बैंंक र बिमाले नाफा बढाउँदा सेयरको भाऊ सस्तिने, लगानीकर्ता आँत्तिएर भाग्ने ?

Feb 13, 2017 Merolagani

तिलक कोइराला

कतिपयले आरोप लगाएको पाईन्छ - मेरोलगानी डटकमले जहिले पनि सकारात्मक कुरा मात्रै लेखेर लगानीकर्तालाई भ्रमित गराईरहेको छ ।
अर्कोले भन्छ- सेयर बजार घट्न थाल्दा सेयर किन भन्छ, किन्दा -किन्दा भए जत्तिको सबै पैसा सकियो, अझै घट्न रोकिएको छैन । बर्बादै भईयो ... आदि ।

हामीमाथि लगाईएको यस्ता आरोपहरु अहिले सेयर बजारमा भईरहेको लगातारको गिरावटपछि अरु बढ्न जानेछन् । तथ्यको परख गर्ने भन्दा पनि अनेक खालका बजारिया हल्लाले लगानीकर्तालाई प्रभावित पार्दा सकारात्मक भन्दा नकारात्मक कुराकै चर्चा बढी छ तर तथ्य भने फरक छ ।

उल्टो अबस्थालाई सुल्टो गरी बुझौ

 

 

बैंक तथा बित्तीय संस्थाहरुले गत बर्ष भन्दा यो बर्ष र अघिल्लो त्रैमास भन्दा दोस्रो त्रैमासमा खुद नाफा बढाईरहेका छन् र कतिपयले त ब्यापक रुपमा पूँजी बृद्धि गरेर पनि प्रतिसेयर आम्दानीमा छलाड. मारेका छन् । यो अबस्था बैंक, बित्तीय संस्था र बिमा कम्पनीहरुमा देखिएको छ । बैंक तथा बित्तीय संस्थाहरुले आक्रामक रुपमा बिस्तार गरेको कर्जा परिचालन हेर्दा तेस्रो त्रैमासमा कसैले नसोचेको प्रगति बिबरण पस्कन बेर छैन, जो लगानीकर्ताहरुका लागि निकै सुखद् खबर बन्नसक्छन् ।

बैंकहरुले लगानी बढाए, निस्क्रिय कर्जा घटाए, सम्पति बेचे, पूँजी बढाए, जगेडा कोष, पूँजी कोष बलियो भयो । बिमा कम्पनीहरुको पनि बिमा शुल्क आर्जन बढ्यो, खुद नाफा बढ्यो, पूँजी बढ्यो, जगेडा कोष बढ्यो, बिमा कोष बढ्यो, प्रति सेयर आम्दानी पनि सन्तुलनमा रह्यो, उत्पादन र सेवा मुलक क्षेत्रका कम्पनीहरुको पनि प्रगति उत्साहप्रद नै देखियो तर सेयर बजारको अबस्था ठ्याक्कै उल्टो किन भयो ?


घटनाक्रम हेरौं, हल्लाबाट सतर्क होऔं

्नेप्से १८८८ मा पुगी १८८१ मा अडिएर झर्न थाल्यो । केही घट्यो अरु घट्छ भनियो । १७०० को बिन्दुमा आईपुग्यो । अब १६०० मा आउँछ भन्ने हल्ला फैलाईयो । त्यसपछि १५०० भन्दा तल झर्छ भनेर हल्ला गर्नेहरुले चर्को स्वर गर्न थाले । कसैले अब १४०० को बिन्दु न्युनतम बिन्दु हो भन्न थाले । १२०० को बिन्दुमा आउँछ भनेर लगातार अफबाह फैलाउनेको त कुरै नगरौ । १३०० को बिन्दुबाट पनि तल आयो । अब अझै तल आउँछ भन्नेहरु बढ्दै गए । अहिले त अब तीन अंकको बिन्दुमा झर्छ भनेर हल्ला गर्न थालिएको छ । यहाँ एक से एक बिज्ञहरु छन्, जो आफ्नो भबिष्य थाहा पाउँदैनन्, सेयर बजारको भबिष्यबाणी गर्छन । बजारमा बर्षौदेखि लागेका र भर्खर प्रबेश गरेका सबै बिश्लेषक बनेर निस्किए । त्यस्ता हल्लावाजहरुको गतिविधिबाट साधारण लगानीकर्ताले आफुलाई सतर्क राख्न र सम्बन्ध बिच्छेद गर्न नसक्नु उनीहरुकै कमजोरी हो ।

