मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिनु अघि कस्तो छ लघुवित्त? हेरौँ

Oct 12, 2023 11:12 AM Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले असोज २५ गतेदेखि सर्वसाधारणका लागि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ।

लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता साधारण शेयर निष्काशन गरेको हो।

एफपीओमा कसरी आवेदन दिने?

लघुवित्तले निष्काशन गर्ने एफपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिनेछ।

लघुवित्तको एफपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिन?

लघुवित्तको एफपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट भएमा कुल १२ हजार ३८१ आवेदकले लघुवित्तको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा ६.४५ कित्ता शेष रहन्छ। बाँकी रहेको ६.४५ कित्ता शेयर पनि सोही १२ हजार ३८१ आवेदकमा नै वितरण गरिने भएको हुनाले ६ जना आवेदकले थप १ कित्ता शेयर प्राप्त गर्न सक्नेछन्। त्यसैले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गर्न, लगानीकर्ताले न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ।

 

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले लघुवित्तलाई इक्राएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। इक्रा नेपालले प्रदान गरेको उक्त रेटिङ्गले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।

इक्रा नेपालले लघुवित्तलाई २०८० जेठ १७ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८१ जेठ १६ गतेसम्म बहाल रहनेछ।

कस्तो लघुवित्त हो?

मिर्मिरे लघुवित्त, कम्पनी ऐन, २०६३ कमोजिम २०६६ पुस २ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो। लघुवित्तले २०६७ असोज ७ गते बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृती प्राप्त गरी ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको हैसियतले सोही वर्षको असोज २५ गतेदेखि आफ्नो वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ।

लघुवित्तको कारोबार गर्ने मुख्य स्थान बनेपा नगरपालिका ८, काभ्रेपलाञ्चोकमा रहेको छ। राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको नेपालभरी ७७ वटै जिल्लामा शाखा कार्यालयहरु रहेका छन्। चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा लघुवित्तको ७ वटा प्रादेशिक कार्यालय, ५ वटा उप–प्रादेशिक कार्यालयसहित १५० वटा शाखा कार्यालयहरु रहेका छन्।

लघुवित्तले २०७१ चैत ४ गतेदेखि ९ गतेसम्म आईपीओ निष्काशन गरी २०७२ वैशाख २८ गते बाँडफाँट गरेको थियो। लघुवित्तको शेयर २०७२ साउन ३२ गते नेप्सेमा सूचीकृत भएको थियो।

लघुवित्तले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गरी २०७७ असार २१ गतेदेखि एकिकृत कारोबार शुरु गरेको थियो। त्यसैगरी, लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्त गरी २०७७ भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो भने बुद्धज्योति लघुवित्तलाई प्राप्त गरी २०७९ भदौ १५ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो।

एफपीओ जारी गर्नुको उद्देश्य

लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो। त्यसैगरी, लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुका लागि आवश्यक पूँजी संकलन गर्न पनि एफपीओ जारी गर्न लागेको हो।

चालु आर्थिक वर्षमा ४ करोड ७१ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण

लघुवित्तले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ करोड ७१ लाख १४ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, चालु आर्थिक वर्षमा लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६१ पैसा पुग्ने प्रक्षेपण गरेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३३ पैसा पुग्ने अनुमान गरिएको छ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले असार अन्त्यसम्ममा ४ करोड ४७ लाख ४९ हजार रुपैयाँ सञ्चित नाफा कमाएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ८६ पैसा रहेको छ।

त्यसैगरी, आगामी आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले १४ करोड ६ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गरी प्रतिशेयर आम्दानी १० रुपैयाँ २ पैसा पुर्याउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ २८ पैसा पुग्ने अनुमान गरिएको छ।

सञ्चालक समितिको संरचना

लघुवित्तको सञ्चालक समितिमा ७ जना सञ्चालक रहका छन्। जसमध्ये ४ जना संस्थापक शेयरधनीहरुबाट निर्वाचित सञ्चालक रहेका छन् भने २ जना सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित सञ्चालक रहेका छन्। बाँकी १ जना भने स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालक रहेको छ।

लघुवित्तको सञ्चालक समितिका अध्यक्ष संजय कुमार श्रेष्ठ रहेका छन्। त्यस्तै, अन्य सञ्चालकहरुमा सन्तोष फुयाल, जनक बहादुर बोहरा, सन्जु घिमिरे र प्रविण भट्टराई रहेका छन्। बाँकी दुई सञ्चालकको पद भने रिक्त रहेको लघुवित्तले जनाएको छ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी, नायव कार्यकारी प्रमुख मिनबहादुर बाेहरा  र सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहरा रहेका छन्।

comments powered by Disqus