एफपीओ र साना आईपीओमा पैसा खन्याउनु भन्दा दोस्रो बजारबाट सेयर किन्नु धेरै फाईदाजनक

Mar 02, 2017 Merolagani

तिलक कोइराला

केही कम्पनीले निकालेका थप नयाँ साधारण सेयर(एफपीओ) र साना कम्पनीहरुको आईपीओमा धेरै लगानीकर्ताले आफुसँग भएभरको पैसा खन्याएर आबेदन गरे तर त्यसको परिणाम सुखद देखिएन । झण्डै दुई महिनासम्म पैसा फस्नुका साथै गोलाप्रथाबाट सेयर बाँडफाँड हुनु र सेयर पाउनेले पनि लागतै नउठ्ने गरी अति कम सेयर पाउनुले घाटा लागेको गुनासो गर्नेहरु थुप्रै देखिएका छन् ।

एफपीओ जारी गर्ने कम्पनीहरुको प्रिमियमसहितको सेयर मूल्य महंगो हुनु र साना आईपीओ जारी गर्ने जलबिद्युत कम्पनीहरुले चालु आर्थिक बर्षको खुद नाफाबाटै लाभांश बितरण गर्न नसक्ने अबस्था छदैछ । यसरी हेर्दा अहिले दोस्रो बजारमै कारोबार भईरहेका कतिपय कम्पनीहरुको सेयर मुल्य आईपीओ र एफपीओ लागत मूल्य भन्दा तल आईसकेको हुँदा दोस्रो बजारबाटै कम्तिमा १० वटा राम्रा कम्पनी छानेर सस्तो मूल्यमा सेयर किन्नु फाईदाजनक र सुरक्षित हुने देखिएको छ ।

दोस्रो बजारमा कम्पनीको अबस्था केलाउँ

चालु आर्थिक बर्षकै खुद नाफाबाट कम्तिमा १० प्रतिशत लाभांश खान सकिने कम्पनीको सेयर मूल्य १५० रुपैयाँ प्रतिकित्तामा पाईराखिएको छ । २० प्रतिशत लाभांश खान पाईने कम्पनी खोज्ने हो भने २०० देखि ३०० रुपैयाँ प्रतिकित्तामा पाईन्छ । ३०० रुपैयाँदेखि ७०० रुपैयाँ सेयरमूल्य भएका बाणिज्य बैंकको सेयर किन्नु पनि सुरक्षित नै छ । तेब्बर मूल्य घटेर १००० रुपैयाँ भन्दा तल सेयर मूल्य आएका बिमा कम्पनीहरुको सेयरमा लगानी पनि दीर्घकालका लागि सुरक्षित नै छ । पूँजी आधार र गतिला योजनाहरु संचालन गरिरहेको चिलिमे जलबिद्युतको पनि सेयरमूल्य धेरै घटेर तल आएकाले दीर्घकालीन लगानी गर्नेले पछुताउनु पर्दैन ।

के आधारमा यस्तो सल्लाह दिईयो ?

दोस्रो बजारका कम्पनीहरुको अबस्था बिश्लेषण गरेर यस्तो सल्लाह दिईएको हो । कम्पनीहरुको दोस्रो त्रैमासिक बित्तीय बिबरणको अध्ययन गरी यो निश्कर्ष निकालिएको छ । तपाइँ आफैले पनि कम्पनीहरुको दोस्रो त्रैमास र अघिल्ला बित्तीय बिबरणहरु तुलना गर्नसक्नुहुन्छ । सेयर बजारमा कारोबार पनि हेर्नसक्नुहुन्छ । गत बर्षको खुद नाफाबाट १५ प्रतिशत भन्दा माथि बोनस दिएको, मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल रहेको (प्रतिसेयर आम्दानीले हालको सेयर मूल्यलाई भाग गरेर निकाल्ने), प्रति सेयर आम्दानी २० रुपैयाँ भन्दा माथि रहेको, चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै भएको, नेटवर्थ धेरै रहेको, प्रति सेयर मूल्य ४०० रुपैयाँ वा सो भन्दा तल रहेको, निस्क्रिय कर्जा २ प्रतिशत भन्दा तल रहेको, ब्यापार बढाउँदै लगेको कम्पनीको सेयर अहिले घटेको मूल्यमा थोरै थोरै किन्दै जाँदा कुनै जोखिम हुँदैन ।

