पात्र नम्बर १
यो पात्र सेयर बजार सधै हरियो भएको मात्र देख्दछ । साउनमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ भने जस्तै सेयर बजार बुलिस प्रबृत्तिमा रहेको बेला बजारमा जसरी हरियाली देखिन्छ, यस्ता पात्रको आँखामा सेयर बजार भनेको हरियो मात्र हो भन्ने भ्रम परेको हुन्छ । कुनै समय सेयर बजार घटेर राताम्मै भएको बेला पनि उसले हरियाली देख्न छाड्दैन र फेसबुक वा सामाजिक संजालका समूहहरुमा हरियो साँग, काक्रो, तिते करेला वा हरियो साडी लगाएकी महिलाको फोटो हालेर भए पनि सन्तोष मान्ने गर्दछ । यस्ता पात्रलाई सेयर बजारमा घटबढ भईरहन्छ, घटबढ भईरहने नै सेयर बजार हो भन्ने ज्ञान हुँदैन वा ज्ञान भएर पनि हरियो देख्ने मनोरोगले ग्रसित हुन्छ । आम सर्वसाधारण लगानीकर्ताहरु यस्तो पात्रबाट सदैब सतर्क रहनु नै राम्रो हुन्छ ।
पात्र नम्बर २
पात्र नम्बर १ भन्दा ठीक विपरितको प्रबृत्ति पात्र नम्बर २ सँग हुन्छ । यो पात्र सेयर बजार बढेको देख्नै चाँहदैन । सेयर बजार भनेको जुवाको घर हो, अब ध्वस्तै हुन्छ, बजारमा लगानी गरेकाहरुले पनि घाटै खाएर सेयर बेचेर भागिहाल, नत्र अब डुब्छौ भनेर यो पात्रले आतंक सिर्जना गरिरहेको हुन्छ । लहड वा सन्की दिमाग भएकाले हुनुपर्छ वा अरु कसैले उसलाई यस्तै हल्ला फैलाएर आतंक सिर्जना गर्न प्रेरित गरेको पनि हुनसक्छ । सेयर बजारका नयाँ र साधारण लगानीकर्ताहरुमा आतंकको स्थिति सिर्जना गर्दा आफु जस्तै लाखौ मानिसहरु थप पीडामा पर्छन, आत्तिन्छन् भन्ने हेक्का उसलाई नभएको हुनसक्छ वा भएर पनि त्यसै गरेको हुनसक्छ । सेयर बजार डरलाग्दो किसिमले घटेर रातै भएको बेला यो पात्र औधी खुशी हुन्छ र आफ्नो बहादुरीको बखान गर्न थाल्छ । कुनै दिन सेयर बजार बढ्यो भने पनि चलखेलले बढ्यो भन्ने आरोप लगाएर यो पात्रले आफ्नो कमजोरी ढाकछोप गर्छ । सेयर बजार बढेर हरियाली भयो भने पर्दामा रातो पोतेर होस वा रातो साडी लगाएकी महिलाको फोटो फेसबुकको वालमा पोतेर मनको सन्तोष लिन्छ । यो पात्रसँग पनि सेयर बजारमा घटबढ भईरहन्छ भन्ने ज्ञान नभएको हुनसक्छ वा भएर पनि नियतबश आतंक सिर्जनाको अभियान संचालन गरिरहेको हुन्छ । पहिलो पात्रसँग जस्तै यो पात्रसँग पनि आम लगानीकर्ताहरु सर्तक रहनु र सम्बन्ध बिच्छेद गर्नु नै उचित हुन्छ ।
पात्र नम्बर ३
