धेरै "लाहुरे" राष्ट्रवादी नेपालीहरु विदेशमा छन्, यता देश बर्बाद !

Jul 29, 2017 Merolagani

तिलक कोइराला

सामाजिक संजालमा हेर्ने हो भने चर्का कुरा गर्ने धेरै राष्ट्रवादी नेपालीहरु बिदेशमा छन् भन्ने देखिन्छ । नेपालको बारेमा कुनै घटना वा विचार सार्वजनिक हुने बित्तिकै सबैभन्दा पहिले सामाजिक संजालमा प्रतिक्रिया जनाउनेहरु मध्येमा तिनै बिदेशमा बस्ने नेपालीहरु नै हुन्छन् । प्रतिक्रिया हेर्दा सबैभन्दा खरो राष्ट्रवादी तिनीहरु नै हुन भन्ने देखिन्छ ।

बाग्लुङ बजारदेखि उत्तर तर्फको स्केच

आफु बिदेशमा बसेर फेसबुक र ट्विटरमा ब्यक्त गरिने राष्ट्रवादी भावनाले मात्रै अब राष्ट्रियता जोगिनेवाला छैन । सामाजिक संजालमा चर्का गाली गरेर मात्रै हाम्रां छिमेकीहरुले हामीलाई लुछ्न बन्द गर्नेवाला छैनन् । भित्रभित्रै खोक्रो बनिरहेको राष्ट्रिय अर्थतन्त्र भरिनेवाला छैन, उल्टै रित्तिने अबस्थातिर गएको छ ।

बिदेशमा बस्नेहरुले भन्लान् कि हामीले कमाएर नपठाएको भए के खान्थ्यौं ? युरोप, जापान, कोरिया र भारतबाट भित्र्याईएको गाडी र अरबबाट लगिएको तेल हालेर कसरी गाडी चढ्थ्यौ ? भारतले त्यत्रो नाकाबन्दी लगाउँदा कसरी टिक्थ्यौ ? त्यत्रो भुकम्प आउँदा कसरी टिक्न सक्थ्यौ ? काठमाडौ र शहरी क्षेत्रमा बनाईएका अग्ला घरमा कसरी बस्न पाउँथ्र्यौ ? आफ्नो देशमा सिलाउने सियो, दिसा धुने कागज र लाज ढाक्ने एक टुक्रा कपडा उत्पादन नहुँदा कसरी शान सौकतले हिड्न पाउँथ्यौं ? कसरी आफ्ना नानीहरुहरुलाई महंगा बोर्डिङ स्कुलहरुमा पढाउन सक्थ्यौं ?

खासगरी मलेशिया र खाडी देशमा गएका नेपालीहरुले माथिका प्रश्नहरु उठाएका हुन् भने उनीहरुको भनाई जायज हो किनभने देशमा रेमिट्यान्स पठाउने उनीहरु नै हुन् । उनीहरुले ५० डिग्रीको तातो घाममा रगत पसिना बगाएर  पैसा नपठाएको भए यो देश उहिल्यै टाट पल्टिईसक्थ्यो । युरोप, अमेरिका, अष्टेलिया गएकाहरुले माथिका प्रश्नहरु गरेका हुन् भने त्यो सरासर गलत हो किनभने ती देशहरुमा गएका धेरै नेपालीले देशमा रकम पठाउने भन्दा पनि यतैबाट रकम लैजान्छन् ।

म बस्ने क्षेत्र अनामनगर र घट्टेकुलोका घरधनीहरुको आँकडा केलाउने हो भने सरदर ५० प्रतिशत घरधनीहरु अष्ट्रेलिया, युरोप र अमेरिका तिर छन् । बाँकी रहेका ५० प्रतिशत मध्येका पनि कसैका छोरा छोरी अमेरिका  त कसैका अष्ट्रेलिया र युरोप । उनीहरुलाई पनि छोराछोरीले उत्तै बोलाईरहेका छन् । घर बेचेर यतै आउनुपर्यो, यहाँ नाती नातिना हेर्ने कोही भएन, एउटा बंगाला किन्नुपर्यो, गाडी किन्नुपर्यो......., अनेकथरी बहानामा आफ्ना बाबुआमालाई बोलाउनेहरु छन् । कतिपयले छोराछोरीको आग्रह टार्न आफु नगएपनि यतैबाट पैसा पठाईरहेका छन् । सपरिवार बिदेश गएका घरबेटीलाई घरबहालमा बस्नेहरुले पैसा पठाईरहेका छन् । यसरी हेर्दा काठमाडौको मुख्य शहरी क्षेत्रमा ३० प्रतिशत घरधनीहरु बिदेशमा छन् वा उनीहरुका आफन्तहरु बिदेशमा छन् ।

