सानिमा बैंकको खुद नाफा ३७% ले बढ्यो, निक्षेप संकलन र व्यवसाय विस्तार सन्तुलित

Nov 15, 2018 Tirtha Raj Poudyal

सानिमा बैंक (SANIMA) ले चालू आर्थिक वर्षको तीन महिना अवधिमा ५१ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  बैंकले गत वर्ष यसै अवधिमा ३७ करोड ५० लाख खुद नाफा गरेकोमा १४ करोड ३८ लाखले मुनाफा बढाएको हो ।

राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टले फ्रि प्रोफिटमा संकुचन

एनएफआरएस प्रतिवेदन अनुसार सानिमा बैंकले ४६ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत वर्ष यस्तो रकम ३२ करोड ६९ लाख रहेको थियो ।

चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा ५ करोड ४४ लाख व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफाभन्दा घटेको हो । तर गत बर्षको प्रथम त्रैमासको तुलनामा भने चालू आवको यसै अवधिमा १३ करोड ७४ लाख रुपैयाँले फ्रि प्रोफिट बढेको छ ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

चुक्ता पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानीमा सुधार

बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँमा स्थिर रहेपश्चात बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ २० पैसाबाट २४ रुपैयाँ ४५ पैसामा बढेको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.१६ गुणा बढी रहेको छ ।

बैंकले एक अर्ब ४३ करोड ४६ लाखको जगेडा कोष बढाएर ३ अर्ब ३० करोड ४९ लाख रुपैयाँ सञ्चित गरेको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष १३० प्रतिशत बढीले बढेको छ ।

निक्षेप संकलन र कर्जा विस्तार सन्तुलित

सानिमाले विहीबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार निक्षेप संकलन गत आवको प्रथम त्रैमासमा ६४ अर्ब ६४ करोड ०६ लाख रहेकोमा ८४ अर्ब १६ करोड ३२ लाखमा बढोत्तरी गरेको छ ।

त्यसैगरि कर्जा परिचालनतर्फ ५८ अर्ब ४१ लाख रहेकोमा बढोत्तरी गरेर ७५ अर्ब ८ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकले निक्षेप संकलन ३०.२० र कर्जा विस्तारलाई २९.४५ प्रतिशतले बढाउँदै आफ्नो खुद नाफा बढाएसँगै बैंकको अधिकांश सूचक सकारात्मक देखिएका हुन् ।

बैंकले व्यवसायको आकार बढाउँदै आफ्नो खुद नाफा बढाएर वाणिज्य बैंकहरुमा आफूलाई अब्बल बनाउन लागि परेको छ । 

खर्च नियन्त्रणको चूनौती

वाणिज्य बैंकहरुमा धेरै सूचकहरुमा आफू अब्बल बन्न प्रयासरत सानिमालाई खर्च नियन्त्रणको चुनौती थपिएको छ । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढ्दै जाँदा यसको नियन्त्रणमा व्यवस्थापन लाग्नुपर्ने देखिन्छ ।

समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ७२ तथा अन्य सञ्चालन खर्च ४७ प्रतिशतले बढेको छ । गत वर्ष यसै अवधिमा १७ करोड ४७ लाख रहेको कर्मचारी खर्च ३० करोड ११ लाख तथा १० करोड ९ लाख रहेको अन्य सञ्चालन खर्च १४ करोड ८८ लाखमा बढेको हो ।

निष्कृय कर्जा अनुपात घटाउन सधै अब्बल

विगतदेखि नै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम खराब कर्जा अनुपात कायम राख्दै आएको सानिमा बैंकले अहिले पनि यसको बिरासतलाई कायम नै राखेको छ । व्यवसायको आकारमा बढोत्तरी गर्दा समेत खराब कर्जा नियन्त्रण गर्दै जाने खुबीलाई भने अन्य बैंकले अनुसरण गर्दा राम्रै होला ।

गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा ०.१४ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.०८ प्रतिशतमा झरेको छ ।

खुद ब्याज आम्दानी अर्ब नजिक

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै ९७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ५२ करोड २७ लाख ब्याज आम्दानी गरेर १ अर्ब ५४ करोड ९५ लाख ब्याज खर्च गरेको हो ।

गत आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४ करोड २६ लाख रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३ करोड ५८ लाख रुपैयाँले बढाएको हो ।

निक्षेप लागत ७.४८, आधार ब्याजदर १०.५५ प्रतिशत

वित्तीय बजारमा तरलताको चरम संकटको अवस्था सिर्जना हुँदा त्यसको असर बैंकको वित्तीय विवरणमा पनि देखिएको छ । बैंकको आधार ब्याजदर र निक्षेप संकलन लागतमा वृद्धि भएको छ ।

गत आवको प्रथम त्रैमासमा बैंकको निक्षेप लागत ७.४३ प्रतिशतबाट ७.४८ मा बढेको छ भने आधार ब्याजदर १०.२७ बाट १०.५५ प्रतिशतमा बढेको छ ।

कर्जा विस्तारमा सीमा

प्रथम त्रैमासिक प्रतिवेदन अनुसार सानिमा बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहेको छ ।

यसअवधिमा बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.१४ प्रतिशत छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो अनुपात ७८.८८ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार हरेक वाणिज्य बैंकले एक सय रुपैयाँ निक्षेप संकलन गर्दा ८० रुपैयाँ मात्र कर्जा परिचालन गर्न पाउँछन् । बैंकको यस्तो सीमा पुगेकाले थप कर्जा परिचालन गर्न निक्षेप बढाएर पूँजी कोष अनुपात बढाउँदै लग्नुपर्ने देखिन्छ ।

पूँजी कोष अनुपात खुम्चिएकाले बैंकले ऋणपत्र जारी गर्न लागेको छ भने अब कर्जा विस्तार भन्दा निक्षेप संकलनमा जोड दिनुपर्ने बेला आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।