बैंकले एक हजार रुपैयाँ अंकित दरमा २० लाख युनिट ऋणपत्र बिक्रमा ल्याएको हो। कूल निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ८ लाख युनिट सर्वसाधारणलाई छुट्याइएको छ भने बाँकी ६० प्रतिशत अर्थात १२ लाख युनिट बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्ने छ।
ऋणपत्रमा आवेदन गर्न चाहाने लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरीदका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्रमा लगानीकर्ताले सि-आश्वा अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेर मार्फत आवेदन गर्न सक्नेछन्।
बैंकले निष्काशन गर्ने “१० प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर, २०८६” को अवधि दश वर्ष रहेको छ भने लगानी गर्ने लगानीकर्तालाई दश वर्षसम्म वार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा लगनीयोग्य रकम अभाव खड्किएपछि केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा साधन परिचालनमा देखिने असन्तुलनलाई कम गर्न अनिवार्य रुपमा चुक्ता पूँजी २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ। सोहि अनुसार पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र जारी गर्ने तयारीमा रहेका छन्।