एकै पटक कसले बेच्यो नेपाल लाइफको यति धेरै सेयर ?

Aug 12, 2018 Merolagani

निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजारमा आइतबार नेपाल लाइफ इन्स्योरेन्स (NLIC) को अधिक सेयर कारोबार भएको छ । आइतबार मात्रै नेपाल लाइफको प्रतिकित्ता सेयर मूल्यमा ५७ रुपैयाँको गिरावट आएको छ । यसरी सेयर मूल्य तिब्र गतिमा घट्दा पनि झण्डै पौने चार करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

पछिल्ला दिनमा बजार निरन्तर ओरालो लाग्ने क्रममा छ । बजार सुधारको संकेत नदेखेपछि लगानीकर्ता थप नोक्सान नव्यहोर्ने मनस्थितीमा पुगेका छन् । अहिलेसम्म व्यहोर्नु परेको नोक्सानीबाट अत्तालिएका लगानीकर्ताले धमाधम सेयर बेच्न थालेपछि नेपाल लाइफको सेयर अधिक कारोबार भएको हो ।

अहिलेको अवस्थामा लगानीकर्ताहरु कुनै पनि कम्पनीको सेयरमा नाफाको अवस्था छैनन् । एकाध कारोबारीहरुले च्याखे थापेर पाँच दश रुपैयाँ कमाई गरे पनि पछिल्ला दिनमा त्यो पनि असम्भव जस्तै देखिएको छ ।

यसरी आफूसँग भएको सेयर लामो समयसम्म पाल्दा पनि केही नहुने अवस्था उत्पन्न भएपछि सेयर लिएर बसेकाहरु पाएको मूल्यमा सेयर बेच्न थालेका छन् । जसले गर्दा आइतबार नेपाल लाइफको ४० हजार ६११ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार खुलेदेखि सेयर मूल्य तल झर्दै गर्दा कारोबार चाप बढेको नेपाल लाइफको सेयर दलाल नम्बर ४९ बाट अधिक बिक्री भएको छ । ४९ नम्बरबाट मात्र आइतबार २५ हजार ३ सय ३५ कित्ता सेयर बिक्री भएको छ ।

 

 

नेपाल लाइफको मात्र ३ करोड ७१ लाख ८८ हजार २९१ रुपैयाँको सेयर कारोबार भएकोमा ४९ नम्बर दलालकोबाट मात्र २ करोड ३३ लाख ७२ हजार ७८१ रुपैयाँको सेयर बिक्री भएको छ । उसले जम्मा २ करोड ५६ लाख १० हजार रुपैयाँको मात्र सेयर बिक्री गरेको छ । नेपाल लाइफ बाहेक ४९ नम्बरले जम्मा २३ लाख रुपैयाँको मात्र सेयर बेचेको देखिन्छ । नेपाल लाइफको कूल सेयर कारोबारमध्ये ४९ नम्बरबाट मात्र ६३ प्रतिशत सेयर बिक्री भएको हो ।

नेपाल लाइफ सञ्चालक समितिले संस्थापक र सर्वसाधारणको हिस्सा परिवर्तन गरेकाले पनि नेपाल लाइफको सेयरमा बिक्री चाप आएको हो । ७० प्रतिशत  संस्थापकमध्ये १० प्रतिशत संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गर्दा बजारमा साधारण सेयरको आपूर्ति बढ्ने डरले पनि एकै पटक ठूलो संख्यामा एक व्यक्तिले सेयर बिक्री गरेका हुन् ।

नेपाल लाइफमा संस्थापक शेयरधनीको हिस्सा घट्यो, सर्वसाधारणको बढ्यो

ठूलो संख्यामा नेपाल लाइफको सेयर लिएर बसेका लगानीकर्ता अब अरु नोक्सानी व्यवहोर्न नसक्ने अवस्थामा पुगेपछि एकै पटक सेयर बिक्री गर्न निस्किएको बुझिएको छ । यो समस्या अरु लगानीकर्तामा पनि उत्तिकै व्याप्त छ ।

२५ नम्बर दलालकोबाट पनि नेपाल लाइफको १२७० कित्ता सेयर बिक्री भएको छ । अरु सेयर दलालकोबाट १ हजार कित्ताभन्दा बढी सेयर बिक्री भएको देखिँदैन । यद्यपी नेपाल लाइफको सेयरमा देखिएको बिक्री चापले बजारलाई टेवा पुर्याउनेभन्दा थप गिरावटको बाटोमा धकेल्ने संकेत गर्छ । बैंकको व्याज तिर्दै नाफाको पर्खाइ गर्दा उत्पन्न भएको यो अवस्था नेपाल लार्इफको सेयरमा मात्र नभई अरु कम्पनीको सेयरमा पनि सुरु हुनसक्छ ।

गत बिहीबार ९६७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको नेपाल लाइफको सेयर आइतबार ९६२ रुपैयाँको दरमा कारोबार सुरु भएर ९१० रुपैयाँमा अन्तिम पटक कारोबार भएको हो । गत जुलाई महिनामा केही सुधारको बोटोमा रहे पनि नेपाल लाइफको सेयर मूल्य अगष्ट महिनामा निरन्तर गिरावट झेल्दै आएको छ । जसका कारण नोक्सानबाट बच्न केही लगानीकर्ता बजारमा निस्किए पछि टुक्रा भएर ठुलो संख्याको सेयर धेरै लगानीकर्तामा बाँडिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।