न्युरोड, दरबारमार्ग, नक्साल, बालुवाटार, सानेपा, बुढानीलकण्ठ जस्ता ब्यापारिक तथा आवासीय क्षेत्रका रैथानेहरुले पनि भटाभट आफ्नो सम्पति बेचेर अर्कैलाई जिम्मा लगाएका छन् । ती क्षेत्रहरुमा नयाँ नेपाली (?) हरुको बाहुल्यता बढ्दै गएको छ । मुख्य ब्यापारिक क्षेत्रबाट काठमाडौका रैथाने नेवारहरु लगभग विस्थापनको चरणमा छन् । उनीहरुको ठाउँ क्रमशः नयाँ नेपाली (?) ले लिदैछन् ।

अरु शहरी क्षेत्रमा पनि काठमाडौ उपत्यकाकै जस्तो अबस्था छ । शहरका युवायुवति युरोप, अमेरिका, अष्ट्रेलिया र ग्रामिण क्षेत्रका युवाहरु मलेशिया र खाडीतिर ।शहरी क्षेत्रका धेरैले पैसा बिदेश लैजाने, ग्रामिण क्षेत्रकाले कमाएर स्वदेश पठाउने ।

गाउँमा अलि - अलि बाँकी रहेको जनसंख्या पनि ज्येष्ठ नागरिक, बालबालिका र घरधन्दामा समय ब्यतित गर्नुपर्ने महिलाको बाहुल्यता छ । केही पुरुषहरु पनि छन् तर जाँड खाने र तास खेल्दामै समय बित्छ । उत्पादनको मोर्चा कसले सम्हाल्ने ? 

आन्तरिक उत्पादन सुन्यतातिर गईरहेको छ । काठमाडौको कालिमाटी बजारमा उपलब्ध तरकारी मध्ये ५० प्रतिशत भन्दा बढी भारतीय र चिनियाँ हुन् । नेपाली उत्पादनमा साग, मुला, गाँजर, सिमी, भेण्टा, बोडी, बन्दा, केही गोलभेडा र अरु केही हरियो तरकारी हुन् बाँकी सबै भारतीय र चिनियाँ हुन्छ्न । प्याज, लसुन, आलु, काउली सुकेको र हरियो खुर्सानी जस्ता बस्तुहरु ९५ प्रतिशत बिदेशी हुन् । ती चिज बिदेशबाट आएन भने हाहाकार नै हून्छ । 

बल्खुको फलफूल बजारमा फलफूलको अबस्था बिचार गर्ने हो भने ९५ प्रतिशत भारतीय, चिनियाँ र अरु तेस्रो देशबाट आयात गरिएका हुन् । आँपको सिजनमा केही आँप नेपाली हुने भए पनि हाम्रो देशमा युरोप, अमेरिका र जापानबाट ल्याईएका फलफूल उपभोग भईरहेको छ ।

खाद्यान्नको कुरा गर्ने हो भने अधिकांश चामल भारतीय हो भने दालहरुमा बर्मा, युरोपबाट ल्याईएका मास, मुसुरो अन्य गेडागुडी नेपालीहरुले खाईरहेका छन् ।

मासुको कुरा गर्दा कुखुराको मासु र अण्डामा राष्ट्रिय उत्पादनले धाने पनि खसी र राँगाको मासु, माछाका लागि दैनिक करोडौ रुपैया बिदेशिन्छ । 

गत बर्ष नेपालको राष्ट्रिय बजेट १० खर्ब ४८ अर्बको थियो तर त्यो भन्दा बढी रकम बराबरको आयात भईदियो । विदेशबाट हामीले पैसा पठाएको छौ भनेर गर्व गरेर मात्र के गर्नु आउने भन्दा जाने रकम बढी भएपछि । हाम्रा नेपाली दाजुभाईले बिदेशबाट कमाएर पठाएको भन्दा धेरै रकम यहाँ काम गर्न आउने भारतीय कामदारले लिएर गए । भारतले रेमिट्यान्स प्राप्त गर्ने मुलुकहरुमा नेपाल तेस्रो भएको छ । अब यसमा हामीले गर्व गर्ने कि धुरुधुरु रुने ? जबकि हाम्रा लाखौं दाजुभाई, दिदीबहिनी भारतमै कष्टकर श्रम गर्दैछन् ।