यो तीन नम्बरको पात्र बडो अजिबको हुन्छ । सेयर बजारमा पहिले मौन धारण गरेर बस्छ । सुटुक्क कुनै कम्पनीको सेयर सकेसम्म उठाउँछ र आफुलाई पुगेपछि हल्ला गर्न थाल्छ । फलानो कम्पनीको यत्ति बोनस आउँछ, उत्ति हकप्रद र एफपीओ आउँछ, यसको सेयर किन्नेहरु केही दिनमा मालामाल हुन्छन्... आदि । पहिले मौन बसेका ती पात्र किन यसरी हल्ला गर्न थाले भनेर आम लगानीकर्ताले बुझ्दैनन्, हल्लै हल्लामा सेयर किन्नेहरुको ओईरो लाग्छ । ती पात्र एउटा ब्रोकर र आफ्ना नजिकका मान्छेहरु मार्फत हल्ला गर्ने सिमा तोडी ब्रोकरका कार्यालयहरु चाहारेर हिड्छ र हल्ला ब्यापक बनाउँछ । यसै त नेपालको सेयर बजार हल्लाको बजार हो, त्यसमाथि नियोजित रुपमा हल्ला चलाएपछि सक्किगोनि । हल्लैहल्लामा सेयरको भाऊ माथि पुग्छ, अनि उसले अर्कै ब्रोकरबाट आफ्नो भएभरको सेयर बेचेर नाफा निकालिसकेको हुन्छ ।
अनि फेरि गफ लगाउने क्रम चलाउँछ- मैले त भनेकै थिए नि, यसको सेयर किन्नुस, मालामाल भईन्छ तर मान्नु भएन । देख्नु भयो त फलानोले यत्ति कमायो नि । सेयर बेच्ने क्रम तीब्र हुन्छ र फेरि भाऊ तीब्र रुपमा तल झर्छ, यसमा पनि उसको गफ चर्को हुन्छ- यस सेयरबाट मैले यत्ति कमाए, तपाइँहरुले पनि सेयर बेचेको भए, फाईदा हुन्थ्यो, बढेको बेला बेच्नु पथ्र्यो नि । यो खतरनाक पात्रसँग पनि लगानीकर्ता सदैब सतर्क रहनुपर्छ ।
पात्र नम्बर ४
यो पात्र कुनै सानो कम्पनीको केही कित्ता सेयर उठाउँछ र कुरेर बस्छ । साना कम्पनीहरु जसले सेयर बजारमा
तीस, चालिस हजार कित्ता सेयर छरेका हुन्छन्, त्यस्ताको सेयर कारोबार राम्रोसँग भएको हुँदैन, मूल्य भने माथि चढिरहेको हुन्छ । कम्पनीको अबस्था नै बलियो र क्षमतायुक्त नभएपछि बुझेका लगानीकर्ताले त्यस्ताको सेयर पनि किन्न रुची राख्दैनन् तर यो चार नम्बरको पात्रले त्यस्तै कम्पनीको सेयर किन्छ र जोखाना हेरेर बस्छ । कुनै निहुँ पायो भने १०, २० कित्ता किनेर भाऊ बढाईहाल्छ । हत्तपत्त त्यस्ता कम्पनीको सेयर बिक्न गाह्रो हुन्छ तर यो पात्रले गज्जबको जुक्ति लाउँछ, सेयर बजारका बारेमा जान्दै नजानेका, धेरै अध्ययन, बिश्लेषण नगर्नेहरुलाई उसले मुर्गा बनाउँछ र फलानो कम्पनीको सेयरमा लगानी गरे मालामाल भईन्छ भनेर दिमाग भुट्छ । ब्रोकरको कार्यालयमा उसलाई पुर्याएर सेयर किन्ने बन्दोबस्त मिलाउँछ, आफु भने शौचालय वा अन्य एकान्तमा बसेर ब्रोकरलाई फोन गरी फलानोलाई मेरो नाममा रहेको फलानो कम्पनीको कित्ता सेयर किनाई दिनु भन्दै आदेश दिन्छ । आफुले सस्तोमा किनेको काम नलाग्ने कम्पनीको सेयर सोझा र नयाँ लगानीकर्तालाई बिकाएर उसले फाईदा लुट्छ । यस्तो पात्रलाई चिनेर नयाँ र साना लगानीकर्ताहरु सदैब होसियार रहनुपर्छ ।
पात्र नम्बर ५