कतिपय प्राबिधिक बिश्लेषकहरु पनि यसपटक नराम्ररी फेल भए र पछिल्ला दिनहरुमा उनीहरुले प्राबिधिक बिश्लेषण पस्कनै छाडेका देखिएको छ । नेप्सेलाई कहाँ आधार छ र कहाँ अबरोध छ भन्ने नै उनीहरुले बोल्न छाडेका छन् किनभने केही कुराले पनि काम गरेको छैन ।

हल्ला फैलाउन नियोजित रुपमा लाग्नेहरुको एउटा ठूलो समूह पनि छ । त्यो समूहका एक सदस्यले बजार बढ्दै गर्दा अब नेप्से २५०० पुग्छ भनेर हल्ला फैलायो । नेप्से बढ्दै गएर १३०० को बिन्दु नाघ्दा केही खेलाडीहरुले धमाधम सेयर बेच्न थाले ।१४०० नाघेपछि अरु धेरै सेयर बेचे । १६०० नाघेपछि झन् तीब्र भयो । १८०० कटेपछि त केही नियोजित उद्धेश्य भएकाहरुले आफुसँग भएको सबै सेयर बेचे र अब बजार झर्ने भबिष्यबाणी सुनाउन थाले । कोही नेपालमा भएको सेयर बेचेर अन्र्तराष्ट्रिय सेयर बजारमा लगानी गर्न पैसा गुट्मुट्याएर अष्ट्रेलियातर्फ लागे । कोही भने यहीं बसेर खेल खेलिरहे । अब डेढ बर्षसम्म नेप्से माथि जाँदैन भन्ने हल्ला फैलाएर आफ्नो बिज्ञता पस्कने र लगानीकर्ताकै नेता भएर साधारण लगानीकर्तालाई नै अत्याँउने खेलमा लागिरहे । पछिल्ला दिनमा ठूलो संख्यामा सेयर बिक्रीमा ल्याएर झन् अत्याँसको अबस्था सिर्जना गर्ने काम हुँदै आएको छ, जसको भण्डाफोर मेरोलगानी डटकमले गरिसकेको छ । तर बैंकहरुले कर्जा परिचालन गर्दा गराएको लिखत र सम्झौतालाई बिर्सेर कसैमाथि अनाबश्यक आरोप लगाउनु पनि हुन्न ।

दोष थोपर्ने प्रबृत्ति र गैरजिम्मेवारी

तरलता अभाव र त्यसबाट सिर्जित समस्या हटाउन भन्दा पनि राष्ट्र बैंक र बैंकरहरु एक अर्कालाई दोष दिएर उम्किन खोज्नुले परिस्थितिलाई केही गंभीर बनाएको हो । यसमा सरकार र अर्थ मन्त्रालय त पुरै गैरजिम्मेवार देखिएकै छ । अरु देशमा यस्तो समस्या देखिएको भए तत्काल समाधानको पहल र प्याकेज घोषणा भईसक्ने थियो तर यहाँ त अनाबश्यक त्रास फैलाउनेहरु छाती फुलाएर हिड्दा समेत नियमनकारी निकायहरु हाईसन्चो मानेर बसिरहेका छन् । हाम्रो जस्तो आकारको अर्थतन्त्र भएको देशमा सेयर बजार सूचक झण्डै सात सयले र बजार पूँजीकरण छ खर्बले घट्नु चानचुने कुरा हैन ।