कृषि प्रधान देश नेपालका खेत बारी बाँझै भएर बिदेशबाट खाद्यान्न आयात गरी जीवन निर्वाह गर्नुपरेको छ भने अबश्य पनि आत्मनिर्भर कृषि अर्थतन्त्रको नारा हावादारी सावित भएकै मान्नुपर्छ । आन्तरिक उत्पादन बढाउन प्रबिधिको कुरा छाडौ, पर्याप्त जनशक्ति समेत नहुँदा आफ्नै माटोमा केही गर्न खोज्नेहरु थाल खाउँ कि भात खाउँको अबस्थामा पुगेका छन् ।

४५ बर्ष अघि कोरियामा भोकमरी लाग्दा नेपालले दक्षिण कोरियालाई खाद्यान्न् सहयोग गरेको रहेछ । त्यो सम्झेर अहिले पनि कयौं कोरियालीहरुले नेपाललाई दुख सुखको साथी भन्दै मायाँ गर्छन तर हिजोको त्यो नेपाल आफै अरु देशसँग खाद्यान्न सहयोग माग्नुपर्ने अबस्थामा पुगेको छ । 

सबैभन्दा ठूलो संकट निर्माणको क्षेत्रमा छ । दक्ष निर्माण जनशक्ति नभएकाले भुकम्पपछिको पुनर्निमाण नै अघि बढ्न सकेको छैन । शहरी क्षेत्रमा हुने निर्माणको काम गर्न भारतीय मिस्त्री र मजदुरकै भरपर्नु परेको छ । दैनिक चर्को ज्याला दिँदा पनि काम गर्ने मान्छे पाउन मुस्किल छ । 

हामीले अहिले आन्तरिक उत्पादन बढाएको भनेको सिमेन्ट मात्रै उल्लेखनीय मात्रामा हो त्यसको क्लिंकर पनि बिदेशबाटै आउँछ । 

बिस्तारै अर्थतन्त्रमा पनि अरुको पकड कायम भईसक्न लागेको छ । धेरै बैंक, बित्तीय संस्था, बीमा कम्पनी र सेयर बजार कसको कब्जामा छ ? भोलि त्यो बर्गले दायाँ बायाँ गरिदियो भने त्यसपछि आउने संकट कसले टार्ने ? 

उच्च शिक्षाको नाममा प्लस टु सकेकाहरु दिनदिनै बिदेशिने क्रम बढ्दो छ । यृुरोप, अमेरिका, अष्ट्रेलिया जाने तिनीहरु मध्ये ५० प्रतिशत स्थायी रुपमा उतै बस्ने खालका हुन्छन् । मसिन जस्तै काममा दलिएर उनीहरु उतैको जीवनशैलीमा अभ्यस्त हुँदा नेपाल फर्किन चाहेर पनि सक्दैनन् ।

एकजना मित्रले गत बर्षको दशैमा अमेरिकाबाट नेपाल आउन गरिएको आग्रहको प्रतिउत्तरमा लेखेका थिए- नेपाल जान २० हजार डलर खर्च लाग्छ, त्यो पैसाले बरु यतै कुनै व्यवसाय गरे मज्जाले जम्न सकिन्छ ।

उनले यसपालि त श्रीमति, छोराछोरीसहित आफ्ना सबै परिवार उतै लगेछन् । संभवतः अब २० हजार डलर जोगाउने भए होलान् !

नेपाल लाहुरेहरुको देश हो भन्नेहरु पनि छन् । आफैले आफ्नो देशमा केही नगर्ने तर मुग्लानमा गएर दरबान र कुल्ली बन्नुपरे पनि, मरुमुभीमा युद्ध लड्नु परे पनि अर्कैका लागि मरिहत्ते गर्ने जात हो भनेर केहीले भन्ने गरेका छन् । पहिले पनि यहाँ उत्पादन बढाउनु भन्दा भोट (अहिलेको तिब्बत)मा गएर ब्यापार गर्थे भनिन्छ । हामीले पहिले जे गर्यौं, जे गरिरहेका छौं, त्यही गर्नुपर्छ भन्ने कि मुलुकको आबश्यकतामा ध्यान दिने भन्ने मुख्य कुरा हो ।

