नेप्सेले बोनस समायोजनपछि आइतबार कृषि विकास बैंकको शेयर प्रतिकित्ता ३१४ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ । आइतबार बैंकको कारोबार समायोजन मूल्यलाई आधार मानेर खुलेको छ ।
बैंकको नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधारमूल्य ३७३ रुपैयाँ ५८ पैसा कायम भएको छ । यससँगै बैंकको शेयरमूल्य औसत आधारमूल्यभन्दा ५९ रुपैयाँ कम भएको छ । समायोजन पश्चात कारोबार खुलेको बैंकको शेयरमूल्यमा पुन करिब ६ प्रतिशत गिरावट आएको छ ।
कृषि विकास बैंकले केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा चैत १५ गते आह्वान गरेको वार्षिक साधारण सभामा सर्वसाधारण शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र १५.०५३ नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश प्रस्ताव पनि अनुमोदन हुनेछ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २८ रुपैयाँ २५ पैसा कायम गरेको छ। बैंकको मूल्य आम्दानी अनुपात करिब ११ गुणा मात्र बढी छ।