यस्ता विज्ञको सल्लाहमा सेयर किनबेच गर्नुभयो भने तपाइँको सम्पति स्वाहा हुने निश्चित

Feb 20, 2017 Merolagani

तिलक कोइराला

सेयर बजारको फैलावट, सामाजिक संजाल र अनलाईन मिडियाको बिकासको उपयोग गर्दै अहिले कयौं लगानीकर्ताहरु आफुलाई सेयर बजारको बिश्लेषकको रुपमा प्रस्तुत गरिरहेका छन् । बर्षौदेखि यहाँ लगानी गरेकाहरुले त धाक लगाउने नै भए, केही महिना अगाडि सेयर बजारमा प्रबेश गरेका पनि सेयर बजारका माहिर बिश्लेषक भएर निस्केका छन् । आधारभुत देखि प्राविधिक बिश्लेषक बनेर उनीहरु नयाँ तथा साना लगानीकर्ताहरुलाई अनेक कुरा सुझाईरहेछन् । कतै कच्चा वैद्यको उपचार, परमधामको यात्रा हुने हो कि ?

एउटा अनलाईन मिडियामा एकजनाले आफुलाई लगानीकर्ता तथा बिश्लेषकको रुपमा प्रस्तुत गर्दै लेख्छन् - बजार गिराउने खालका नकारात्मक समाचार अनि सूचनाहरु आउन थाल्यो कि आफूसँग भएको सबै सेयर बेचेर पैसा पोको पारी बजारबाट बाहिरिंदा त्यस्तो बेला जितिने सम्भावना अधिक हुनसक्छ ।.....

यी मित्रले यसरी गरेको बिश्लेषणकै आधारमा चल्ने हो भने सेयर बजारका लगानीकर्ताको पैसा क्षणभरमा गुम्नसक्छ किनभने बजारमा अनेक खालका हल्ला चलाउनेको कुनै कमी छैन । केही ब्यक्तिहरु कसैको प्रतिरुप बनेर हल्ला चलाईरहेका छन् भने केही आफै हल्लाखोर बनिरहेका छन् । ती सबैको एउटै उद्धेश्य हो, सेयर बजारका आम सर्वसाधारण लगानीकर्तालाई त्रसित, अन्योलग्रस्त बनाउनु, बजारलाई आफ्नो चाहना अनुसार डोर्याउनु र फाईदा लुट्नु । 

भेडा बाख्राको बथान नबनौ

धेरै लगानीकर्ता बुझेर, बिश्लेषण गरेर, अनुभव हासिल गरेर, आफ्नो जोखिम ब्यवस्थापन गरेर सेयर बजारमा आएका छन् र उनीहरु परिपक्व भएर लगानी गरिरहेका पनि छन् तर केही लगानीकर्ता यस्ता पनि छन् कि उनीहरु वनमा चराउन लगिएका बाख्रा हुन् जो नऔठौ आवाज सुन्ने बित्तिकै गुटुटु कुँदेर भाग्छन् । झन् बाघको जस्तै आवाज निकालिदिनु पर्छ, भागाभागको सिमा रहन्न ।

केही ब्यक्तिहरु नेपालको सेयर बजारमा हल्ला फैलाउन तलबी कर्मचारी जस्तै बनेर खटिएकै देखिन्छ, जसको मुख्य जिम्मेवारी हुन्छ, आम लगानीकर्ताको आत्मवल कमजोर बनाउनु । सेयर किन्नपर्ने बेलामा किन्नबाट तर्साउनु र बेच्न पर्ने बेलामा बिक्री गर्नु हुँदैन, सेयर बजार निकै माथि पुग्छ भनेर भुल्याउनु र आफ्नो स्वार्थ पुरा गर्नु उनीहरुको जिम्मेवारी तोकिए झै देखिन्छ । अति आशावादी बनाउने र अति निराशाको कुरा गर्न दुबै खेमामा खेतालाहरु खटिएका छन् । जसलाई आम लगानीकर्ताहरुले बेलैमा चिनेर सतर्कता अपनाउन सकेनन् भने ठूलो नोक्सानी ब्यहोर्नुपर्छ । यस्तै बिज्ञको भर परेर बिगतमा हकप्रदको हल्लामा उचालिनेहरुले अहिले गोता खाएकै छन् । 

