तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १५ अर्ब वित्तीय बजारमा पठाउने

Apr 18, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले वैशाख ५ गते बिहीबार वित्तीय बजारमा थप १५ अर्ब रुपैयाँ पठाउने भएको छ । तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले रिपो मार्फत उक्त रकम बैकिङ प्रणालीमा पठाउन लागेको हो ।

अन्तर बैंक कारोबारको ब्याजदर झण्डै ६ प्रतिशतको हाराहारीमा पुगेपछि केन्द्रिय बैंकले रिपो जारी गर्न लागेको हो । त्यस्तै अघिल्लो साता निष्काशन गरेको दश अर्बको रिपो समेत बिहीबार परिपक्क हुने भएपछि बजारमा थप तरलता प्रवाह गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बुधबारसम्म बंैकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ हाराहारीमा तरलता छ । ७ दिनका लागि निष्कासन हुन लागेको रिपो वैशाख १२ गते परिपक्व हुने छ । रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ ।

रिपो आज अपरान्ह ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

केन्द्रीय बैंकले खुला बजार र ब्याजदर करिडोर उपकरणमार्फत बजारमा तरलता व्यवस्थापन गरिरहेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव भएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

अहिले अधिकासं बाणिज्य बैंकहरुको पुूँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात ८० को हाराहारीमा छ । बैंकहरुले पुरानो सम्झौता गरेका कर्जा बाहेक नयाँ कर्जा प्रबाहमा रोक लगाएको अवस्था छ ।

चैत महिनाको अन्तिम साता बैंकहरुबावट ४ अर्व निक्षेप घटेको छ । चैतको तेस्रो साता बैंकहरुको २१ अर्ब निक्षेप थपिएको थियो । चैतको अन्तिम सातामा बैंकवाट ४ अर्ब निक्षेप घटेको अवस्थामा पनि ७ अर्व कर्जा प्रबाह गरेका हुन ।

अहिलेको सरकारी ढुकुटीमा १३० अर्ब जम्मा भएर बसेको छ । सरकारी ढुकुटीमा पैसा थन्कीएर बसेको हुनाले अहिले बैंकहरुसंग कर्जा लगानी गर्न योग्य रकमको रुपमा करिब ३० अर्ब रुपैयाँ मात्र रहेको बैंकर बताउछन ।

comments powered by Disqus