सेयर बजार घट्यो भन्ने चिन्ता हैन, पूँजी बजारमा बल्ल बल्ल हुन लागेको बिस्तार पनि अरु केही समय पछि धकेलियो भन्ने कुरा बढी हो । २०६५ सालमा बजार खस्कदा त्यतिखेर भागेका लगानीकर्ताहरुलाई फेरि बजारमा ल्याउन सात बर्ष लागेको थियो भने यसपल्ट फेरि त्यस्तो नहोस भन्ने गंभीरता पूँजी बजार बिकासको ठेक्का लिएर बसेकामा हुनै पर्दथ्यो । सेयर बजार बढाउने र घटाउने खेल पनि हैन, बजारको स्थायित्वका लागि जिम्मेबारी लिने निकायको दायित्व भित्रैको कुरा हो । 

साधारण लगानीकर्ता नतर्सनुस

बैंक तथा बित्तीय संस्थामा अलिकति कर्जाको माग बढ्दा लगानीयोग्य रकम भएन भनेर छटपटी अबस्था आउनु भनेको अर्थतन्त्र धरासायी हुन लागेको हैन, आर्थिक कृयाकलापको बृद्धि हो भनेर बुझ्न नसक्नुमा नै हाम्रो कमजोरी छ । यस्तो बेलामा त सरकारले तत्काल बिकास खर्च गर, राष्ट्र बैंक मातहतका बैंकहरुलाई चाहिएको रकम जोहो गर भनेर पो लगानीकर्ताले दबाब दिनु पर्ने हो । साधारण सेयर भर्दा पर्ने लागत मूल्य भन्दा पनि तल दोस्रो बजारमा राम्रो कम्पनीको सेयर आईरहेको बेला झन् आँत्तिई बेचेर भाग्दा निश्चित छ भोलि पछुताउनु पर्नेछ । आँत्तिएर सेयर बेच्दा मूल्य तल गई मार्जिन कल आउने संभावना झन् बढी हुन्छ र तपाइँ मात्रै हैन, अरु धेरै लगानीकर्ता थप समस्यामा पर्नसक्छन भन्ने हेक्का राख्नुहोस् । आँत्तिने र अत्याँउने काम गर्दा सेयर बजारलाई तल्लो बिन्दुसम्म ल्याउन खोज्नेलाई अरु सहज हुन्छ ।

नाफा बढाउन बैंकहरुको रणनीतिक मोर्चाबन्दी

अचाक्ली कर्जा लगानी गरेर कर्जा, पूँजी, निक्षेप अनुपात अर्थात सीसीडी खुम्चिएको बहानामा बैंकहरुले सामुहिक रुपमा मुद्धती निक्षेपको ब्याज बढाएका छन् र त्योसँगै सबै खाले कर्जाको ब्याज दर पाँच प्रतिशत भन्दा बढीले बढाएका छन् । उनीहरुसँग रहेको बचत खाताको ब्याज बढेको छैन भने चल्ती खाता र थपिएको पूँजी, जगेडा कोषको ब्याज त तिर्नुपर्ने कुरै रहेन । केही सिमित मात्रामा लिईएको मुद्धती निक्षेपको बहाना बनाएर उनीहरुले कर्जाको ब्याज दर ह्वात्तै बढाएर रणनीतिक खेल खेलेका छन्, जसले तेस्रो त्रैमासमा उनीहरुको खुद नाफामा ब्यापक बढोत्तरी हुने संकेत गर्दछ । ब्याज बढेसँग केही मात्रामा बिमा कम्पनीहरुले बैंकमा राखेको पैसाको ब्याज पनि बढ्ने छ, जसको प्रभाव बिमा कम्पनीहरुको नाफामा देखिने छ ।