यो पात्रको समूह नै हुन्छ । समूह बनाएर सेयर बजारमा लगानी गर्छन । कुनै एक, दुई कम्पनीमा यिनीहरु केन्द्रित हुन्छन् । सामाजिक संजालमा पनि यो पात्रले समूह बनाउँछ । आफुले किनेका सेयरहरुको बारेमा भए, नभएका कुराहरु पोष्ट गरेर यो समूहले हल्ला फैलाउँछ । समूहका सदस्यहरुले फरक फरक कोणबाट आफ्नो सेयरबारे चर्चा, परिचर्चा सुरु गर्छन् । त्यत्तिले मात्र नपुगे पछि बिभिन्न ब्रोकरहरुको कार्यालयमा छरिएर यो समूहले आफ्नो कम्पनीको सेयरबारे बढाई चढाई हल्ला गर्न थाल्छ । हल्ला फैलिएपछि बजारमा त्यो कम्पनीको सेयरको माग बढ्न थाल्छ, त्यही मौकामा सकेसम्मको मूल्य बढाएर यी पात्रहरु आफ्नो सेयर बेचेर बजारबाट फाईदा लुट्छन् । सर्बसाधारण लगानीकर्ताहरु हल्लामा लागेर फस्छन् । यो समूहबाट पनि आम लगानीकर्ताहरु सतर्क रहनुपर्छ ।
पात्र नम्बर ६
यो पात्र चर्तिकला अलि फरक हुन्छ । कुनै पत्रिका वा अनलाईनको समाचारको हेडलाईन मात्र यो पात्रले पढ्छ । समाचारको भित्र छिरेर सम्पूर्ण कुरा पढ्ने फुर्सत यो पात्रलाई हुन्न वा समय भए पनि उसले यसो गर्न चाँहदैन, कम्पनीको सम्पूर्ण अबस्था बुझ्ने र अध्यययन गर्ने त झनै टाढाको कुरा भयो । त्यसपछि उ सेयर ब्रोकरलाई तुरुन्तै फोन गरेर त्यो हेडलाईनमा उल्लेख भएको कम्पनीको सेयर किनिदिन आदेश दिन्छ । हावाको तालमा लगानी गर्दा सेयर मूल्य घटेर तल पुगेपछि मात्र उसको होस खुल्छ, खोज्ने फुर्सद हुन्छ । मैले किनेको कम्पनीको सेयर मूल्य किन घटेछ भनेर अध्ययन गर्न थाल्छ, जब बास्तविकता थाहा पाउँछ, उसलाई पछुताउनु प्रशस्त समय हुन्छ । यही पछुताउँमा उ घाटै खाएर सेयर बेचेर बाहिर निस्कन्छ । यो पात्र पनि खतरनाक हो ।
पात्र नम्बर ७
यो पात्रसँग हरेक जसो कम्पनीको १० कित्ता सेयर हुन्छ । प्रायः सबै कम्पनीको बारेमा उसले राम्रो जानेको भान पार्ने गरी गफ लगाउँछ । लाख हैन, करोड करोडका कुरा गर्छ । नयाँ र नजानेका लगानीकर्ताहरु उसको गफ सुनेर मख्खै पर्छन । उसलाई सधै गफ गरिरहने फुर्सद पनि कहाँ हुन्छ र । साधारणसभाको मौसम सुरु भएपछि त उ देशको प्रधानमन्त्री भन्दा पनि बढी ब्यस्त हुन्छ । हरेक कम्पनीको प्रि एजिएममा पुग्नु, साधारणसभामा बक्ताको भुमिका खेल्नु र भत्ता पचाउनु उसको ब्यस्त दैनिकी हुन्छ । यो पात्रको कमाई सेयर किनबेच गरेर भन्दा पनि साधारणसभामा बोलेरै लाखौ रुपैयाँ हुन्छ । भत्ता अनुसार कम्पनी र संचालकको बारेमा सकारात्मक र नकारात्मक कुरा उसले तौली तौली बोल्छ र अर्को साधारणसभामा अझै राम्रो होस् भन्दै आफ्नो दुनो सोझ्याउँछ ।
यस्ता १० कित्ते पात्रसँग पनि आम लगानीकर्ताहरु होसियार हुनैपर्छ ।
पात्र नम्बर ८
