काभ्रेमा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स (AMFI) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ९ लाख २३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।
गत वर्ष यसै अवधिमा माइक्रोफाइनान्सले सञ्चालन नोक्सानीका बावजुद पनि ८ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तर यस पटक माइक्रोफाइनान्सले खराब कर्जा असुली गर्न नसकेका कारण कमाई गर्न नसकेको हो । गत आर्थिक वर्षमा पनि सञ्चालन नोक्सानीमा रहेको माइक्रोफाइनान्सले प्रोभिजन गरेको रकमको सहयोगमा खुद नाफा कमाउन सकेको थियो ।
समीक्षा अवधिमा ३ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजीलाई आईपिओबाट ६ करोड पुर्याएको माइक्रोफाइनान्सको जगेडा कोष ४४ लाख ९५ हजार रुपैयाँले ऋणात्मक छ । गत वर्ष यसै अवधिमा कम्पनीको जगेडा कोष ४६ लाख ७४ हजार रुपैयाँले ऋणात्मक थियो ।
अघिल्ला त्रैमासको सहयोगमा माइक्रोफाइनान्सको जगेडा कोषमा केहि सुधार हुन खोजे पनि कर्मचारी खर्च, अन्य सञ्चालन खर्चमा आएको बढोत्तरी त्यो चुनौतीपूर्ण देखिएको छ ।
यस अवधिमा माइक्रोफाइनान्सले ११ करोड ८९ लाख निक्षेप संकलन र २७ करोड ३४ लाख रुपैयाँ सापटी लिएर ३८ करोड ५१ लाख कर्जा परिचालन गरेको छ ।
यो आकार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा निकै राम्रो हो । जसका कारण माइक्रोफाइनान्सको व्याज आम्दानीमा पनि सुधार देखिएको छ । माइक्रोफाइनान्सले यस पटक ६४ लाख ३३ हजार खुद ब्याज आम्दानी गरेको छ ।
गत वर्षको तुलनामा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १३ लाख १३ हजारले बढेको हो । गत बर्ष यसै अवधिमा माइक्रोफाइनान्सले ५१ लाख २० हजार खुद ब्याज आम्दानी गरेको थियो ।
यसरी माइक्रोफाइनान्सले व्यवशायको आकार केहि बढाउन खोजे पनि अरु पक्षमा सुधार गर्न नसक्दा अवस्था नाजुक देखिएको हो । अब माइक्रोफाइनान्सको व्यवशायको आकार तिब्र रुपमा बढाउँदै विभिन्न शिर्षकका खर्चमा कटौती नगर्ने हो भने शेयरधनीले अझै केही वर्ष माइक्रोफाइनान्सबाट कुनै पनि किसिमको प्रतिफल पाउन सक्दैनन् ।
माइक्रोफाइनान्सको निष्क्रिय कर्जा अनुपात १.२३ प्रतिशतबाट बढेर २.८८ प्रतिशतमाा पुगेको छ । यसले माइक्रोफाइनान्सलाई झनै जोखिमको बाटोतिर डोर्याएको छ ।
खुद नोक्सानी व्यहोरेका कारण माइक्रोफाइनान्सको प्रतिशेयर नोक्सानी १ रुपैयाँ ५४ पैसा कायम भएको छ । कमाउने कुरा कहिले कहिले ? कम्पनीको नेटवर्थ ९२ रुपैयाँ ५१ पैसा छ ।
दोस्रो बजारमा माइक्रोफाइनान्सको प्रतिकित्ता शेयर ९ सय रुपैयाँ हाराहारीमा किनबेच भैरहेको छ । लगानीकर्ताले बुझ्नपर्ने कुरा यत्ति हो कि प्रतिफल दिने त कता कता, उल्टै नोक्सान व्यहोर्ने कम्पनीको शेयर यति महङ्गो मूल्यमा किन किन्ने ?
योभन्दा धेरै सस्तो मूल्यमा राम्रा कम्पनीहरुको शेयर फालाफाल छ भने प्रतिफल पाउन वर्षौं कुर्नुपर्ने कम्पनीको शेयरमा लगानी गर्न हतारो किन ?