कर्जा परिचालन बृद्धिले उनीहरुको निस्क्रिय कर्जा बढ्छ, आम्दानी घट्छ भन्ने भ्रम पाल्नेहरुले पनि स्पष्ट हुनुपर्छ कि डुब्ने गरी कसैले पनि कर्जा दिएका छैनन् । घरजग्गा धितोको ५० प्रतिशत र सेयर धितो कर्जाको ५० प्रतिशत मात्र परिचालन गरेका छन् । पहिलो त्रैमासमै कर्जाको सावाँ ब्याज आएन भने लिलाम बिक्रीको सूचना निकाल्न मिल्ने ब्यवस्थासहित उनीहरुले जोखिम ब्यवस्थापन गरिसकेका छन् । यस्तो अबस्था हुँदै बैंक तथा बित्तीय संस्थाहरु आँत्तिनु पर्ने थिएन । सर्बसाधारणलाई अत्याँउने गरी कर्जाको ब्याज बढाउनु पर्ने थिएन र एक अर्को बैंकमा रहेको मुद्धती निक्षेप तान्न मुद्धतीको ब्याज बढाउने भाले जुधाई पनि गर्नुपर्ने थिएन । बैंकहरु सीसीडी रेसियो नाघ्न लाग्यो, कर्जा दिने पैसा छैन भनेर शान्त बसिदिएको भए पनि हुन्थ्यो ।

गाडी, घरजग्गा, ओभरड्राफ्ट कर्जा धेरै दिएकोमा राष्ट्र बैंकले च्यापेर उत्पादनमुलक क्षेत्रतर्फ कर्जा बढाउन चेतावनी दियो भन्ने हो भने पनि त्यो रातारात हुने कुरा थिएन । सेयर धितो कर्जाले कसैलाई च्यापेकै थिएन । बैंकहरुसँग निक्षेप फिर्ता दिन पर्याप्त तरलता थियो । उनीहरुले बेकारको कोलाहल मच्चाए, जसले सर्वसाधारण लगानीकर्तामा अत्याँस सिर्जना गर्यो ।

सेयर कर्जाले कसलाई डुबाउला ?

सेयर धितो कर्जाले अहिलेसम्म कुनै पनि बैंक डुबेको छैन । बैंक तथा बित्तीय संस्थाहरुको जम्मा कर्जाको २ प्रतिशत अर्थात ३८ अर्ब रुपैयाँले कुनै पनि बैंक डुब्दैन । अहिले सेयर बजारको जम्मा पूँजीकरणको हिसाब गर्ने हो भने पनि सेयर धितो राखेर ऋणबाट किनिएको सेयर निकै कम देखिन्छ । कसैलाई मार्जिन कल गर्दा पनि कर्जा मार्जिन बुझाएन भने भोलिपल्टै बैंकले सेयर बेचेर पैसा असुल गरिहाल्छ । घरजग्गा जस्तो ३५ दिने सूचना निकाल्नुपर्ने, अनेक मुद्धा मामिला झेल्नुपर्ने हुँदै हैन । ब्याज दर बृद्धि र मार्जिन कलको नाममा जत्ति हल्ला फिंजाईएका छन्, आ,आफ्ना स्वार्थहरु जोडिएका छन् । यो स्वार्थको खेलमा साधारण लगानीकर्ता बेकारमा आँत्तिएका हुन् । त्यसमा पनि धेरै सर्बसाधारणले मार्जिन कर्जा लिएकै छैनन् र कतिपय बैंकले मार्जिन कर्जा दिएकै पनि छैनन् । यस्तो अबस्थामा फजुल हल्ला चलाईएको छ, जसको शिकार साना लगानीकर्ताहरु भईरहेका छन् ।

केही जायज कारण पनि छन्

राजनीतिक अन्योल जारी छ । सेयर बजारमा थपिने लगानीकर्ताको संख्या बढ्न रोकिएको मात्रै हैन, ह्वात्तै घटेर गएको छ । अनलाईन ट्रेडिड., सेयर दलालको कार्यालय बिस्तार, गैरआवासीय नेपालीलाई बजारमा प्रबेश गराउने, बजार निर्माताको प्रबेश जस्ता कार्यहरु हुन ढिलाई भएको छ । भारतीय नोट प्रतिबन्धको असर पनि परेकै छ किनभने नेपालको सेयर बजार र बैकिड. क्षेत्रका ब्यक्तिहरु नेपाल र भारत दुबैतर्फ ( इधरका उदर) लगानी गरिरहेका छन् ।

