नेपाल लाईफको एफपीओ र फरवार्डको आईपीओबाट फर्किने ५५ अर्ब कहाँ लगानी गर्ने ?

Mar 08, 2017 Merolagani


तिलक कोइराला
 नेपाल लाईफ(NLIC)को थप नयाँ साधारण सेयर (एफपीओ) र फरवार्ड लघुवित्तको साधारण सेयर (आईपीओ) आबेदनमा सेयर नपरेको पैसा आगामी सातासम्ममा सम्बन्धित लगानीकर्ताको खातामा फर्किने निश्चित भएको छ । लगभग ५५ अर्ब रुपैयाँ लगानीकर्ताको हातमा पर्दा त्यो पैसा दोस्रो बजारमै फर्केला कि अन्तै जाला ? धेरैको चासोको बिषय बनेको पाईएको छ ।

नेपाल लाईफको एफपीओ र फरवार्डको आईपीओमा उचालिएर धेरै रकम फसाउनेहरुले कस्तो प्रतिफल पाए भन्ने कुरा जगजाहेर भईसकेको छ । त्यस्तो अबस्थामा चैत्र १ गतेदेखि बिक्रीमा आउन लागेको स्टान्डर्ड चार्टर्ड(SCB)को २५ लाख कित्ता एफपीओमा कति आवेदन पर्ला भन्ने कुरालाई आधार बनाएर पैसा कता जाला भन्ने आँकलन गर्नु उचित नहुने देखिन्छ । यसमा हालै साधारण सेयर जारी गरेको युनाईटेड मोदीको सेयरमा कतिले आवेदन गरे भन्ने कुरा पनि धेरै चासोको बिषय रहेन ।

कृषि बिकास बैंकको हकप्रदमा नबिकेको सेयरमा आवेदन गरी सेयर नपरेको पैसा पनि लगानीकर्ताले पाउँदै छन् । झण्डै दुई अर्ब रुपैयाँ यसबाट पनि लगानीकर्ताको खातामा फर्कदै छ ।


नेपाल लाईफको एफपीओ र फरवार्डको आईपीओमा ठूलो लगानी गर्ने धेरैले बैंक, बित्तीय संस्थाबाट कर्जा लिएरै आवेदन गरेका पाईएको छ । बैंक र बित्तीय संस्थाबाट कर्जा पाउन नसकेपछि सहकारीबाट पैसा ल्याएर आवेदन गर्नेहरु पनि उत्तिकै रहे । कतिपय सहकारीहरुले समेत आफ्ना पदाधिकारी तथा सदस्यहरुको नाममा कर्जा प्रबाहको कागज बनाएर दुबै कम्पनीका सेयरमा ठूलो आवेदन गरेका थिए । यसरी हेर्दा सहकारीको रकम पुनः सहकारीमै फर्किने छ । बैंकहरुबाट ओभरड्राफ्ट कर्जा लिएर नेपाल लाईफको एफपीओमा लगानी गरेकाहरुले पनि चर्को ब्याज दरबाट मुक्ति पाउन बैंकमै पैसा फर्काउने संभावना छ । ३० कित्ताका दरले आबेदन गरेका धेरै ब्यक्तिगत लगानीकर्ताको खातामै पैसा फर्किदा केहीले त्यो रकम दोस्रो बजारमै परिचालन गर्नसक्ने संभावना छ । केहीले आर्थिक अभाव टार्न र घर खर्च गर्न त्यो पैसा प्रयोग गर्लान् ।

स्टान्डर्ड चार्टर्डको एफपीओमा नेपाल लाईफमा जस्तो पैसा ओईरेला भनेर अहिल्यै अनुमान गर्नसक्ने आधारहरु अत्यन्त कमजोर छन् । नेपाल लाईफको एफपीओमा आबेदन गरेर सेयर पारेकाहरुको हिसाब गर्दा प्रतिकित्ता २००० रुपैयाँ लागत मूल्य परेको अबस्था छ भने सेयर परेका वा नपरेका धेरैले बेकारमा आवेदन गरिएछ भनेर मुखै कालो बनाएका छन् । स्टान्डर्ड चार्टर्डको एफपीओमा पनि आबश्यकता भन्दा बढी आबेदन पर्दा हुने गोलाप्रथा नै हो । दोस्रो बजारमै सस्तोमा सेयर पाईरहेको बेला स्टान्डर्ड चार्टर्डको एफपीओ भन्दा दोस्रो बजार नै ठीक भन्नेहरु बढ्न थालेका छन् ।

