बिहिबार राष्ट्र बैंकले प्रतिअमेरिकी डलरको बिक्री मूल्य १ सय १३ रुपैयाँ २५ पैसा निर्धारण गरेको थियो । बिहीबारको तुलनामा प्रतिडलर मूल्य २४ पैसाले बढेको हो । शुक्रबारका लागि राष्ट्र बैंकले प्रतिडलर खरिदमूल्य १ सय १२ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ ।
भारतको तुलनामा अमेरिकाको आर्थिक वृद्धि उच्च हुँदा भारतीय मुद्राको तुलनामा डलरको भाउ बढेको हो । अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो ।
अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पनि अमेरिकी डलरको भाउमा बृद्धि भएको हो । कच्चा तेलको भाउ बढेको कारण त्यसको सीधा असर भने भारतीय अर्थतन्त्रमा परेको छ । आयातित तेलको भुक्तान डलरमा गर्नुपर्ने हुदा कच्चा तेलको मुल्य समेत बृद्धि भएको छ । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।
डलर महंगिदा नेपाललाई कस्तो पर्छ असर ?
उपभोग्य अधिकांश वस्तु डलरमा भुक्तानी गरेर आयात भईरहेको सन्दर्भमा यस्ता वस्तुको मूल्य बढ्ने निश्चित छ । जसले गर्दा व्यापार घाटा झन बढेर जान्छ । नेपाली मुद्रासँग भारतीय मुद्रा सटही दर स्थिर अर्थात १ सय ६० रुपैयाँ छ । तर अमेरिकी डलरसँग भारुको सटही दर परिवर्तित भएकाले भारतीय मुद्रामा नै नेपालमा सामान आयात गर्दा पनि महंगो पर्न जान्छ ।
भारतमा तयार हुने वस्तुको लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् । डलर महंगो भएको बेला कच्चा पदार्थको लागत बढ्न जाँदा भारतमा नै मंगो पर्ने वस्तु नेपालसम्म आईपुग्दा अझ धेरै महंगो पर्न जान्छ ।
देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन भने केही सहज हुन्छ । पहिलेको भन्दा सस्तोमा वस्तु बिक्री हुने भएकाले निर्यात बढाउन सक्ने अवस्था रहन्छ । तर नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने अवस्था नभएको हुनाले निर्यात बढ्ने सम्भावना देखिँदैन ।
डलरको मूल्य बढ्दा विदेशी सामान महँगो हुने कारण स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुने देखिन्छ । त्यस्ता उद्योगको उत्पादनको मूल्य नबढ्ने हुँदा विदेशीको तुलनामा प्रतिस्पर्धी मूल्य कायम भई बिक्री बढ्न सक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने सामान निर्यात गर्ने उद्यमीले पनि पहिलेकै लागतमा थप आम्दानी गर्न सक्छन् ।
सरकारले बजेटमा पुँजीगत खर्चको लागि मुख्य स्रोत विदेशी ऋणलाई मानेको छ । नेपाल राष्ट्र बैंकमा सरकारको नेपाली मुद्रामा खोलिएको खाता हुन्छ । ऋणको किस्ता र ब्याज सरकारले तत्काल डलर किनेर भुक्तानी गर्ने गर्दछ । सरकारले डलर सस्तो भएको समयमा लिएको ऋण डलर महंगिदा धेरै रकम भुत्तानी गर्नुपर्ने हुन्छ ।
विभिन्न मुलुकबाट नेपालीहरुले अमेरिकी डलरमा रेमिटान्स पठाउँछन् । डलरको मूल्य बढेको बेला यहाँ आफन्तले बढी पैसा पाउँछन् । त्यसैले डलरको मूल्य बढेको बेला कामदारहरुले जम्मा गरेर राखेको पैसा नेपाल पठाउँछन् र रेमिटान्सको आप्रवाह बढ्ने सम्भावना रहन्छ । यद्यपि सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट फाइदा पाउन सक्दैनन् । नेपाली कामदारले स्थानीय मुद्रामा तलब प्राप्त गर्छन र त्यहाँको मुद्रा पनि नेपालको जस्तै डलरसँग अवमूल्यन भएको भए नेपाली कामदारले कुनै लाभ पाउन सक्दैनन् ।
पढ्न वा अन्य कामले विदेश जाने नेपालीको खर्च डलरको मूल्य बढेको बेला ज्यादा हुन्छ । विदेशमा चाहिने डलर उत्ति नै भए पनि यहाँबाट डलर साटेर जाँदा बढी पैसा तिर्नुपर्छ । डलरको मूल्य बढेको बेला पढ्न जाँदा वा अध्ययनरत व्यक्तिलाई यहाँबाट पैसा पठाइदिंदा पनि धेरै रुपैयाँ खर्च हुन्छ ।
कुनै मुलुकको मुद्रा कमजोर हुँदा त्यहाँ विदेशी लगानी बढ्ने सम्भावना पनि बढ्छ ।