राष्ट्र बैंकले वित्तीय बजारमा १५ अर्ब पठाउने, अन्तर बैंक ब्याजदर उच्च

Jun 05, 2019 Merolagani

बैंकहरुमा तरलताको अवस्था असहज भएर अन्तर बैंक कारोबार र ब्याजदर बढ्न थालेपछि राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा १५ अर्ब रुपैयाँ प्रवाह गर्ने भएको छ।  राष्ट्र बैंकले जेठ २३ गते बिहीबार १५ अर्ब रुपैयाँको रिपो बोलकबोल मार्फत बिक्री गर्ने जनाएको छ।

तरलताको अवस्था असहज हुँदा अन्तर बैंक कारोबारको ब्याजदर नै ७ प्रतिशत माथि उकालो लागेपछि राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो। लगानी योग्य रकमको अभाव भएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिएर कारोबार गर्नेक्रम बढेको छ। अन्तर बैंक कारोबार बढेपछि ब्याजदर पनि लगातार बढिरहेको छ।

बैंकहरुको सिसिडी सीमाभन्दा माथि पुगेपछि अन्तर बैंक कारोबारबाट मिलाउन लाग्दा ब्याजदर बढेको हो। राष्ट्र बैंकले गत मंसिरमा अन्तर बैंक सापटी लिएर पनि सीसीडी रेसियो मेन्टेन गर्न पाउने व्यवस्था गरेको थियो। यस्तो व्यवस्थाले अन्तर बैंक कारोबार बढेको बैंकरहरु बताउँछन् ।

अन्तर बैंक कारोबारको बढ्दो ब्याजदरले बजारमा तरलता अभाव भएको संकेत गरेको छ । तर राष्ट्र बैंकका अनुसार बुधबारसम्म बैंकहरुमा करिब २८ अर्ब तरलता रहेको छ ।

बैंकले रिपो मार्फत प्रवाह गरेको रकमले बैंकहरुमा देखिएको कर्जायोग्य लगानी रकमको अभावलाई भने सम्बोधन गर्दैन। यसबाट लिने रकमले बैंकहरुलाई आन्तरिक नगद प्रवाह गर्न र अन्तर बैंक ब्याजदर तल झार्न भने सहयोग पुग्छ ।

रिपो मार्फत लिने तरलताले बैंकहरुले अनिवार्य मौज्दात कायम गर्नुपर्ने २० प्रतिशतभित्रै पर्ने रकम भएकाले बैंकहरुलाई आन्तरिक नगद प्रवाह गर्न (ठूलो रकमहरुको भुक्तानी) र बैंकको सिआरआर अनुपात कायम गर्न मात्र उपयोगि हुन्छ।

केन्द्रीय बैंकले एक हप्तामा परिपक्व हुने गरी जारी गर्न लागेको रिपो जेठ ३० गते परिपक्क हुनेछ। रिपो बिहीबार नै अपराह्न ३ बजे बोलकबोल गरेर जारी हुने राष्ट्र बैंकले जनाएको छ। रिपोको ब्याजदर पाँच प्रतिशत तोकिएको छ।

बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । ती संस्थाहरुले अनलाईन विडिङ्ग मार्फत बोलकबोलमा सहभागिता जनाउन सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाहरुमा बैंकिङ्ग प्रणालीमा तरलता रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ। यस्तै अधिक रकम भएमा रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्दछ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।