राष्ट्रिय वाणिज्य बैंकले कमायो सबैभन्दा धेरै नाफा,व्यवस्थापन बढ्दा फ्रि प्रोफिट कम

Nov 19, 2018 Tirtha Raj Poudyal

राष्ट्रिय वाणिज्य बैंक (RBB) ले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लोभलाग्दो प्रगति गर्दै वाणिज्य बैंकहरूमध्येमा पहिलो नम्बरमा स्थान बनाएको छ। यस अवधिमा बैंकले ५७.७३ प्रतिशतले खुद नाफा बढाएर एक अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको खुद नाफा ७० करोड ९५ लाख रुपैयाँ रहेको थियो ।

बैंकले खुद नाफामा मात्र हैन निक्षेप संकलनमा पनि सबै वाणिज्य बैंकलाई पछाडि छाड्दै लिड गरेको छ । कर्जा प्रवाहमा भने बैंक एनआइसी एशिया, नबिल, र नेपाल इन्भेष्टमेन्ट बैंकभन्दा पछाडि परेको छ ।

सरकारी स्वामित्वको अर्को विकास बैंक एनआईडिसीलाई प्राप्ती गरेको वाणिज्य बैंकको एकाध बाहेक धेरै सूचकहरुमा उल्लेख्य सुधार देखिन्छ। यद्यपी बैंकको खराब कर्जा अनुपात बढ्नु, कर्जा लगानीमा अन्य बैंकभन्दा पछाडि पर्नु, लगायतमा भने बैंकले आवश्यक ध्यान पुर्याउनुपर्ने अवस्था देखिन्छ ।

फ्रि प्रोफिट ७२ करोड २३ लाख मात्र

राष्ट्रिय वाणिज्य बैंकले नेपाल फाइनान्सिङ रिर्पोटिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसार साेमबार प्रकाशित प्रकाशित गरेको आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमता फ्रि प्रोफिट ७२ करोड २३ लाख मात्र रहेको उल्लेख छ ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ३९ करोड ६७ लाख रुपैयाँ व्यवस्था गर्नुपर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता धेरै घटेको हो ।

यद्यपी बैंकको गत आवको फ्रि प्रोफिटमा सामान्य सुधार भएको छ । बैंकको गत आवको प्रथम त्रैमासमा ७० करोड ९५ लाख बराबरको लाभांश क्षमता रहेको थियो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

प्रगति हेरेर लोभिने अनि चित्त बुझाउने मात्र

धेरै पटक साधारण शेयर जारी गर्ने चर्चा मात्र हुने गरेको यस बैंकको साधारण शेयर आम जनतामा निष्काशन हुन नसक्दा बैंकको प्रगतिमा आम जनताले हिस्सेदारी प्राप्त गर्न सकेका छैनन् ।

यद्यपी प्राप्ती गरेको एनआईडिसी तर्फको ३० हजार ९१० कित्ता शेयरको रकम फिर्ता लिन शेयरधनीहरुले नचाहँदा त्यो शेयर भने वाणिज्य बैंकमा रहेको छ । अधिकांश (९९ प्रतिशत भन्दा बढी) हिस्सा सरकारी स्वामित्वमा रहेकाले बैंकले जतिसुकै राम्रो प्रगति गरेपनि शेयर बजारका लगानीकर्ताले भने यति कमायो भनेर प्रगति हेर्ने अनि चित्त बुझाउने मात्र हो ।

प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ७२ पैसा

चालू आवको प्रथम त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी त्रैमासिक रुपमाम १२ रुपैयाँ ४३ पैसा अर्थात वार्षिक ४९ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

एनआईडिसीलाई प्राप्तीपश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ पुगेको छ ।

जगेडा कोषमा आकर्षक बढोत्तरी

एनएफआरएस अनुसार बैंकको जगेडा कोषमा १२ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले १४१ प्रतिशत बढीले जगेडा कोषको आकार बढाएको हो । गत आवको तुलनामा बैंकले ७ अर्ब ३५ करोड ६७ लाखले जगेडा कोष सुधार गरेको छ ।  वाणिज्य बैंकको प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ ३७ पैसा रहेको छ ।

सबैभन्दा बढी निक्षेप संकलन गर्दा कर्जा लगानीमा पछाडि

बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै एक खर्ब ६४ अर्ब १६ करोड ८० लाख निक्षेप संकलन तथा एक खर्ब २३ अर्ब ९० करोड ८९ लाख कर्जा लगानी गरेको छ ।

निक्षेप संकलनमा सबै बैंकलाई लिड गरेको यस बेंक कर्जा प्रवाहमा भने एनआइसी एशिया, नबिल र इन्भेष्टमेन्ट बैंकभन्दा पछाडि परेको छ । चालू आवको प्रथम त्रैमासमा एनआइसी एशियाले एक खर्ब ३९ अर्ब, नबिलले एक खर्ब २८ अर्ब र इन्भेष्टमेन्टले एक खर्ब २४ अर्ब कर्जा परिचालन गरेका छन् ।

समीक्षा अवधिमा बैंकले कर्जा १३.१२ प्रतिशत र निक्षेप संकलन १०.५३ प्रतिशतको वृद्धि गरेको हो ।

खुद ब्याज आम्दानी दुई अर्ब ६० करोड

वाणिज्य बैंकले आफ्नो व्यवसाय विस्तारलाई बढाएर दुई अर्ब ६० करोड ६४ लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ । तीन अर्ब ७१ करोड ९१ लाख ब्याज आम्दानी गरेको यस बैंकले एक अर्ब १२ करोड २६ लाख ब्याज खर्च गरेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४८.९४ प्रतिशतले बढेको हो । बैंकको कर्जा निक्षेप अनुपात ६७.८७ प्रतिशत रहेको बैंकले अझै प्रशस्त कर्जा विस्तार गर्ने ठाउँ रहेको छ । बैंकको पूँजी कोष १३.७५ प्रतिशत रहेकाले पनि बैंकलाई त्यो स्थान रहेको देखिन्छ ।

बैंकको कोषको लागत २.७४ प्रतिशत तथा आधार ब्याजदर ६.३३ प्रतिशत मात्र रहेकाले बैंकबाट सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने क्षमता रहेको छ । यसबाट बैंकले थप मुनाफा बढाउन सक्दछ ।

खराब कर्जा पनि घटाउने कि !

एनआईडिसी विकास बैंकको खराब कर्जा थपिँदा बैंकको निष्कृय कर्जा अनुपातमा सुधार आउन सकेको छैन । गत आवको प्रथम त्रैमासमा २.९२ प्रतिशत रहेको खराब कर्जा अनुपात ३.८३ प्रतिशतमा बढेको छ ।

खराब कर्जा अनुपात बढ्दै जाँदा बैंकलाई थप नोक्सानी व्यवस्थापन गर्नुपर्ने र मुनाफा घट्ने भएकाले बैंक व्यवस्थापनले खराब कर्जा घटाउन आवश्यक पहिलकदमी लिन जरुरी छ ।

खराब कर्जा घटाउँदै असल कर्जा प्रवाहमा जोड दिँदै कर्जा लगानी बढाउँदा बैंकको नाफा अझ विस्तार हुनेमा दुईमत देखिन्न ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।