहरुले त झन् जोखिम मोलेर जनताको पैसा चलाईरहेका छन् । कोष घाटामा गयो भने उनीहरुलाई भरथेग गरिदिने कोही हुन्न । त्यसैले उनीहरुले अहिले बजारमा देखिएको जोखिम उठाउँदैनन् ।

त्यसैमा अहिलेको बजार धेरै उतार चढावपूर्ण छ । एकैदिन ८० अंकले घटेको बजार फेरि सुधारिएर २६ अंकले

मात्र घटेर अन्त्यमा ६० अंकले नै घट्छ भने अब यसै हुन्छ भनेर कुनै बिश्लेषकले पनि भन्न सक्दैन । अघिल्लो साताको अन्तिम दिन ४१ अंकले बजार घट्दा यस आईतबार बजार सुध्रिन्छ भनेर कसैले यकिनसाथ भन्न सकेको थिएन । बजारको आफ्नै नियम हुन्छ, साना, ठूला उतार चढावहरु आई नै रहन्छन् । यसलाई यही अर्थमा बुझेर आफ्नो लगानीको सुरक्षामा ध्यान दिनु नै बुद्धिमानी हुनेछ । हल्ला र हकप्रदको भरमा मूल्य उचालिएका कम्पनीमा गरिएको लगानी फिर्ता गरी बलियो, राम्रो र धेरै मूल्य घटेको कम्पनीको सेयरमा लगानी गर्नु नै अहिलेको आबश्यकता हो ।

सामान्य ढंगले लगानीकर्ताको मनोबल उच्च हुन पनि सक्दैन भन्ने देखियो । लगानीकर्ताहरुले यो समयमा सकेसम्म सेयर आपुर्ति कम गरी गंभीर खालका पहिरो रोक्न आफै पहल गर्नसक्छन । मार्केट डेब्थमा सकेसम्म कम सेयर बिक्रीमा देखाएर बजारलाई सन्तुलनको अबस्थामा राख्ने भुमिका खेल्न सकिएन भने आफ्नो लागि आफैले खाल्डो खनेको हुनेछ । 

अहिलेको बजारमा सेयर आपुर्तिलाई कम गराउन नसकेमा आईतबार सर्किट लाग्ने गरी गएको पहिरो फेरि रोक्न सकिदैन । आम लगानीकर्ताको मनस्थिति परिवर्तन र बिषयान्तर गर्ने खालको ठूला कुराहरु आउनु पनि उत्तिकै जरुरी छ । अस्थिर अबस्थामा केही दिनसम्म साना ठूला पहिरोको संभावनाहरु जिवितै देखिन्छ । मनोबल खस्काउने खालको थप समाचार आयो भने परिस्थिति झन् गंभीर नहोला भन्न सकिन्न । सेयर बजारको अहिलेको संबेदनशिलता सम्बद्ध सबैले बुझ्नु जरुरी छ ।

................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।