एभरेष्ट इन्स्योरेन्सका सेयरधनी संस्थापक बन्न राजी, यसरी पुर्याउँदै छ चुक्ता पूँजी

Apr 23, 2018 merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) का सेयरधनीहरु संस्थापक हकप्रद सेयर खरिद गरेर संस्थापक सेयरधनी बन्न राजी भएका छन् । कम्पनीको २३ औं बार्षिक साधारण सभाले दश प्रतिशत बोनसपछि १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेसँगै कम्पनीका सेयरधनी संस्थापक सेयरधनी बन्ने भएका हुन् ।

इन्स्योरेन्सले हाल कायम पूँजीको दश प्रतिशत अर्थात एक करोड २१ लाख ५० हजार रुपैयाँको बोनसपछि कायम पूँजीमा १०५ प्रतिशत संस्थापक हकप्रद बिक्री गर्नेछ ।

साधारण सभाले हाल कायम चुक्तापूँजीमा ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने गरी १०५ प्रतिशत संस्थापक हकप्रद सेयर जारी प्रस्ताव अनुमोदन गरेको हो।

साथै संस्थापक हकप्रदपछि कम्पनीले ३०० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय समेत पारित गरेको छ । बोनस र दुई चरणको हकप्रद पश्चात कम्पनीमा संस्थापक सेयरधनीको ५१ प्रतिशत र साधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहने छ । कम्पनीको पहिलो चरणको हकप्रद सबै संस्थापक हुनेछ भने दोस्रो चरणको हकप्रद संस्थापक तथा साधारण सेयरधनीलार्इ विक्री गरिनेछ ।

बीमा समितिको निर्देशन बमोजिम कम्पनीले संस्थापकको ५१ तथा साधारण सेयरधनीको ४९ प्रतिशत शेयर हिस्सा कायम गर्न लागेको हो । साथै कम्पनीको २२ औं साधारण सभाबाट पारित भएको ६०० प्रतिशत हकप्रद प्रस्तावलाई खारेज गरेको छ ।

दश प्रतिशत बोनस कम्पनीको चुक्ता पँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ पुगेको छ । अब कम्पनीले १३ करोड ३६ लाख ५० हजार चुक्ता पूँजीको एक सय पाँच प्रतिशत (१ः१.०५) अनुपातमा संस्थापक हकप्रद सेयर हाल कायम रहेका सेयरधनीहरुलाई जारी गर्नेछ ।

कम्पनीले १४ करोड ३ लाख ३२ हजार रुपैयाँ बराबरको संस्थापक हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । साथै यसपश्चात कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको हिस्सा अनुपात ५१:४९ प्रतिशत कायम हुनेछ ।

त्यसपश्चात कम्पनीले सबै सेयरधनीहरुलाई तीन सय प्रतिशत (१ः३ ) अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । यो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३०० रुपैयाँ कायम हुनेछ । ।

comments powered by Disqus