सामुहिक लगानी कोष र संस्थागत लगानीकर्ताहरु सेयर किन्न भन्दा पनि बेचेर आफ्नो कोष बलियो बनाउने ध्याउन्नमा लागे । ठूला खाले एफपीओ, आईपीओ र हकप्रदले सर्बसाधारणसँग भएको रकम सिध्याईदियो र अरु हकप्रद, एफपीओ र आईपीओ आउने छन् जस्ता कारणले बिक्री चाप बढाएको कुरा सत्य हो । राष्ट्र बैंकले चार गुणाले पूँजी बढाउने क्रममा हकप्रद र एफपीओमा सिमा नतोक्दा धेरै दोषी त राष्ट्र बैंक नै हो तर यही मात्रै कारणले बजार तीब्र रुपमा तल झरेको मान्न सकिन्न । तर केही बैंकका प्रबद्र्धक र संस्थापकहरुको भने हकप्रद भर्दाभदै गानो गएको छ र ढाड भाँचिएको छ । उनीहरुलाई राष्ट्र बैंकले मल्हम पट्टी लगाईदेला कि अरु पीडा देला, अहिल्यै केही भन्न सकिन्न । तर धेरै हकप्रद र एफपीओले पछि समस्या ल्याउँछ भनेर मेरोलगानीले पहिल्यै भनेको थियो ।

अर्थतन्त्र र सेयर बजारको मेल हुनैपर्छ ?

सेयर बजार र अर्थतन्त्रको बृद्धिको मेल सधै हुन्छ भन्नु हुँदैन । नेपालको जस्तो सबै कुराको बिकास नभईसकेको देशमा सेयर बजारलाई अर्थतन्त्रको ऐना भन्नु पनि बेकार छ । अझ ईक्रा रेटिड. ग्रेड फोर पाएर साधारण सेयर निकालेको कम्पनीले पहिलो बर्षमै चार सय प्रतिशत हकप्रद निकाल्ने भयो भन्ने हल्लामा मूल्य पनि चार गुणा उचालिएर सेयर किन्ने लगानीकर्ता भएको बजारमा अर्थतन्त्र र सेयर बजारको बृद्धिको मेल खाएन भन्नुको के अर्थ ? बिकशित देशको सेयर बजारमा केही खास घटनाहरु र कम्पनीहरुको बित्तीय अबस्थामा आउने फेरबदलले सेयर बजारको सूचकमा धेरै तलमाथि गर्ने भए पनि यहाँ त हल्ला र बहाना नै काफी हुन्छ । तर याद राख्नुपर्ने कुरा चाँही हाम्रो जस्तो बृद्धि हुँदै गरेको अर्थतन्त्रमा सेयर बजारमा लगानी गर्नेहरुले दीर्घकालमा धेरै कमाउने संभावना छ । अर्थतन्त्रको आकार सरकारले ल्याउने १०, ११ खर्बको औपचारिक बजेटले मात्रै निर्धारण गर्दैन, सयौं आईएनजिओ, हजारौ एनजीओ, बिदेशी कुटनीतिक नियोग, हुण्डी मार्फत भित्रिने अर्बौ रकम, भारतसँगको खुला सिमा, तस्करीको पनि हिसाब निकाल्नैपर्छ ।

अब के गर्ने ?