कोही ठूलो परिमाणमा सेयर बेचेर बसेका छन् र आगामी तीन बर्षसम्म सेयर बजार बढ्दैन भन्दैछन् भने कोही अहिले बजारमा प्रबेश नगर भनेर आम लगानीकर्ताहरुलाई भ्रमित गरिरहेका छन् । बजार जब घटेर तल्लो बिन्दुतर्फ आएको छ भने उनीहरु लगानीकर्तालाई बजारमा प्रबेश नगर किन भनिरहेका छन् ? बजार १८८८ को बिन्दु छोएको बेला उनीहरुले सर्बसाधारण लगानीकर्तालाई सेयर किन्न उक्साएका थिए भने अहिले किन हतोत्साहित गरिरहेका छन् ? बुझ्नुपर्ने कुरा नै यहीँ छ ।

नेप्से कहाँ पुग्ला भन्दै हामीलाई दिनदिनै यस्ता प्रश्न सोध्नेहरुले हैरान पार्छन । आफुले राम्रो कम्पनीको सेयर सस्तोमा किनेर बस्नु छैन, नेप्सेको प्राबिधिक सुचकमै धेरैको चिन्ता हुने गरेको देखिन्छ । उनीहरुलाई हामीले भन्ने गरेका छौ, नेप्से कहाँ पुग्ला भनेर भन्ने हामी ज्योतिष हैनौं, यस्ता प्रश्नहरु आईन्दा नसोध्नुहोस् ।

यस्ता पनि बदमासी छन्

एउटा बैंकले पहिले नयाँ नयाँ र आकर्षक बिज्ञापन गरेर सयौं लगानीकर्तालाई सस्तोमा सेयर धितो कर्जा दियो । अहिले समस्या पर्दा चाँही सेयरकर्जावालहरुलाई दिनदिनै मार्जिन कल गरेर अत्याएन मात्रै सेयरको मार्जिन ५० बाट ४० प्रतिशत बनाएर र मर्जमा गएका कम्पनीको मार्जिन हटाईदिएर लगानीकर्तालाई दोहोरो संकटमा पार्दै आतंक मच्चायो । यो त्रासको अर्को श्रृंखला थियो ।

बजारमा जब अनुभवी, परिपक्व लगानीकर्ताको बाहुल्यता हुँदैन, सेयर बजारमा पूर्णतः अनलाईन कारोबार हुँदैन तबसम्म ५० जना दलाल र उनीहरुलाई गाईड गर्ने केही सिमित संस्थागत र ठूला लगानीकर्ता पर्दा पछाडि बसेर यस्तै खेल खेलिरहन्छन् । ठेकेदारीमा हल्ला गर्नेहरुको त कुनै कमी हुने भएन । यसमा नियमनकारी निकायहरुको सक्रियता, समन्वय र सकारात्मक सोच पनि उत्तिकै महत्वपूर्ण छ ।

अनलाईनहरु लगानीकर्ताप्रति कति जिम्मेवार ?

केही अनलाईनहरु पनि छन्, उनीहरु आम सर्वसाधारण लगानीकर्ताहरुप्रति कुनै जिम्मेवारी र जवाफदेहिता वहन नगरी पुष्टि नभएका र नहुने कुराहरु समाचारको रुपमा पस्केर लाखौलाई भ्रमित बनाउँदैछन् । उनीहरुको त्यस्तो गलत कामको दोष अनलाईन मिडिया भएको कारणले हामीले पनि बोक्नुपर्ने अबस्था आएको छ । तर हामी भन्छौ, खाएको बिष लाग्छ, नखाएको बिष लाग्दैन ।

अहिलेको नेपालको सेयर बजारमा सूचक कहाँ पुग्छ भनेर भन्नसक्ने कोही ब्रम्हज्ञानी बिश्लेषक छैनन् । जसलाई आफ्नै अबस्था एकघण्टापछि के हुन्छ, थाहा छैन, उ समग्र सेयर बजारको भबिष्यबाणी गरेर बसेको छ ।

