क्यानडालाई बाहिरै राखेर अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौतामा सहमति

Aug 28, 2018 RSS/AFP

संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ । दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) को अर्को साझेदार मुलुक क्यानडासँग मङ्गलबार वार्ता अगाडि बढाउने भएका छन् ।

यद्यपि २५ वर्ष पुरानो नाफ्टाको भविष्य भने अनिश्चित भएको छ । क्यानडाका विदेशमन्त्रीले नाफ्टाको पुनरावलोकनमा क्यानडाको हस्ताक्षर अनिवार्य रहेको बताइरहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिमा नआए क्यानडालाई नयाँ सम्झौतामा समावेश नगरिने बताए ।

ट्रम्पले नाफ्टा खारेज गर्ने भन्दै विवादास्पद भनाईहरु सार्वजनिक गरिरहेका छन् । उनी सम्झौताको नाम नै परिवर्तन गर्ने पक्षमा छन् ।

“व्यापारका लागि आजको दिन महत्वपूर्ण छ । दुबै मुलुकबीच साँच्चिकै राम्रो समझदारी भएको छ,” राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यालय ओभलबाट सम्झौताका बारेमा घोषणा गर्दै भने । उक्त अवसरमा राष्ट्रपति ट्रम्पले मेक्सिकोका राष्ट्रपति एनरीक पेना नीटोसँग फोनमा कुरा गरेका थिए ।

नाफ्टाको दोस्रो संस्करणका रुपमा हेरिएको यस सम्झौतामा सवारीसाधनको व्यापार, कामदारको सुरक्षा र हरेक छ वर्षमा सम्झौता नवीकरण गर्ने विषयहरु समेटिएका छन् । उक्त सम्झौताका विषयहरु सार्वजनिक भएसँगै क्यानडाका विदेशमन्त्री एवं व्यापार वार्ताकार क्रिस्टिया फ्रिल्यान्ड वार्तामा सहभागी हुन मङ्गलबार वासिङ्टनको भ्रमण गर्दै छन् ।

व्यापार वार्ताकारहरुले नाफ्टालाई अद्यावधिक र पुनर्लेखन गर्न झण्डै एक वर्ष लगाइसकेका छन् तर अमेरिका र मेक्सिकोले क्यानडालाई बाहिरै राखेर दुई मुलुकबीचका विवादहरु सुल्झाउन पहिलो प्रयत्न गरेका थिए । ट्रम्पले नयाँ सम्झौतामा क्यानडालाई छाडेर पनि अघि बढ्न तयार रहेको जानकारी गराएका थिए ।

“हामीबीच नयाँ सम्झौता हुन सक्दछ वा नयाँ सम्झौता पनि हुन सक्दछ,” ट्रम्पले भने । उनले क्यानडासँग सवारी साधन र दुग्धजन्य पदार्थको करका विषयमा कठोर धारणा सार्वजनिक गरिआएका छन। यही नै दुवै छिमेकी राष्ट्रबीचको सबैभन्दा पेचिलो प्रश्न हो ।

मेक्सिकोका अधिकारीहरुले नाफ्टालाई त्रिपक्षीय सम्झौताकै रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । “हाम्रो इच्छा नै यो सम्झौतामा क्यानडा साथमा आओस् भन्ने हो,” मेक्सिकोका राष्ट्रपति पेना नीटोले ट्रम्पलाई भने । पेना नीटोले आफूले यस विषयमा क्यानडाका प्रधानमन्त्रीसँग पनि कुराकानी गरेको जानकारी दिए।

ट्रम्प र ट्रुडोबीच व्यापार सम्झौताबारे कुराकानी भयो – क्यानडा

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिका र मेक्सीको बीचको पछिल्लो व्यापार सहमतिका बारेमा रचनात्मक कुराकानी भएको छ । क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार ट्रुडोले क्यानडाली व्यापार वार्ताकार एवं विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डलाई मङ्गलबार नै वासिङ्टन पठाएका छन्।

“प्रधानमन्त्रीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको सम्बन्धमा रचनात्मक वार्ता भएको छ,” प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “मेक्सीको सँगको वार्तामा भएको प्रगतिप्रति दुबै नेताले सन्तोष व्यक्त गरेको र क्यानडासँग अमेरिकाको वार्ता पनि तार्किक निष्कर्षमा पुग्ने अपेक्षा व्यक्त गरेका छौं ।”

नयाँ सम्झौतामा क्यानडालाई पनि समेट्नु पर्दछ– मेक्सीकोका नवनिर्वाचित राष्ट्रपति

मेक्सीकोका नवनिर्वाचित राष्ट्रपति आन्देस म्यानुएल लोपेज ओब्राडोरले अमेरिका र क्यानडासँगै त्रिपक्षीय सम्झौता गर्नुपर्नेमा जोड दिए । अमेरिका र मेक्सीकोबीचको सम्झौता पहिलो कदम भएको पनि उनले बताए ।

“क्यानडालाई पनि समावेश गरिनु आवश्यक छ,” बामपन्थी विचारधाराका राष्ट्रपति ओब्राडोरले भने  । “विगतमा झैं स्वतन्त्र व्यापार सम्झौताकै स्वरुपमा अबको सम्झौता गरिनु आवश्यक छ ।”

comments powered by Disqus

हरेक नेपालीलार्इ शेयरधनी बनाउन ३५०० मेगावाटका आयोजना निर्माण गर्दै सरकार

Sep 25, 2018

सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ।‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै नेपालीलाई लगानीकर्ता बनाउने र दीर्घकालीन रूपमा आर्थिक उपार्जनको माध्यम बनाउने लक्ष्यका साथ उक्त अवधारणा अगाडि सारिएको हो।