आफुसँग भएको पैसा सबै खर्च गरेर एउटा मात्रै कम्पनीको सेयर एकैपटक किन्नुभयो भने तपाइँ धेरै जोखिममा पर्नुहुनेछ, डुब्न पनि सक्नु हुनेछ ।सेयर किन्दा सबै पैसा एकैपटक खर्च नगर्नुहोस्, राम्रो कम्पनीको सेयर सस्तोमा किन्ने मौका सेयर बजारमा जहिले पनि आईरहन्छ । एउटै कम्पनीको सेयर हैन, कम्तिमा १० वटा राम्रा कम्पनी छानेर जत्ति बजार घट्छ, उत्ति सेयर किन्नुहोस् । खराब कम्पनीहरुको सेयरको भाऊ सस्तो छ भन्दैमा त्यसमा लगानी गर्दै नगर्नुहोस्, त्यस्ता कम्पनीमा सेयर छ भने पनि बेचेर अर्को राम्रो कम्पनीमा लगानी सार्नुहोस् । तपाइँले किनिरहेको सेयरको भाऊ बढ्न थाल्यो, औधी बढ्यो भने किन्न बन्द गर्नुहोस् किनचने मूल्य उचालिएर सेयर किन्नु हुँदेन ।

स्टान्डर्ड चार्टर्ड र युनाईटेड मोदीमा के गर्ने त ?

स्टान्डर्ड चार्टर्डको एफपीओ मूल्य महंगो भयो, बिदेशी लगानीकर्ताले पैसा बाहिर लैजाने भए भन्ने आक्षेपहरु लगाएर त्यसको सेयर किन्नु नहुने आबाज पनि उठिरहेको छ । कम्पनीले प्रिमियममा थप साधारण सेयर निश्काशन गर्न पाउने कुरा कानुनमै ब्यवस्थित छ र धितोपत्र बोर्डले स्वीकृति दिएको अबस्थामा त्यसलाई अन्यथा भन्न मिल्दैन तर उसको सेयर मूल्य, कम्पनीको कारोबार तथा खुद नाफा कमाईमा बृद्धि, भबिष्यमा दिनसक्ने प्रतिफल र अरु कम्पनीहरुको अबस्था तुलना गर्दा उसको एफपीओमा लगानी गर्दा लगानीकर्ताले सोचे अनुसार फाईदा लिनसक्ने छैनन् । उसको हालको प्रति सेयर आम्दानी, एफपीओ जारी गरेपछि त्यसमा हुने घटाई, यस बर्षको अन्तिममा दिने प्रक्षेपित एक बराबर एक बोनस सेयर, उसको कारोबार बृद्धि, जगेडा कोष, जोखिम ब्यवस्थापनका अन्य उपायहरु, अन्तर्राष्ट्रिय ब्राण्ड सबै कुराको मूल्यांकन गर्दा स्टान्डर्ड चार्टर्डको एफपीओमा लगानी गर्ने पैसाले बरु नेपाल ईन्भेष्टमेन्ट बैंकको सेयर किने बढी प्रतिफल पाउनसकिन्छ ।

युनाईटेड मोदी हाईड्रोपावरको आईपीओमा चाँही के गर्ने भन्ने कुरा पनि सोध्नुहोला । १० मेगावाटको बिद्युत उत्पादन गरिरहेको जलबिद्युत आयोजना भएकाले आउने बर्ष नै लाभांश ख्याउने संभावना कम छ । बजारमा सेयर मूल्य पनि त्यति धेरै माथि नजाला किनभने अरु थुप्रै जलबिद्युत कम्पनीहरु बजारमा सुचिकृत भईसकेका छन् र हालै सेयर जारी गरेका सरकारी  जलबिद्युत उत्पादन तथा बिकास कम्पनीको अबस्थासँग दाँजेर हेर्दा पनि युनाईटेड मोदीमा लगानी कति फाईदाजनक भन्ने थाहा पाउनसकिन्छ । तर यसमा थोरे पैसाको आबेदन गर्दा घाटा नै नहोला भन्न सकिन्छ ।

लिलाममा आएका सेयर लिँदा कसो होला ?