अहिले नै दोस्रो बजारमा १९०० रुपैयाँ नजिक स्टान्डर्ड चार्टर्डको सेयर पाईरहेको बेला कसले एफपीओमा मारामारी गरेर लगानी गर्ने भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ । अन्तर्राष्ट्रिय ब्राण्ड छ, चालु आर्थिक बर्षको खुद नाफा र एफपीओको प्रिमियमबाट शतप्रतिशत बोनस सेयर दिन्छ भन्ने आश हो भने पनि त्यो बेकारको आश हुनेछ । अहिले साढे ३९ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको उसको एफपीओ र शतप्रतिशत बोनसपछि प्रतिसेयर आम्दानी कतिमा खुम्चेला ? कारोबार र खुद नाफा बढाएको अबस्थामा बढीमा २० रुपैयाँसम्म हुनेछ । रातारात उसको कमाई दोब्बर भएर जान्छ कसैले भन्न सक्दैन । आठ अर्ब पुगेपछि उसले दिने थोरै बोनस र धेरै नगद लाभांश नै हो किनभने बिदेशी लगानी भएकाले उनीहरुले एकोहोरो लगानी बढाउने भन्दा पनि नाफा लैजान नै बल गर्नेछन् । एफपीओपछि बजारमा आउने साधारण सेयरको संख्या बढ्ने हुँदा माग र आपुर्तिको नियमले पनि सेयर मूल्यलाई झल झार्न भुमिका खेल्नसक्छ । यसरी हेर्दा २० रुपैयाँ प्रतिसेयर आम्दानी भएको कम्पनीलाई बढीमा कति रुपैयाँ मूल्य तिर्ने, ५०० रुपैयाँ ? बिदेशी लोकप्रिय ब्राण्डका लागि १०० रुपैयाँ बढी मूल्य तिर्ने हो भने अहिले नै नेपाल ईन्भेष्टमेन्ट बैंकको सेयर किने भईहाल्यो  । ३७ रुपैयाँ हाराहारीमा प्रतिसेयर आम्दानी, चुक्ता पूँजी भन्दा जगेडा कोष बलियो, कोषमा पर्याप्त मात्रामा बाड्न मिल्ने रकम र बिस्तारित निक्षेप तथा लगानी छ । १० अर्ब रुपैयाँ नै कतै फस्यो भने पनि उ समस्यामा पर्दैन ।
 
एफपीओ निश्काशन गर्न पाउनु कुनै पनि कम्पनीको अधिकार हो, यसमा कसैले चुनौति दिन सक्दैन । स्टान्डर्ड चार्टर्ड र धितोपत्र बोर्डप्रति लगाईएको आक्षेपलाई उचित मान्न सकिन्न । उनीहरुले निर्धारण गरेको मूल्य उचित भएन भन्नेहरुले यसमा आवेदन नदिएर प्रतिक्रिया जनाउँन पाउँछन् । उनीहरुका लागि यो रचनात्मक बिरोध जनाउने एउटा अवसर पनि हो ।

यी कुराहरु सबैले पढ्छन् र मनन् गर्छन वा गनुपर्छ भन्ने ठेक्का कसैले लिनसक्दैन तर जसले अहिले मनन् गर्नेछन् पछि परिणाम आउँदा मूल्यांकनको एउटा आधार बन्नसक्छ । नेपाल लाईफ र फरवार्डको आबेदनमा लगानीकर्ताले धेरै रकम फसाएपछि नै बित्त बजारमा तरलता अभाव चर्काएको थियो । त्यसको पुनराबृत्ति स्टान्डर्ड चार्टर्डले गर्नुहुँदैन भन्नेमा पनि जोड हो । 


यहाँ बढी जोड गर्न खोजिएको कुरा नेपाल लाईफ र फरवार्डमा जस्तो पैसा स्टान्डर्ड चार्टर्डमा नखन्याउनुहोस् भन्ने नै हो । यी दुई कम्पनीको सेयर आबेदनबाट फर्किने पैसा बरु दोस्रो बजारका १० वटा राम्रा कम्पनीका सेयर छानेर लगानी गरेमा फाईदा हुनेछ । दोस्रो बजार घटेर तल आएको बेला छानी छानी राम्रा कम्पनीमा लगानी गरेर भबिष्यका लागि फाईदा सुरक्षित गर्ने अवसर गुम्न नदिन लगानीकर्ताले सुझबुझपूर्ण निर्णय लिनु आबश्यक छ ।

हकप्रदमा नबिकेका अरु कम्पनीका सेयरहरु पनि धमाधम लिलाममा आईरहेका छन् । मूल्य उचालिएर हैन, बजारमूल्य भन्दा २० प्रतिशत सस्तोमै यस्ता सेयरहरु उठाउने अवसरहरु पनि लगानीकर्ताले पाईरहेका छन् ।

ठूला सेयर ओबदनमा फसेको पैसा धमाधम फर्किन थाल्दा बैंक, बित्तीय संस्था, सहकारी र ब्यक्तिगत लगानीकर्तालाई परेको तरलता अभावको समस्या पनि स्वभाविक रुपमा सहज भएर जानेछ । बैंकहरुमा पैसा बढ्न थालेपछि केही बैंकहरुले अहिले नैै चर्को ब्याज दरमा बहुबर्षीय मुद्धती लिन बन्द गरिसकेका छन् । यसले ब्याजदरलाई अब झार्न भुमिका खेल्नसक्छ ।   घरजग्गा र गाडी कर्जामा लागेको आंशिक छेकेबारले पनि पैसा पूँजी बजारतिरै फर्किने संकेत गर्दछ । स्थानीय चुनावी रन्को र सरकारी खर्च बढ्दा त्यसले पनि बित्त बजारलाई चलायमान बनाउने धेरै संभावना छन् । छिटफुट घटनाले राजनीति तथा अर्थतन्त्रलाई प्रभावित पारिरहने अर्कै कुरा हो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।