नेपालमा शीप भएका र काम गर्ने जनशक्तिको चरम अभाव भईरहँदा युवायुवतीहरुलाई यहीं काम गराउन राज्यले बिशेष नीति अबलम्बन गर्नुपर्ने हो । तर सुरक्षा र प्रोत्साहन नहुँदा युवाबर्गमा पलायन बढ्दो छ । यही उत्पादन र ब्यवसाय गरेर बस्न कोही पनि चाँहदैन । बिदेशिने सबैले भन्छन् - वातावरण नै छैन ।

बिदेशबाट पैसा कमाएर ल्याए पनि घरजग्गा नै जोड्नुपर्ने, गाडी नै किन्नुपर्ने र मोजमस्ती गरेरै पैसा सकिने भएपछि त्यसले आन्तरिक उत्पादनलाई एक ईन्च पनि बढाउन सहयोग गर्दैन । अहिले भईरहेको त्यही हो - रेट्यिान्स अनुत्पादन र उपभोगमै सकिन्छ । 

यहाँ आफैले खाएको थाल माझ्न नचाहनेहरु बिदेश गएर आफै अटाउने कराही माझ्न, शौचालय सफा गर्न, बुढाबुढीको दिसापिसाव सोहोरेर स्याहार गर्न (जसलाई अर्को शब्दमा केयर गिभर भन्ने गरिन्छ), सडक बढार्न, बिमानस्थलमा सामान बोक्न, मसान घाटमा लास गाड्न, मरुभुमिका उँट र गाई चराउन, तातो घाममा सडक खन्न, गगनचुम्बी भवनहरुमा तुर्लुङ्ग झुण्डिएर रंग लगाउन, सडकमा कफी र आईसक्रिम बेच्न मरिहत्ते गरिरहेका हुन्छन् । यस्ता काम गरे पनि सामाजिक संजालमा भने आफुले काम गरेको फोटो उनीहरुले हालेको पाईन्न । आफ्नो देश बर्बाद भए पनि अरुको देश बनाउन गरेको मेहनत त देखाए हुने नि !

याद राख्नुहोस् तपाइँ विदेशमै रमाईरहे पनि तपाइँको थाप्लोमा २४ हजार रुपैयाँ राष्ट्र ऋण छ । 

बैदेशिक रोजगारीमा जानु अपराध हैन, धेरैको बाध्यता हो ।  बिदेशमा काम गरेर नेपाल पैसा पठाउने तपाइँहरु धेरै महान हुनुहुन्छ । युरोप, अमेरिका र अष्ट्रेलियामा रहनुभएका धेरै नेपालीलाई  पनि साँच्चै यो देशको मायाँ छ  ।  तर सधैं अर्काको देशमा रगत पसिना बगाएर आफ्नो देश उभो लाग्दैन  ।  साइँलीलाई सम्बोधन गर्दै एउटा गीतमा भने जस्तै  चालिस कटेपछि मात्र मोज गर्न नेपाल फर्किने हैन ।

विदेशीले नेपालमा धेरै संभावना देख्छन् तर हामी नेपालीहरु विना हराएको कस्तुरी जस्तै विश्भरि भौतारिईरहेका छौं । जलबिद्युत, पर्यटन, कृषि, पशुपालन, जडिबुटी, खानी र अरु क्षेत्रहरुमा लगानी र रोजगारीको ब्यापक संभावनाहरु छन् । 

बाध्यता वा लहडमा बिदेशिएका सच्चा राष्ट्रवादी नेपालीहरु स्वदेश फर्किएर राष्ट्रिय अर्थतन्त्र बलियो नबनाएसम्म यो देश बन्दैन । सवाल यत्ति हो - देश बर्बाद भईसकेपछि फर्किएर पछुताऊ मान्ने कि अहिल्यै फर्किएर देश निर्माणको मोर्चा सम्हाल्ने ? नेपालका नेता र कर्मचारी खराब छन् भनेर धारे हात लाएर बस्ने हैन, अब ठीक पार्न कहिले तपाइँ स्वदेश फर्किने ? 

-बिदेशिएका नेपालीको भावनामा ठेस पुयाउनु यस लेखको उद्धेश्य हैन, स्वदेश फर्किन उत्पेरित गर्नु मुख्य कुरा हो । 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।