चौथो कारोबार दिनमा नेप्से हरियाली, परिसूचक झिनो अंकले बढे पनि कारोबार घट्याे

Nov 27, 2018 Merolagani

चौथो कारोबार दिनमा आएर शेयर बजार परिसूचक झिनो अंकले बढेको छ। यसअघि गत बुधबार एक अंकभन्दा कम अंकले बढेको नेप्से त्यसयताको तीन कारोबार दिनमा घट्दै आएको थियो ।

अर्थ मन्त्रालयले वाणिज्य बैंकहरुलाई सरकारी कोषको रकम प्रयोग गर्न दिने विषयमा फेरि राष्ट्र बैंक र महालेखा नियन्त्रकलाई पत्राचार गरेपछि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । अर्थमन्त्रालयले पछिल्लो पटक स्पष्ट रुपमा 'ग' वर्गको खातामा रहेको रकम चलाउन दिने भनेर पुन पत्राचार गरेपछि अबको एक साताभित्र सरकारी कोषको करीब ३५ अर्ब रुपैयाँ रकम वाणिज्य बैंकहरुले पाउने निश्चित भएको हो ।

त्यसका अतिरिक्त सोमबार लगानीकर्ता संघहरूको आन्दोलन धर्नापछि नेप्सेले मंसिर २३ गतेदेखि लगानीकर्ताहरुलाई अनलाईन कारोबार प्रणालीबाट शेयर खरिद बिक्रीमा संलग्न गराउने भएपछि लगानीकर्ताको मनोबलमा केही सुधार हुँदा सूचक वृद्धिमा सहयोग पुगेको आंकलन गर्न सकिन्छ । 

मंगलबार नेप्से १.६१ अंकले बढेर ११६१.४३ अंकमा पुगेको छ । त्यसै गरी क वर्गाका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि ०.३४ अंकले बढेर २४६.९६ मा उक्लेको छ ।

यस दिन १५४ कम्पनीको ७ लाख ८८ हजार १६९ कित्ता शेयर २३ करोड १६ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । सोमबार ३० करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबारको तुलनामा कारोबार रकम भने ७ करोड ६८ लाख रुपैयाँले संकुचित भएको हो ।

आज कारोबारमा आएका दश उप सूचक मध्ये पाँच उप समूहको सूचक बढेको छ भने पाँच उप समूहको सूचक नकारात्मक बनेका छन् ।

सकारात्मक भएका उप सूचकमध्ये होटल समूहको सूचक सबैभन्दा धेरै १०.०८ अंकले बढेको छ । जलविद्युत ४.८१, विकास बैंक ३.८६, अन्य २.२७ र बैकिङ्ग उप समूहको सूचक पनि २.२२ अंकले बढ्न पुगे ।

त्यसैगरी नकारात्मक हुने उप समूह मध्येसबै भन्दा धेरै निर्जीवन बीमाको सूचक २७.९३ अंकले घटेको छ । जीवन बीमा ६.१, माइक्रोफाइनान्स १.४८, उत्पादनमूलक १.७ र वित्त उप समूहको सूचक ०.८६ अंकले ओरालो लागेको छ ।

मंगलबार पनि एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । बैंकको ५४ हजार २८५ कित्ता शेयर एक करोड ९४ लाख रुपैयाँ बराबरमा किन बेच भएको छ । आकर्षक लाभांश घोषणा गरेयता बैंकको उच्च कारोबार हुँदै आएको छ ।

नेपाल बैंकको ३५ हजार ७४४ कित्ता शेयर एक करोड ६ लाख रुपैयाँमा खरिद बिक्री भयो भने नेपाल क्रेडिट एण्ड कर्मस बैंकको ४९ हजार ८७५ कित्ता शेयर एक करोड चार लाख रुपैयाँमा किन बेच भयो ।

मंगलबार सूर्याेदय लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ । लघुवित्तको शेयर मूल्य ८.३७ प्रतिशतले बढेको छ । नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य ६.४३ प्रतिशतले वृद्धि भएको छ भने कालिका लघुवित्तको शेयर मूल्य ५.७५ प्रतिशतले बढेको छ ।

अपि पावर र समीट माइक्रोफाइनान्सको शेयरमूल्य ४ प्रतिशतले बढी बढेको छ । शेयरमूल्य बढोत्तरी हुने अन्य कम्पनीहरुमा प्रोग्रेशिभ फाइनान्स, मेरो माइक्रोफाइनान्स, सहयोगी विकास बैंक, आरएसडिसी लघुवित्त र रैराङ्ग हाइड्रोपावर रहेका छन् ।

यता एनएलजी इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, तिनाउ डेभलपमेण्ट बैंक, निर्धन उत्थान रिलायन्स फाइनान्स, नेपाल सेवा लघुवित्त, एक्सेल डेभलपमेण्ट बैंक, समता माइक्रोफाइनन्स, लक्ष्मी लघुवित्त र एभरेष्ट इस्योरेन्सको सबैको शेयरमूल्य ३ प्रतिशत बढीले घटेको छ ।

comments powered by Disqus