इन्भेर्ष्टस फोरम भन्छ- श्वेतपत्र सकारात्मक,बिश्लेषकका नजरमा साचेभन्दा राम्रो

Mar 30, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिबडाद्धारा प्रस्तुत गरिएको श्वेतपत्र सकारात्मक भएको प्रतिकृया इन्भेर्ष्टस फोरमले दिएको छ । पूँजी बजारका लगानीकर्ताकाे संस्था फाेरमले  पूँजी बजारमा नीतिगत र संस्थागत सुधार गर्ने अर्थमन्त्रीको चाहनालाई स्वागत गरेकाे हाे ।

मेरोलगानीसँग प्रतिकृया दिँदै फोरमका अध्यक्ष अम्विका पौडेलले श्वेतपत्रले पूँजी बजारको समस्या पहिचान गरेकोमा सन्तोष व्यक्त गरे । उनले भने अर्थमन्त्रीले पूँजी बजार विस्तारका लागि आफूहरूले उठाउँदै आएका मागलाई श्वेतपत्रमा समस्याका रूपमा राख्नुभएको छ । यो राम्रो पक्ष हो ।

यसैगरी फोरमका उपाध्यक्ष छाेटेलाल रौनियारले तरलता संकट समाधान गर्न तत्काल बाह्य लगानी भित्र्याइने घोषणाले सकारात्क सन्देश दिने बताए । उनले बाह्य लगानी सेयर बजारमा सिधै नआएपनि त्यसले बैकिङ्ग तरलतालाई सहज पार्ने र व्याजदरलाई सन्तुलन गर्न सहयोगी हुने बिश्वास व्यक्त गरे ।

सेयर बजार बिश्लेषक नीरब पुडासैनीले पनि पूँजी बजारका लागि श्वेतपत्र सोचेभन्दा राम्रो आएको प्रतिकृया दिए ।

उनले भने, श्वेतपत्रले सेयर बजार खस्किनुको कारणलाई यथार्थपरक ढंगले प्रस्तुत गरेको मात्र छैन, पूँजी बजारको विस्तारमा पनि जोड दिइएको छ । धितोपत्रमा मात्र केन्द्रीत बजारलाई अन्य क्षेत्रमा विस्तार गर्ने अर्थमन्त्रीको भनाई सकारात्मक छ ।

नेप्सेमा निरन्तरको गिरावटपछि लगानीकर्ताहरू सरकारले पूँजी बजारका बारेमा केही सम्वोधन गरोस् भन्ने चाहना राखेर बसेका थिए । यसबिचमा अर्थमन्त्रीेले दिएका केही अभिव्यक्तिले बजारमा प्रत्यक्ष असर गरेको भन्दै लगानीकर्ता अन्यौलमा समेत परेका थिए । सरकारले भने पूँजी बजारको समस्या श्वेतपत्र मार्फत सार्वजनिक गर्ने आश्वासन दिएपछि लगानीकर्ता श्वेतपत्रको प्रतिक्षामा थिए ।

comments powered by Disqus