मेरोलगानी डटकम आम सर्वसाधारण लगानीकर्ताहरुमा अपील गर्दछ,- हामीले लेखेको कुरामा पनि पुरै बिस्वास गरेर  लगानी नगर्नुहोस् । हाम्रो समाचारको हेडलाईन हेरेर सेयर किनबेच नगर्नुहोस् । हामीले लेख्ने कुरा पनि कतिपय अबस्थामा गलत सावित हुनसक्छ, तथ्यसँग जोख्नुहोस् । गलत सावित भएमा हामीलाई भन्नुहोस् ताकि सच्याउन सकियोस । रचनात्मक आलोचना, सुझावहरुको हामी सदैब सम्मान गर्दछौ ।

कालो बादल फाट्दैछ

बजारमा चलाईएका हल्ला, आँत्तिएकाहरुको भागदौड, तरलता अभावको कृत्रिम हल्ला, राजनीतिक अन्योल, हकप्रद, एफपीओको बाढी, नियमनकारी निकायहरुहरुको गैरजिम्मेवारी, लगायतका कुराहरुले सिर्जना गरेको सेयर बजारको कालो बादल अब फाट्ने संकेत देखिएको छ । स्थानीय चुनावको घोषणा, तरलता सहज हुने लगायतका कारणले सेयर बजारलाई आड दिनेछ । बजारमा सुधार देखिन थाल्दा मार्जिन कल आएर थाल खाउँ कि भात खाँउ भएकाहरु पनि राहत महसुस गर्दै होलान् । अब स्थिति बिस्तारै सहज बन्दै जाँदा बजारबाट भागेर कुना पसेकाहरु पनि बिस्तारै फर्कन थाल्दा मााहौल दिनदिनै नौलो हुनसक्छ, त्यसमाथि बजार सुधार तथा बिस्तारका चालु कदमहरु पनि छन् ।


बैंक, बित्तीय संस्था र बिमा कम्पनीहरुले बढाएको कर्जाको ब्याज र बिस्तार गरेको लगानीको फाईदा तेस्रो त्रैमासमा पस्कदा अझै उत्साहपूर्ण माहौल बन्ला भन्ने आशा गर्नु पनि सान्दर्भिक ठहर्छ । केहीलाई छाडेर धेरैको दोस्रो त्रैमासिक प्रतिबेदन त उत्साहप्रद छदैछ ।

सेयरको ब्यापार हैन, दीर्घकालीन लगानी गरौं

हामी आम लगानीकर्ताहरुप्रति जिम्मेवारीबोध गर्दै भन्छौ, सेयर बजार ओरालो लागेर तल्लोबिन्दुतर्फ आईरहेको बेला सेयर किन्ने हो । बजार उकालो लागेर चुचुरोमा पुगेको बेला सेयर किन्ने हैन । आजको भोलि दोब्बर फाईदा गर्ने भनेर सेयर बजारमा प्रबेश गर्ने हैन, दीर्घकालीन लगानी गर्ने हो, त्यो छ महिना वा एक बर्ष देखि तीन, पाँच जत्ति बर्षका लागि पनि हुनसक्छ । सेयर बजार बढेको बेला फाईदा सुरक्षित पनि गर्न सकिन्छ । ब्यापारिक मानसिकता बनाएर आजको भोलि दोब्बर नाफा गर्छु भन्दै सेयर बजारमा प्रबेश गर्नुभयो भने तपाइँ डुब्ने संभावना अघिक छ किनभने तपाइँले सेयर किनेपछि सेयर बजार फेरि तल गएर थाम्नै नसक्ने घाटा हुनसक्छ ।

कतिपय लगानीकर्तामा सेयर बजार तल आउँदै गर्दा खरिद नगरी बस्ने र माथि जान थालेपछि किन्न थाल्ने प्रबृत्ति देखिन्छ, जुन घातक हो । कतिपय नयाँ लगानीकर्ताहरु उचालिएर माथि गएपछि मात्र सेयर किन्न आकर्षित हुन्छन्, यसले उनीहरुमा जोखिम बढाउँछ । नयाँ लगानीकर्ता प्रबेश गर्ने भनेकै बजार घटेर तल्लोबिन्दुतर्फ आउँदा हो । यसपटक चाँही उल्टो चालामा बदलाव जरुरी छ ।

