ढुक्क भएर राम्रो कम्पनीको सस्तो सेयरमा लगानी गर्ने यही हो बेला

Jul 30, 2017 Merolagani

तिलक कोइराला 

सेयर बजारका लगानीकर्ताहरुका बीचमा कुन बेला सेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर छलफलहरु चलिरहेका पाईन्छ । कतिपय लगानीकर्ताहरु सेयर बजार औधी बढेको बेला सेयर किन्न हौसिन्छन् भने सेयर बजार डरलाग्दो किसिमले घटेको बेला सेयर किन्न खोज्ने लगानीकर्ताहरु कमै हुन्छन् । सेयर बजार औसत रुपमा स्थिर जस्तै रहेको बेलामा सेयर किन्नेहरु पनि हुन्छन् । कुन बेला सेयर किन्नु चाँही ठीक हो त ?

 

सबै किसिमले बिचार गर्दा सेयर किन्ने बेला अहिले नै हो । कम्पनीहरुले गत आर्थिक बर्षको बित्तीय बिबरण धमाधम प्रकाशित गरिरहेको बला उनीहरुको कमाई र लाभांशको आँकलन गर्दै राम्रा कम्पनीको सस्तो सेयर किनेर सुरक्षित हुने  अहिले नै हो ।

अहिले सेयर बजारमा प्रबेश गरी आठ सय रुपैयाँसम्म सेयर मूल्य भएका र कम्तिमा १५ प्रतिशत भन्दामाथि बोनस सेयर दिनसक्ने बाणिज्य बैंकहरुको सेयरमा लगानी गर्नेहरुले गुमाउने भन्दा पनि कमाउने संभावना धेरै छ । त्यस्तै अलिकति जोखिम बहन क्षमता भएकाहरुले राम्रो बोनस दिनसक्ने तर सस्तो मूल्य भएका बीमा कम्पनीहरुमा लगानी गरे पनि दीर्घकालीन लगानीको हिसाबले फाईदा नै होला । केही राम्रा फाईनान्स र पोखराबाट उदाएका बिकास बैंकहरुको सवालमा पनि सकारात्मक धारणा राख्नु उचित हुन्छ ।

एउटा हैन कम्तिमा १० वटा कम्पनीको सेयर किन्नुहोस तर एकैपटक हैन पटक पटक गरेर । सेयर मुल्य घटेको बेला वा घटाएरै किन्नुहोस् । 

अहिले सेयर बजारमा सम्पति शुद्धीकरण अनुसन्धान बिभागले सेयर बजारमा भएको लगानीको पनि अनुसन्धान गर्ने भयो भन्ने कुरालाई सेयर बजारमा आतंक सिर्जना गर्ने साधन बनाईएको पाईएको छ । नामै अनुसन्धान बिभाग भएकाले उसले अनुसन्धान गर्नु स्वभाविक हो र सरकारले हरेक नागरिकको बैंक खाता, सेयर बजारमा गरिएको लगानी, सम्पतिको स्रोत खोज्नसक्छ । कोही पनि नागरिक सरकारी अनुसन्धान भन्दा बाहिर छैनन् । आतंकित त तिनीहरु हुन्छन् जसले गैरकानुनी सम्पति आर्जन गरेका छन् । बैधानिक स्रोतबाट सम्पति आर्जन गरेकाहरुमा आतंक फैलाईनु अर्को अपराध हो र त्यसरी आफै आतंकित हुन आत्महत्या गर्नु सरह हो ।

सम्पति शुद्धीकरणले छानविन गर्दैमा कोही पनि सेयर लगानीकर्ता डराउनुपर्ने आबश्यकता छैन । हरेक लगानीकर्ता जसले बैधानिक स्रोतबाट पैसा कमाएका छन् भने उनीहरुलाई सरकारले छानविन गर्दा त झन् भरोसा पो हुनुपर्छ । सेयर बजारमा ९९.९ प्रतिशत लगानीकर्ताले बैधानिक स्रोतबाट लगानी गर्दै आएका छन् भन्न् सकिन्छ । कसैले बर्षौदेखि लगानी गर्दै सम्पति बढाउँदै आएका छन् भने कसैले ऋण र सापटी लिएर लगानी गरेका छन् । यी सबै बैधानिक स्रोत हुन् । सेयर दलाललाई पैसा बुझाउँदा पनि बैंकको चेक काटेर भुक्तानी गरिएको छ र सेयर बेचेर प्राप्त भएको पैसा पनि एकाउन्ट पेयी चेकद्धारा बैंकबाट नै भुक्तानी भएकोे अवस्था छ । सरकारले खोज्दा सबै कुरा स्पष्ट देखिन्छ ।

सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आउनु भएको छ, किनबेच गर्दै दलालमार्फत सरकारलाई पूँजीगत लाभकर र अन्य शुल्क तिर्दै आउनु छ भने सेयर बजारमा तपाइँले गरेको लगानी बैधानिक हो ।

कुनै लगानीकर्ता अस्वभाविक रुपमा सेयर बजारमा एकाएक प्रबेश गर्यो, उसले सेयर दलालको कायार्लयमा भरेको बिबरण नै शंकाष्पद छ र रकमको स्रोतमा पनि शंका उत्पन्न हुन्छ भने सेयर दलालले नै त्यसबारेमा राष्ट्र बैंक, धितोपत्र बोर्ड र सम्पति शुद्धीकरणमा जानकारी दिनुपर्छ र दिदै आएका पनि होलान् ।

