पूर्ण अनलाइन लागु हुने भएपछि मक ट्रेडिङ स्थगित, कसरी गर्ने कारोबार ?

Oct 30, 2018 Merolagani

नेपाल स्टक एक्सचेन्ज नेप्सेले छिट्टै पूर्ण अनलाइन प्रणाली औपचारिक रुपमा कार्यान्वयनमा ल्याउने जनाउँदै मक ट्रेडिङ स्थगित गरेको छ। कार्तिक १५ गतेदेखि ब्रोकरहरु मार्फत पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत कारोबार गराउने तयारी गरेको नेप्सेले आम लगानीकर्ताका लागि भने अझै मिति तय गरेको छैन ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले छिट्टै पूर्ण अनलाइन प्रणाली औपचारिक कार्यान्वयनमा आउने भएकाले हाललाई मक ट्रेडिङ स्थगित गरिएको जानकारी दिए ।

लगानीकर्तालाइ अनलाइन ट्रेडिङमा अभ्यस्त बनाउने उदेश्यले गत असोज २ गतेदेखि मक ट्रेडिङ सुरु गरिएको थियो । तर यसमा लगानीकर्ताको उत्साहजनक सहभागित हुन सकेन ।

नेप्सेले कार्तिक १५ गतेदेखि बुधबारदेखि ब्रोकरहरु मार्फत पूर्ण अनलाइन प्रणाली मार्फत शेयर कारोबार सुरु गर्ने तयारी गरेपनि आम लगानीकर्ताका लागि अझै मिति तय गर्न सकेको छैन ।

गत साता अनलाइन ट्रेडिङको प्रयोग बारे ब्रोकर कम्पनीहरुलार्य तालिम दिएको नेप्सेले यस प्रणालीमा ब्रोकरहरु अभ्यस्त भएपछि मात्रै लगानीकर्तालाई सहभागि गराउने भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार मक ट्रेडिङ प्रयोग गरेका लगानीकर्तालाई अनलाइन कारोबार गर्न कुनै समस्या हुने छैन । तर जसले मक  ट्रेडिङबारे राम्रोसँग बुझेका छैनन्, उनीहरुलाई सुरुमा केहि समस्या हुने उनको भनाइ छ ।

यसरी गर्न सकिन्छ अनलाइन शेयर कारोबार

अनलाइन कारोबार प्रणाली मार्फत शेयर किनबेच गर्न लगानीकर्ता ब्रोकरकोमा गएर अनलाइन खाता खोल्नुपर्छ । त्यसमा बैंक खाता र डिम्याट खातालाई लिङ्क गराएपछि मात्र सेयर खरिद बिक्री गर्न सकिन्छ । त्यसको लागि लगानीकर्ताले सबैभन्दा पहिले  युजनर नेम र पासवर्ड लिनुपर्छ ।

त्यसपछि अर्डर दिन र ट्रेड गर्न सकिन्छ । लगानीकर्ताले आफ्नो अर्डर सच्याउनुका साथै अर्डर र ट्रेड बुक हेर्न समेत पाउनेछन् । पूर्ण अनलाइन कार्यान्वयनमा आएपछि लगानीकर्ता आफैँले खरिद बिक्री आदेश दिन पाउनेछन् ।

कसरी लिने युजर नेम र पासवर्ड ?

सबैभन्दा पहिले लगानीकर्ताले आफुले कारोबार गरिरहेको ब्रोकर कम्पनीमा आधिकारीक परिचय पत्र सहित उपस्थित भएर युजर नेम र पासवर्ड लागि सम्पर्क गर्नुपर्दछ । त्यसपछि लगानीकर्ताहरुको डाटा ब्रोकरले इन्ट्रि गर्दछ । ब्रोकरले दिएको युजर नेम र पासवर्ड स्वीकृत भएपछि नेप्सेले युनिक क्लाइन्ट कोड प्रदान गर्दछ । त्यो युनिक क्लाइट कोड फेरी ब्रोकर कम्पनिलाई दिनु पर्दछ ।