सेयर किन्दा अपनाउन सकिने जोखिमबाट बच्ने उपाय

कम्पनीहरुको दोस्रो त्रैमासिक बित्तीय बिबरण राम्ररी अध्ययन गर्नुहोस् । अघिल्ला बित्तीय बिबरणहरुसँग तुलना गर्नुहोस् । सेयर बजारमा कारोबार हेर्नुहोस् । गत बर्षको खुद नाफाबाट १५ प्रतिशत भन्दा माथि बोनस दिएको, मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल रहेको ९प्रतिसेयर आम्दानीले हालको सेयर मूल्यलाई भाग गरेर निकाल्ने०, प्रति सेयर आम्दानी २० रुपैयाँ भन्दा माथि रहेको, चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै भएको, नेटवर्थ धेरै रहेको, प्रति सेयर मूल्य ४०० रुपैयाँ वा सो भन्दा तल रहेको, निस्क्रिय कर्जा २ प्रतिशत भन्दा तल रहेको, ब्यापार बढाउँदै लगेको कम्पनीको सेयर अहिले घटेको मूल्यमा थोरै थोरै किन्दै जानुहोस । आफुसँग भएको पैसा सबै खर्च गरेर एउटा मात्रै कम्पनीको सेयर एकैपटक किन्नुभयो भने तपाइँ धेरै जोखिममा पर्नुहुनेछ, डुब्न पनि सक्नु हुनेछ ।सेयर किन्दा सबै पैसा एकैपटक खर्च नगर्नुहोस्, राम्रो कम्पनीको सेयर सस्तोमा किन्ने मौका सेयर बजारमा जहिले पनि आईरहन्छ । एउटै कम्पनीको सेयर हैन, कम्तिमा १० वटा राम्रा कम्पनी छानेर जत्ति बजार घट्छ, उत्ति सेयर किन्नुहोस् । खराब कम्पनीहरुको सेयरको भाऊ सस्तो छ भन्दैमा त्यसमा लगानी गर्दै नगर्नुहोस्, त्यस्ता कम्पनीमा सेयर छ भने पनि बेचेर अर्को राम्रो कम्पनीमा लगानी सार्नुहोस् ।

सधैं याद गर्नुपर्ने महत्वपूर्ण कुरा

हामीले भनेका यी कुरालाई कम्तिमा तीन पटक तौलनुहोस् र तपाइँले बिज्ञ ठानेका ब्यक्तिहरुलाई पनि सोध्नुहोस् । अहिले प्राबिधिक बिश्लेषणको हैन, आधारभुत बिश्लेषणलाई बढी भर गर्नुहोस् र सेयर किनबेच गर्दा आफ्नो निर्णय गर्नुहोस् । साधारण सेयर अर्थात आईपीओ लागत मुल्यमै राम्रा कम्पनीको सेयरको भाऊ आएको बेला कम्पनीको आधारभुत पक्ष बढी केलाउनु जरुरी छ । राम्रा कम्पनीको सेयर सस्तोमा किनेर आफ्नो लगानीबाट भबिष्यमा बढी प्रतिफल सुरक्षित गर्ने बेला नै यही हो । हल्लाको पछाडि नलाग्नुहोस्, तथ्य केलाएर सही समयमा सही निर्णय गर्नुहोस् । सेयर बजारमा लगानीबाट घाटा भयो भने अरुलाई दोष दिन पाउनुहुन्न र नाफा भयो भने कसैलाई पनि बाड्न पर्दैन ।

राम्रो, बलियो कम्पनीको सेयर सस्तो मूल्यमा किन्नुहोस, राम्रोसँग समाएर बस्नुहोस् । तर सधै याद राख्नुहोस् सेयर बजार सधै तल गई पनि रहँदैन र सधै माथि चढि पनि रहँदैन । तलमाथि भईरहने नै सेयर बजारको सुन्दरतम पक्ष हो, जसलाई अर्थतन्त्रका आधारभुत कुराहरुमा भएको बदली, ठूलो राजनीतिक तथा प्राकृतिक घटना, माग र आपुर्तिको नियम, लगानीकर्ताको मनोबल लगायतले डोर्याईरहेको हुन्छ ।

स्पष्टिकरणः सबै कुरामा बिज्ञ छु भनेर यी कुराहरु लेखेको नभई जानेको कुरा बाँडेको मात्र हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।