सातामा करिब २ प्रतिशत घट्यो नेप्से

Mar 06, 2021 02:08 PM Merolagani



यस साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। कारोबार भएका पाँच दिनमध्ये तीन कारोबार दिन उच्च अंकले ओरालो लाग्दा यस साता समग्रमा नेप्से घट्न पुगेको हो।

गत साताको अन्तिम कारोबार दिन २५५४.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.८६ प्रतिशत अर्थात ४७.४५ अंक घटेर २५०६.६८ विन्दुमा झरेको छ। त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स २.२४ प्रतिशत, फ्लोट इण्डेक्स १.८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ प्रतिशत घटेको छ।

यस साताको गिरावटलाई विश्लेषकहरुले करेक्सनको संज्ञा दिएका छन्। बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लागेका कारण यस साता करेक्सन भएको उनीहरुको भनाइ छ। यद्यपि, बजार अझै बुलिश ट्रेण्डमा नै रहेका कारण करेक्सन सकिएपछि पुनः उकालो लाग्ने उनीहरुको विश्लेषण छ। साताको अन्तिम कारोबार दिन भएको ९० अंकको वृद्धिलाई करेक्सन सकिएर उकालो लागेको विश्लेषण गरेका छन्।

यस साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता ३४ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता जम्मा ३२ अर्ब ४८ करोड रुपैयाँ बराबरको मात्र शेयर खरिदबिक्री भएको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ६५ अर्ब रुपैयाँले घटेको छ। गत साताको अन्तिम दिनमा ३५ खर्ब १९ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साताको अन्तिम दिन घटेर ३४ खर्ब ५३ अर्ब रुपैयाँमा झरेको छ।

समग्र नेप्से ओरालो लाग्दा पनि यस साता व्यापार र होटल तथा पर्यटन उपसमूहको परिसूचक भने उकालो लागेका छन्। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३१.४९ प्रतिशत बढेको छ। यस उपसमूह अन्तर्गतको साल्ट्र ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य उच्च दरमा बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको हो।

त्यसैगरी, यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक ८.९६ प्रतिशत बढेको छ। यस उपसमूहलाई यस साता चन्द्रागिरी हिल्सले टेवा दिएको हो। चन्द्रागिरीको शेयरमूल्य दैनिक सर्किट लेभलमा कारोबार भएसँगै यस उपसमूहको परिसूचक पनि बढ्न पुगेको हो।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ३.८५ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक घटेको छ।

मोस्ट पपुलर बाइ स्टकको सूचीमा यस साता चन्द्रागिरी हिल्स, बैंक अफ काठमाडौँ, राधी विद्युत कम्पनी लगायतका कम्पनीहरु परेका छन्। त्यसैगरी, मोस्ट पपुलर सेल स्टकको सूचीमा भने यस साता एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, मिर्मिरे माइक्रोफाइनान्स, सिटिजन्स म्युचुअल फण्ड २ लगायतका कम्पनीहरु परेका छन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।