युजर नेम र पासवर्ड लिने लगानीकर्ताहरुले भने ब्रोकर कम्पनीको आईपि ठेगानावाट यस अघि शेयर दलालकोबाट पाएको क्लाइण्ट आईडिका आधारमा अनलाइनको युजर माग गर्न सक्छन । तर लगानीकर्ताको ब्रोकर कम्पनीमा केवाईसी तथा इमेल भने अद्यावधिक भएको हुनुपर्दछ ।

युजर नेम र पासवर्ड पाइसके पछि लगानीकर्ताहरुलाई क्लाइन्ट लगइनको सुविधा प्राप्त हुन्छ ।

क्लाइन्ट आइडि लगइन भएपछि लगानीकताहरु आफैँ अनलाइन ट्रेडिङ्गमा सहभागि भएर अर्डर दिन र ट्रेड गर्न सक्नेछन् ।

लगानीकर्ताले कारोबार गर्न इन्टरनेट भएको स्थानमा बसेर आफूले चाहेको सेयर खरिद वा बिक्री गर्न डेस्कटप वा मोबाइलको माध्यमबाट आदेश दिन सक्छन् ।

बैंक खातामा पैसा डिम्याट खातामा शेयर अनिवार्य

अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न लगानीकर्ताको बैंक खातामा पैसा तथा डिम्याट खातामा अनिवार्य रुपमा शेयर जम्मा भएको हुनुपर्छ । शेयर किन्दा बैंक खातामा पैसा नभएमा र बेच्दा डिम्याट खातामा शेयर नभए अनलाइन मार्फत कारोबार गर्न सकिँदैन ।

लगानीकर्ताको सुविधाको लागि शेयर ब्रोकरले कारोबार लिमिट तोकिदिएको हुन्छ । यस्तो अवस्थामा भने बैंक खातामा पैसा नभएपनि शेयर ब्रोकरले दिएको लिमिट भित्र रहेर शेयर किन्न सकिन्छ । बिक्री गर्नको लागि भने डिम्याट खातामा अनिवार्य रुपमा शेयर हुनुपर्नेछ ।

अनलाइन कारोबार प्रणाली सुरु भएपछि जुनसुकै स्थानमा बसेर पनि सेयर खरिद बिक्री गर्न सकिनेछ । अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताले आफैँ सेयर खरिद बिक्री गर्न पाए पनि अन्य काम ब्रोकरले नै गर्नेछन् ।

अनलाइन प्रणालीलाई थप सहज बनाउन केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले ई-डिआइएस सञ्चालनमा ल्याईसकेको छ । लगानीकर्ताले अनलाइन मार्फत नै शेयर राफसाफ गराउन सक्नेछन् ।

अनलाइन प्रणाली मार्फत कसरी हुन्छ काम ?

लगानीकर्ताले आफ्नो ब्रोकर मार्फत आफुले लिएको युजर नेमको सहायताले अनलाइन मार्फत खरिद बिक्री आदेश दिनुपर्छ । उक्त आदेश अनलाइन प्रक्रियाबाट ब्रोकर हुँदै नेप्से र सीडीएस एन्ड क्लियरिङ पुग्छ ।

आदेश दिने लगानीकर्ताको सबै विवरण सहि भए नभएको एकिन भएपछि ब्रोकर मार्फत उक्त आदेश कार्यान्वयनमा जान्छ ।

लगानीकर्ताको बैंक खातामा पैसा र डिम्याटमा शेयर भए नभएको हेरेर मात्र आदेश कार्यान्वयनमा आउँछ । यो प्रक्रिया सुन्दा लामो भएपनि अनलाइन मार्फत यो काम निक्कै छोटो समयमा हुनेछ ।

अनलाईन कारोबार सुरु भएपछि सेयर खरिद बिक्री आदेश (अर्डर) दिन सेयर दलालको कार्यालयमा पुग्नैपर्ने अवस्था रहन्न 

अनलाइन काराेबार प्रणाली मार्फत नेपालबाट मात्र नभई विदेशबाट समेत सेयर कारोबार गर्न सकिनेछ । यसले राजधानी र शहर केन्द्रीत शेयर बजारमा धेरैभन्दा धेरै लगानीकर्ताको सहभागिता बढ्ने हुँदा बजारको आकार बढ्ने अपेक्षा सरोकारवालाहरुले राखेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।