हाम्रो सेयर बजारमा गैरकानुनी र आतंकबादलाई पश्रय दिने पैसा लगानी भएको छैन भने कुरा विश्व समुदायलाई देखाउनु पर्ने हामी प्रत्येक नागरिकको दायित्व पनि हो । भोलि सन् २०१९ मा देश नै कालोसूचीमा पर्यो भने यहाँ विदेशी लगानी आउनै बन्द हुन्छ । त्यस बेला सरकारलाई दोष दिएर मात्रै हुन्न, त्यसको पीडा हामीले नै ब्यहोर्नुपर्छ ।

सम्पति शुद्धीकरण अनुसन्धान आयोगले अहिलेसम्म सेयर बजारका कुनै लगानीकर्तालाई कालो धन लगानी गरेको बारेमा किटेर भन्न सकेको छैन । ०.१ प्रतिशतका केहीलाई सोधखाेज गर्यो भने पनि ९९.९ प्रतिशत आतंकित हुनुपर्ने कुनै कारण छैन । तर बैधानिक स्रोतबाट लगानी गर्नेले पनि प्रमाण चाँही सुरक्षित राखिरहनुपर्छ ।

सेयर बजारमा अहिले धेरै साना लगानीकर्ताहरुको बाहुल्यता छ । दुई लाख, पाँच लाख रुपैयाँ खोजेर लगानी गर्नेहरुलाई सम्पति शुद्धीकरणले समातेर सेयर बजारमा गरिएको लगानीको स्रोत खोज्न साध्य पनि छैन । अर्बौ रुपैयाँ लगानी गर्नेहरुको स्रोतको खोजी हुनु स्वभाविक हो । उनीहरुसँग पनि अबश्य नै बैधानिक स्रोत छ । त्यसैले सम्पति शुद्धीकरणले अनुसन्धान गर्ने भयो भन्दैमा कोही पनि सेयर बेचेर भाग्नु आबश्यक छैन ।

बैंकहरुमा नगद राख्न र झिक्न सरकारले गरेको कडाई र सम्पति शुद्धीकरणले अख्तियार गर्न लागेको रणनीतिमा केही रहस्यहरु होलान् । नेपालले अन्र्तराष्ट्रिय क्षेत्रमा जाहेर गरेको प्रतिबद्धताको कार्यान्वयन र कालो धन प्रबेश गर्न नदिने रणनीतिले पनि काम गरेको होला । यसबाट त नेपालको सेयर बजार झन् सुरक्षित हुन्छ ।

यो बेला सेयर बजारमा प्रबेश गरी लगानी गर्नेहरुले हल्ला र अफवाहबाट जोगिएर विगतदेखि नै राम्रो कमाई गरी प्रतिफल वितरण गर्दै आएको कम्पनीको सस्तो सेयर छान्नु आबश्यक छ । कम्तिमा तीन आर्थिक बर्षदेखि प्रति सेयर आम्दानी १५, ३० र ४५ डिग्रीको कोणमा बढाउँदै लगेको, लाभांशको दर १०, २० र ३० डिग्रीको कोणमा बढाउँदै लगेको कम्पनी होस् । नियमनकारी निकायहरुले तोकेको चुक्ता पूँजी कायम गर्न बोनस धेरै दिनसक्ने तर सस्तो सेयर मूल्य भएको कम्पनी नै छान्नुपर्छ ।

बित्तीय बिबरण प्रकाशनको क्रम सकिएपछि कम्पनीहरुले गत आर्थिक बर्षको नाफाबाट लाभांश प्रस्ताव गर्न थाल्नेछन् । त्यसपछि बजारमा नयाँ तरंग आउँने छ । कम्पनीहरुको साधारणसभा धमाधम चल्दा अनलाईन कारोबार प्रणालीबाटै सेयर किनबेच गर्ने अवसर पनि एकसाथ आउँदा बजार अरु चलायमान हुनेछ । गत बर्षमा जस्तो लगानीयोग्य रकम अभावको संकट यस बर्ष नआउला भन्न सकिन्छ किनभने बित्त बजारमा तरलता बढ्दो छ र लगानीका क्षेत्रमा राष्ट्र बैंकले अंकुश लगाएर बैंक तथा बित्तीय संस्थाहरुलाई अनुशासनमा राख्न खोजेको छ ।

अहिलेको सेयर बजारमा लगानी गर्दाका अरु धेरै संभावनाहरु छन् । सेयर दलाललाई मार्जिन ल्याण्डिड.को सुबिधा उपलब्ध गराउने बारेमा धितोपत्र बोर्डले अध्ययन गरिरहेको छ । त्यस्तै डिलरशीपको सुबिधा पनि उनीहरुले पाउनसक्छन् । यसले पनि बजारलाई धेरै सहयोग गर्ने छ ।

आश्बा प्रणालीको अनिबार्य कार्यान्वयनले साधारण सेयर लगानीलाई सहज र छिटो बाँडफाँड गर्न सघाउ पुर्याउँदैछ । यसले लगानीकर्ताको पैसा धेरै लामो समयसम्म बन्धक बनेर बस्ने छैन ।

ब्यापारी भएर हैन, दीर्घकालीन लगानीकर्ता भएर सेयर बजारमा लगानी गर्नुहोस् । अनेक हल्लामा लागेर सेयरको ब्यापार गर्न थाल्नुभयो भने तपाइँ डुब्न पनि सक्नुहुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।