दोस्रो बजारमै सस्तोमा सेयर पाईराखिएको छ भने त्यही कम्पनीको कम्तिमा एक, दुई महिनापछि सुचिकृत हुने हकप्रद सेयरलाई महंगो मूल्य हालेर लिलाम सकार्ने मुर्खता नगर्नुहोस् । सेयर बजारमा आज किनेर पर्सी बेच्न मिल्ने साधारण सेयर नै ४३० रुपैयाँको हाराहारीमा पाईराखिएको छ भने कृषि बिकास बैंकको हकप्रदमा नबिकेको सेयरलाई प्रतिकित्ता ६०१ रुपैयाँ हाल्नु मुर्खता नै थियो । अहिले हकप्रदमा नबिकेको सेयर लिलाममा सकारेपछि त्यो सुचिकृत भएर कम्तिमा दुई महिनापछि मात्र दोस्रो बजारमा बेच्न पाईन्छ भन्ने हेक्का राख्नुहोस् । अहिले पनि जनता बैंक, सेवा बिकास बैंक लगायतका मर्जमा गएका कम्पनीको हकप्रदमा नबिकेका सेयर लिलाममा आएका छन् । एक त सेयर कारोबार बन्द भएको अबस्थामा त्यस कम्पनीको सेयर मूल्य बजार घटाई अनुसार नघटेकोले वास्तविक सेयर मुल्य थाहा पाउन सकिने अबस्था छैन भने मर्ज सकिएर कहिले कारोबार खुल्ला त्यो पनि भन्न सकिन्न । फेरि उनीहरुले जारी गरेको बोनस सेयरको मूूल्य समायोजन हुनै बाँकी छ । यसरी हेर्दा निकै सस्तोमा मात्रै लिलाम सकार्नुपर्छ ।

हेक्का राख्नुपर्ने अर्को कुरा

धेरै कम्पनीहरुले हकप्रद र एफपीओ ल्याउने क्रम तीब्र पारेका छन् । कम्तिमा ७५ अर्बको एफपीओ र हकप्रद आउँदा धेरै लगानीकर्ताले त्यसका लागि रकम जोहो गर्ने हुँदा दोस्रो बजारमा मार पर्नसक्छ । अरु धेरै कम्पनीका हकप्रदमा नबिकेका सेयरहरु पनि लिलाममा आउँदैछन् ।  धेरै हकप्रद ल्याउने कम्पनीको सेयर उचालिएर किन्ने मुर्खता नगर्नुहोस् । हकप्रदको मूल्य समायोजन भएपछि झन् सस्तोमा दोस्रो बजारमा सेयर किन्न पाईन्छ । हकप्रद समायोजन गर्दा प्रति सेयर आम्दानी ह्वात्तै घटेर जाने गर्दछ र अघिल्लो बर्ष पाएको दरको प्रतिफल यस बर्ष नपाउन सकिन्छ । 

 स्थानीय निर्वाचन, तरलता संकट समाधान हुने लगायतका कारणले सेयर बजारमा अब कस्तो प्रभाव पर्छ भन्ने कुरा यकिन गरेर भन्न सकिन्न । सेयर बजार तल झरेर सेयर सस्तिएको बेलामा लगानी गर्ने मौका भने गुमाउनुहुन्न । राम्रा कम्पनीको सेयर किन्ने नै बजार घटेको बेलामा हो, बजार बढेको बेलामा त सेयर बेच्ने हो । दीर्घकाालीन लगानी गर्नेले बढेको बेलामा पनि बेच्नै पर्छ भन्ने छैन । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।