सरकारीमा नेपाल बैंकको प्रतिफल उच्च,निजी बैंकहरूमध्ये नबिल सबैभन्दा अगाडि

Aug 23, 2017 merolagani

तीर्थराज पौड्याल
गत आर्थिक बर्षमा २८ वटा वाणिज्य बैंकहरूमध्ये सेयर प्रतिफल सरकारी बैंकको उच्च देखिएको छ । कुल तीन सरकारी लगानीका बैंकमध्ये दुई बैंकको प्रतिफल उच्च देखिएको छ। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक पछाडि नबिल बैंकको सेयर प्रतिफल क्रमश: सबैभन्दा उच्च देखिएको छ ।

गत आर्थिक वर्षको  वित्तीय विवरणका आधारमा यी बैंकहरूमा सेयरधनीको लगानीमा प्रतिफल (आरओई) सबैभन्दा राम्रो देखिएको हो । लगानीमा प्रतिफल अर्थात आरओईले कुनै पनि बैंकमा एक सय रुपैयाँ लगानी गर्दा त्यसले कमाउने आम्दानीलाई जनाउँछ । 

गत बर्षको वित्तीय विवरणअनुसार नेपाल बैंकको आरओई सबैभन्दा धेरै ४५ दशमलव ५२ प्रतिशत छ । यसको अर्थ नेपाल बैंकमा लगानी भएको सय रुपैयाँले साढे ४५ रुपैयाँ आम्दानी गर्छ भन्ने बुझिन्छ । यो अनुपात अन्य वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा उच्च हो । नेपाल बैंकले गत आर्थिक बर्षमा तीन अर्ब २१ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

नोट:रकमलाई हजारमा देखाइएको छ । 

यद्यपि नेपाल बैंक सरकारी स्वामीत्वको  रहेकाले यसमा राष्ट्र बैंकबाट प्राप्त सुविधा र छुटको कारण आरओई वृद्धिमा सहयोग पुगेको हो । कुनै पनि बैंकले उच्च कार्य क्षमता कायम हुँदा राम्रो प्रतिफल प्राप्त गर्ने गरेको पाइन्छ ।

यस्तै आरओईका आधारमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो नम्बरमा छ । यो बैंकको आरओई ३४ दशमलव ३९ प्रतिशत छ । गत बर्ष यो बैंकको खुद मुनाफा तीन अर्ब आठ करोड २६ लाख रुपैयाँ छ । उक्त अवधिमा यो बैंकको पूँजी पर्याप्तता अनुपात ११ दशमलव ८३ प्रतिशत छ । सरकारी स्वामित्वको बैंक भएर पनि कृषि विकास बैंकले सेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन ।

गत आर्थिक बर्षमा यो बैंकको आरओई १४ दशमलव ६३ प्रतिशत कायम भएको छ । जुन २८ बाणिज्य बैंकमध्ये सिभिल र सेञ्चुरी बैंकभन्दा मात्र राम्रो हो । कृषि विकास बैंक २८ वटा वाणिज्य बैंकहरूमध्ये आरओई अनुपातका आधारमा २६ नम्बरमा पर्छ । सोही अवधिमा यो बैंकको पूँजी पर्याप्तता अनुपात १७ दशलमव ४७ प्रतिशत छ ।

निजी बैंकहरूमध्ये नबिल बैंक सबैभन्दा अगाडि र समग्र २८ बैंकमध्ये तेस्रो नम्बरमा रहेको छ । नबिल बैंकको आरओई ३१ दशमलव २३ प्रतिशत छ भने खुद मुनाफाका आधारमा पनि यो बैंक सबैभन्दा अगाडि रहेको छ । गत आर्थिक वषमा बैंकले तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल यो बैंकका पुँजी पर्याप्तता अनुपात १३ दशमलव ३४ प्रतिशत छ ।

प्रतिफलका आधारमा चौथो र पाँचौं नम्बरमा प्रभु र नेपाल क्रेडिट एण्ड कर्मस बैंक छन् । यी बैंकको आरओई क्रमश २८ दशमलव १३ प्रतिशत र २५ दशमलव ०१ प्रतिशत छ । यस अवधिमा प्रभु बैंकको पुँजी पर्याप्तता अनुपात ११ दशमलव ०५ प्रतिशत र एनसीसी बैंकको १३ दशमलव ३० प्रतिशत छ ।

गत बर्षमा हिमालयन, ग्लोबल आईएमई, एभरेष्ट, प्राइम कर्मर्सियल बैंक, सानीमा, नेपाल एसबीआई, माछापुच्छ्रे, र सिद्धार्थ बैंकको आरओई २० प्रतिशतभन्दा धेरै छ । यसरी २० प्रतिशतभन्दा बढी आरओई हुने वाणिज्य बैंकको संख्या १३ वटा रहेको छ ।

यस्तै जनता बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया, नेपाल बंगलादेश बैंक, सनराइज, सिटिजन्स् , स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, मेगा र लक्ष्मी बैंकको गरी १० बाणिज्य बैंकको आरओईको अनुपात १५ प्रतिशत भन्दा धेरै र २० प्रतिशतभन्दा कम रहेको छ ।

बाँकी रहेका पाँच बाणिज्य बैंकहरुको आरओई १५ प्रतिशतभन्दा कम रहेको छ । जसमध्ये बैंक अफ काडमान्डूको ११ दशमलव ८३ प्रतिशत, कुमारीको १४ दशमलव ८१ प्रतिशत, कृषि विकास बैंकको १४ दशमलव ६३ प्रतिशत, सेञ्चुरी बैंकको ११दशमलव ६५ प्रतिशत र सबैभन्दा कम प्रतिफल प्राप्त गर्ने बैंक सिभिल बैंक बनेको छ । सिभिलको सबैभन्दा कम ११ दशमलव ४० प्रतिशत आरओई रहेको छ ।

पछिल्लाे वर्षमा बैंकहरूको आरओई अझै घटेकाे हाे । राष्ट्र बैंकको तोकेको न्यूनतम आठ अर्ब पूँजी वृद्धि गर्नुपर्दा बैंकको पूँजी बढेको अनुपातमा कर्जा प्रवाह तथा अन्य आम्दानीको वृद्धिदर कायम गर्न नसक्दा बैंकको लगानीमा प्रतिफल वृद्धिद्धर खस्किएको हो ।

नोट : माथि प्रस्तुत गरिएको तथ्यांक सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले उपलब्ध गराएको विवरणबाट लिईएको हो । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।