बैंकहरुले लगानीकर्तालाई अत्याँउने गरी मार्जिन कल गर्ने क्रम बढाउँदा र बजारिया हल्लामा लगानीकर्ता पर्दा पछिल्ला दिनमा नियोजित रुपमा बजार घटाउने रणनीतिकारहरुलाई फाईदा पुगेको छ तर हामी भन्छौ, यस्तो अबस्था अब धेरै दिन रहँदैन । कृत्रिमा रुपमा आकाशमा तयार गरिएको कालो बादल फाटेपछि हल्का बर्षा र घमाईलो हुने नै छ ।

कतिपय लगानीकर्तामा सेयर बजार तल आउँदै गर्दा खरिद नगरी बस्ने र माथि जान थालेपछि किन्न थाल्ने प्रबृत्ति देखिन्छ, जुन घातक हो । कतिपय नयाँ लगानीकर्ताहरु उचालिएर माथि गएपछि मात्र सेयर किन्न आकर्षित हुन्छन्, यसले उनीहरुमा जोखिम बढाउँछ । नयाँ लगानीकर्ता प्रबेश गर्ने भनेकै बजार घटेर तल्लोबिन्दुतर्फ आउँदा हो । माथि जान थालेपछि त नाफा सुरक्षित गरेर बेच्ने हो । यसपटक चाँही उल्टो चालामा बदलाव जरुरी छ ।

धेरै कुरा जान्नै पर्देन, कम्पनीहरुको दोस्रो त्रैमासिक बित्तीय बिबरण राम्ररी अध्ययन गर्नुहोस्, अघिल्ला बित्तीय बिबरणहरुसँग तुलना गर्नुहोस् । सेयर बजारमा कारोबार हेर्नुहोस् । गत बर्षको खुद नाफाबाट १५ प्रतिशत भन्दा माथि बोनस दिएको, मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल रहेको (प्रतिसेयर आम्दानीले हालको सेयर मूल्यलाई भाग गरेर निकाल्ने),  प्रति सेयर आम्दानी २० रुपैयाँ भन्दा माथि रहेको, चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै भएको, प्रति सेयर मूल्य ४०० रुपैयाँ वा सो भन्दा तल रहेको, निस्क्रिय कर्जा २ प्रतिशत भन्दा तल रहेको, ब्यापार बढाउँदै लगेको कम्पनीको सेयर अहिले घटेको मूल्यमा थोरै थोरै किन्दै जानुहोस । एउटै कम्पनीको सेयर हैन, कम्तिमा १० वटा राम्रा कम्पनी छानेर जत्ति बजार घट्छ, उत्ति सेयर किन्नुहोस् ।

नौ महिनापछि धमाधम साधारणसभा हुँदा तपाइँले अबश्य नाफा पाउनु हुनेछ । त्यसभन्दा अगाडि नै सेयरको मूल्य बढ्यो भने बेचेर बीचमै नाफा सुरक्षित गर्न कसैले रोक्न सक्दैन । सेयर बजार सधै घटिरहदैन र बढिरहदैन, माग र आपुर्तिको नियमले चल्छ र घटबढ भई नै रहन्छ ।  अत्यन्त जिम्मेवारीका साथ भनिएको हो । बियरिसपछि बुलिस अबश्य हुन्छ ।

पहिले नै महंगोमा सेयर किनिएको थियो वा सेयर किन्दाकिन्दै पैसा सकियो, अब रित्तो छु भन्नुहुन्छ भने शान्त रहनुहोस् किनभने केही बिग्रिएको छैन । मार्जिन कल आएर हैरान हुनुहुन्छ भने बैंकमा सेयर थप्नुहोस् । आफ्नो आम्दानी र क्षमताले नसके धेरै ऋण लिएर ब्यापारिक हिसाबले सेयर बजारमा लगानी गर्नुहुँदैन रहेछ भन्ने पाठ सिक्दै सेयर बेच्नुहोस् । कमसे कम तपाइँले यसपटक राम्रो शिक्षा लिनुभयो भने राम्रो लगानीकर्ता बन्नुहुनेछ । सेयर बजारमा उतार चढाव आईरहन्छ भन्दै दीर्घकालीन लगानी गर्नुहुनेछ । बिषम अबस्थामा जसले धैर्य लिनसक्छ, उसले दीर्घकालीन लगानीको हिसाबले नेपालको जस्तो बृद्धि हुँदै गरेको सेयर बजारबाट अबश्य कमाउँछ र धनी हुन्छ ।

नोटः स्केच ईन्टरनेटबाट लिईएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।