राष्ट्रिय गौरवका सडक आयोजना प्रगति औसत

Jan 19, 2019 RSS

सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन नसकेको पाइएको छ। राष्ट्रिय योजना आयोगको पछिल्लो विवरणअनुसार उत्तर–दक्षिण (कोशी लोकमार्ग), कालीगण्डकी करिडोर, हुलाकी लोकमार्ग लगायतका आयोजना सोचअनुसार अगाडि नबढेको पाइएको छ ।

सरकारले पछिल्लो समयमा ती आयोजनालाई गति दिने हरसम्भव प्रयास गरेको भए पनि सोचेअनुसार प्रगति भने हुन सकेको छैन । हुलाकी लोकमार्ग शुरु भएको ११ वर्ष भए पनि हालसम्म भौतिक प्रगति ४१ दशमलव नौ प्रतिशत मात्रै भएको छ । नेपालको पूर्वपश्चिम हुँदै तराईका बस्तीमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यका साथ सो आयोजना शुरु गरिएको थियो ।

पूर्वको केचनाकलनदेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने यो लोकमार्गको कुल लागत रु ४७ अर्ब २७ करोड रहेको छ । आव २०६५/०६६ देखि शुरु भएको सो आयोजना आव २०७४/०७५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर तोकिएको समयमा आयोजना पूरा नभएपछि संशोधित तालिकाअनुसार आव २०७७/०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि सो अवधिमा समेत आयोजना पूरा हुने देखिएको छैन ।

आयोजनामा पर्ने जग्गाको लगत कट्टा कार्यमा सम्बन्धित निकायको यथोचित सहयोग नहुनु र लगत कट्टाका लागि प्राविधिक जनशक्तिको अभाव हुनु यसको प्रमुख समस्याका रुपमा देखिएको छ । यस्तै चितवनमा राष्ट्रिय निकुञ्जअन्तर्गत अमुवा पोष्टदेखि रिऊ खोलासम्मको खण्डमा विस्तृत सर्वेक्षण गर्ने अनुमतिसमेत प्राप्त भएको छैन ।

त्यस्तै उत्तर दक्षिण कोशी लोकमार्ग तेह्रथुम जिल्लाको वसन्तपुरदेखि उत्तरी सीमाना किमाथांकासम्मको १६२ किलोमिटर लामो छ । त्यसमा ५० किलोमिटर क्षेत्रमा यातायात सञ्चालनमा आएको छ । आव २०६५/०६६ मा शुरु भएको आयोजना आव २०७०/०७१ मा पूरा गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म पूरा भएको छैन । पछिल्लो पटक आव २०७७/०७८ मा पूरा गर्ने लक्ष्य राखिएको छ ।

सो आयोजनाअन्तर्गत चेपुवा किमाथांका खण्डमा रेखाङ्कनको विवाद देखिएको छ । यस्तै वनक्षेत्रमा काम गर्न अवरोध हुने तथा दरबन्दीअनुसार जनशक्ति नहुनु र विस्फोटक पदार्थको अभाव हुनुजस्ता समस्या देखिएका छन् । सरकारले वन क्षेत्रको काम गर्न सहज वातावरण बनाउने, चीनको बाटो भई निर्माण उपकरण तथा इन्धन ढुवानीको लागि अनुमतिको व्यवस्था गर्ने र सहजरुपमा जग्गाको उपलब्धताका लागि आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग पनि विगत नौ वर्षदेखि निर्माणमा रहेको छ । सो आयोजनाको हालसम्मको भौतिक प्रगति मात्रै आठ दशमलव चार प्रतिशत भएको देखिन्छ । आव २०६५/०६६ मा शुरु भएको आयोजना आव २०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि पछिल्लो पटक संशोधन गरेर आव २०७८/०७९ पु¥याइएको छ । सो आयोजनाअन्तर्गत नवलपरासीको गैँडाकोट महेश्वर खोलाखण्डमा रुख कटान गर्ने स्वीकृति नपाउँदा लामो समयसम्म समस्यामा परेको थियो ।

त्यस्तै कर्णाली करिडोर शुरु भएको नौ वर्ष पूरा भएको छ । हालसम्म आयोजनाको कुल भौतिक प्रगति १२ प्रतिशत मात्रै भएको छ । सो आयोजनाअन्तर्गत खुलालु सिमिकोट खण्डमा १९६ किलोमिटर र हिल्सा सिमिकोट खण्ड ८८ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएको छ । आव २०६५/०६६ देखि शुरु भएको आयोजना आव २०७०/०७१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तोकिएको समयमा पूरा नभएपछि आयोजनाको संशोधित तालिकाअनुसार आव २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

निर्माण सामग्री प्राप्त नभएको, इन्धन आयातामा समस्या रहेको, अनुगमनमा कठिनाइ देखिएको तथा दरबन्दीअनुसार जनशक्ति प्राप्त नभएको जस्ता समस्याका कारण आयोजनाले गति लिन सकेको छैन । पछिल्लो पटक सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारले समेत चासो देखाएका कारण आयोजनाले गति लिने विश्वास गरिएको छ ।

यसैगरी मध्यपहाडी पुष्पलाल लोकमार्गको हालसम्म भौतिक प्रगति करीब ५० प्रतिशतको हाराहारीमा रहेको छ । समष्टिगत वित्तीय प्रगति गति ४२ प्रतिशतको हाराहारीमा पुगेको छ । भौतिक पूर्वाधारका क्षेत्रमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई गति दिन सरकारले विशेष कार्ययोजनाका साथ काम गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।