यो पात्र सेयर बजारको मार्केट डेब्थसँग खेल्न रुचाउँछ । कुनै कम्पनीको सेयर मूल्य झार्न र उचाल्न यो पात्र परिचालित भएको हुन्छ । कुनै कम्पनीको सेयर मूल्य झार्न पर्यो भने यो पात्रले सेयर दलालसँग मिलेर हदैसम्म बिक्रीकर्ता देखाउने भुमिका खेल्छ र किन्नेहरु हच्किएर मूल्य अरु तल आउला भनी सेयर किन्न चााहदैनन् र मूल्य घट्छ । सेयर किन्नेहरु आए नै भने पनि बिक्रीमा राखिएको सेयर स्वात्तै हटाएर छिनको छिनमा चटक देखाउँछ । कुनै कम्पनीको सेयर मूल्य बढाउनु पर्यो भने खरिदमा चाप परेको देखाउने गरी धेरै कित्ता कम मूल्यमा किन्न बसेको देखाएर लगानीकर्ताहरुलाई मुर्ख बनाउँछ । बेच्नेहरु आए भने माग स्वाट्टै हटाएर त्यस कम्पनीको मार्केट डेब्थलाई उल्टो गतिमा हिडाउने भुमिका खेल्छ ।
यो पात्र खासगरी ठूला र संस्थागत लगानीकर्ताहरुको मतियार हुन्छ । यस्ता पात्रलाई चिनेर आम लगानीकर्ताहरु सदैब सतर्क रहनुु नै राम्रो हुन्छ ।
पात्र नम्बर ९
यो पात्र पत्रपत्रिका, टेलिभिजन र अनलाईनहरुमा सेयर बजार बिश्लेषकको रुपमा देखा पर्छ । आफ्नो धेरै कित्ता सेयर बेच्नुपर्ने अबस्था छ भने सेयर बजार बढेर यहाँ पुग्छ, अझै धेरै बढ्छ भनेर कथित बिश्लेषण प्रस्तुत गर्छ । जस्तै अहिले १५०० रहेका सेयर बजार बढेर २५०० नाघ््छ भन्छ तर १८०० नपुग्दै आफ्नो भए भरको सेयर बेचेर
पाखा लाग्छ, कम्पनीको बारेमा राम्रो समाचार आएको बेलाामा बढेको मूल्यमा भएभरको सेयर बेच्छ । फेरि बहानाबाजी गर्दै फलानो कारणले सेयर बजारमा नकारात्मक असर पर्यो भन्दै ऊ नै रोईकराई गर्छ । अब त बजार घटेर फलानो बिन्दुमा पुग्छ भनी आफै भन्न थाल्छ । तथाकथित सेयर बजारको ज्योतिषि यो पात्र झन् आम लगानीकर्ता र समग्र सेयर बजारकै लागि खतरनाक हुन्छ ।
पात्र नम्बर १०
कतिपय पत्रपत्रिका, अनलाईन र टेलिभिजन च्यानलहरु पनि खतरनाक पात्र हुन् । यिनीहरु पनि आम लगानीकर्ताको मनोबल खस्काउन, गिराउन र हतोत्साहित बनाउन खतरनाक ढंगले परिचालित हुनसक्छन् । कुनै कम्पनी वा संचालक वा ठूला लगानीकर्तासँगको मिलेमतोमा यिनीहरुले नियोजित रुपमा नकारात्मक वा सकारात्मक समाचार वा सूचना प्रबाह गरी आम लगानीकर्तालाई प्रभावित पार्छन । संचार माध्यमले लेखिसकेपछि आम सर्वसाधारणले नपत्याउने कुरै भएन तर जे कुरा समाचारमा उल्लेख भएको हुन्छ, त्यो असत्य सावित भएपछि सर्वसाधारण लगानीकर्ता फस्छन् । कुनै बाणिज्य बैंकले शतप्रतिशत बोनस दिन्छ भन्ने समाचार आउँदा जसरी लगानीकर्ताले उचालिएर सेयर किनेका हुन्छन्, ३० प्रतिशत मात्र बोनस आएपछि उनीहरुको बेहाल त हुने नै भयो । त्यसैले यस्ता पात्रले प्रबाह गर्ने समाचारको तथ्यपरक बिश्लेषण र पुष्टि गराएर मात्र बिस्वास गर्नुपर्छ ।
नेपालको सेयर बजारमा देखिएका यी मुख्य पात्रहरु हुन्, सहायक पात्र अरु पनि छन् । यस्ता पात्रहरुबाट सतर्क रहेर लगानीकर्ताले सुरक्षित लगानी गरे नेपालको सेयर बजारबाट भबिष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने संभावना छ ।
[हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)]