आस्वा (AASBA) प्रणाली सम्बन्धमाः सार्वजनिक सेयर निष्काशनमा धितोपत्र खरिद गर्नका लागि आवेदन दिंदा लगानीकर्ताहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खातामा सेयर आवदेन बराबरको रकम रोक्का राखी धितोपत्र वाँडफाँड पछि आवेदकको वाँडफाँडमा परेको सेयर बराबरको रकम मात्र खातावाट खिच्ने प्रणाली नै आस्वा प्रणाली (Application Supported by Blocked Amount) हो ।
सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित पारदर्शी तथा छिटो छरितो बनाई सार्वजनिक निष्काशन लागतलाई समेत न्युन गर्ने उद्धेश्यले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) निर्देशिका, २०७३ जारी गर्दै यहि माघ महिनादेखि यो प्रणाली लागु भएको हो ।
यो प्रणाली लागू भएसँगै विद्यमान धितोपत्र बाँडफाँटको समयमा उल्लेख्य सुधार हुने, निष्काशित धितोपत्रको सूचीकरण छिटो गर्न सकिने हुँदा लगानीकर्ताले बजारबाट छिटो निकास पाई लाभ प्राप्त गर्न सक्ने, वित्तीय क्षेत्रमा पारदर्शीता अभिवृद्धि हुने जस्ता कार्यले सेयरको सार्वजनिक निष्काशन प्रकृयामा ठूलो फड्को मारी प्राथमिक बजारमा संरचनागत परिर्वतन ल्याउने अपेक्षा गरिएको छ ।
साधारण सेयर आवेदन गर्दा आवेदकको बैंक खातमा माग गरेको सेयर बराबर लाग्ने रकम सेयर बाँडफाँट नभएसम्म रोक्ने प्रणाली नै आश्वा अर्थात एप्लिकेशन सपोर्टेड बाई ब्लक्ड एमाउण्ट प्रणाली हो । यही माघ ९ गते देखि साधारण सेयर जारी गर्न लागेको फरवार्ड माइक्रोफाइनान्सको सेयर आवेदनका क्रममा यो प्रणाली पहिलो पटक कार्यान्वयनमा आउँदैछ । तर यसलाई धितोपत्र बोर्डले अनिवार्य गरेको छैन । पुरानै प्रणालीबाट पनि सेयर आवेदन गर्न सकिन्छ ।
अहिलेको प्रचलित प्रणाली अनुसार साधारण सेयर आवेदन गर्दा सेयर आवेदकले नगद वा आफ्नो खाता भएको बैंकको चेक बुझाउनुपर्ने व्यवस्था छ । तर आस्वा प्रणाली लागू भए पछि आवेदकको बैंक खातामा सेयर आवेदन गरे बराबरको पैसा ब्लक गरिने भए पछि आवेदन फारम मात्र बुझाउँदा हुन्छ । यसरी रोक्का गरिएको रकम फुकुवा नहुन्जेल लगानीकर्ताले चलाउन पाउने छैनन् । तर व्याज भने पाउने छन् । एएसबीए प्रणालीमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थामा निक्षेप रहेका लगानीकर्ताहरूले शेयरमा आवेदन दिंदा शेयर बाँडफाँटपछि आफूलाई शेयर परे बराबरको रकम मात्र निक्षेप खाताबाट सम्बन्धित कम्पनीले लैजाने छ भने बाँकी रकम खातामा नै रहन्छ ।
यो प्रणाली लागू भए पछि आफूले मागे जति शेयर नपरेमा शेयर नपरेको रकम फिर्ता लिन फेरी आवेदन बुझाएको स्थानबाट चेक लिने तथा बैंकमा फेरी चेक जम्मा गर्न जानुपर्ने झण्झटको अन्त्य हुन्छ । यसका साथै शेयर निष्काशन गर्ने कम्पनीको चेक व्यवस्थापनमा हुने खर्च पनि कटौती हुन्छ ।
साथै धितोपत्र बोर्डले आस्वा प्रणाली मार्फत अनलाइन फारम भर्न पाउने व्यवस्था समेत गरेको छ । यो प्रणाली लागू भएपछि डिम्याट खाता र बोर्डबाट आस्वाको अनुमति पाएको बैंकमा खाता भएका नेपाली नागरिकहरुले अनलाइनबाटै प्राथमिक सेयरमा आवेदन गर्न सक्छन् । यो व्यवस्था सुरु भएपछि लगानीकर्ताले आफू रहेको स्थानबाट सेयर लगानी गर्न सक्ने भएकाले आवेदन सेयरमा आवेदन गर्न तोकिएको संकलन केन्द्रहरुमा धाउनुपर्ने बाध्यता पनि हट्ने छ ।
यसरी गर्नुहोस् आवेदन
यो प्रणाली मार्फत सेयरमा लगानी गर्दा नगद चेक बोकेरै जानुपर्ने बाध्यता हुँदैन । आफ्नो खाता भएको बैंकमा गएर सिधै फारम भर्न सकिन्छ । आफुले खरिद गर्न चाहेको सेयर बराबरको रकम बैंक खातामा भने जम्मा भएको हुनुपर्छ । बैंकले आस्बाको निम्न किसिमको फारम तपाईलाई उपलब्ध गराउने छ । उक्त फारम अहिले साधारण सेयर भर्ने फारमभन्दा थोरै मात्र भिन्न छ । फारम भरेर बैंकमा बुझाए पछि लगानीकर्ताले माग गरेको सेयर बराबरको रकम बैंकले खातामै रोक्का गर्छ । सेयर वितरणपछि कति रकमको सेयर पर्छ सोही रकम मात्र लगानीकर्ताको खाताबाट सम्बन्धित कम्पनीको खातामा पठाईन्छ । त्यसपछि खातमा रोक्का भएको रकम पनि खुला गरिन्छ । रोक्का भएको रकम फुकुवा नहुञ्जेल चलाउन पाइदैन । पहिले दुई रुपैंयाको फारम किनेर सेयर भर्ने गरिएकोमा आस्बामा भने बैंकहरुले एउटा आवेदनको एक सय रुपैंया लिने छन् ।
प्रभु बैंकले आस्बामा उपलब्ध गराउने आस्बा फारमको नमुना
अहिले प्राथमिक सेयरमा लगानीका लागि लगानीकर्ता घन्टौ लाइनमा बस्नुपर्ने भएकाले निक्कै झन्झट र दुख ब्योर्होदै आएका छन् । यो व्यवस्था लागु भएपछि त्यस्तो झन्झट हट्ने र लगानीकर्ताले घरमै बसी बसी वा सम्बन्धित बैंकमा गएर सिधै फारम भर्न सक्ने छन् । धेरै स्थानबाट सेयरमा आवेदन गर्न सकिने भएकाले अहिलेको जस्तो थोरै संकलन केन्द्रमा भिडभाडमा लाइन लागेर सेयर आवेदन गर्नु पर्दैन ।
शुक्रबारसम्ममा नेपाल धितोपत्र बोर्डले कुल ३४ वित्तीय संस्थाहरुलाई आस्बा प्रणाली बाट सेयर आवेदन संकलन गर्ने अनुमति दिएको छ । बोर्डका अनुसार ३४ बैंक तथा वित्तीय संस्थाका ७३ जिल्लामा रहेका एक हजार सात सय ६१ शाखाहरुबाट लगानीकर्ताले सेयर आवेदन गर्न सक्ने छन् । बोर्डले आस्बाको अनुमति दिएका कुन बैंकको कति शाखा छन् ? यस्तो छ तथ्यांक ....