उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिनु अघि कस्तो छ लघुवित्त? हेरौँ

Nov 07, 2023 11:01 AM Merolagani

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (कात्तिक २१) गतेदेखि सर्वसाधारणका लागि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१.१८ कित्ता शेयर निष्काशनमा ल्याएको हो।

एफपीओमा कसरी आवेदन दिने?

लघुवित्तले निष्काशन गरेको एफपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि मंसिर ५ गतेसम्म लम्बिनेछ।

लघुवित्तको एफपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिन?

लघुवित्तको एफपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

निष्काशन बन्द भएपश्चात धितोपत्र बाँडफाँट निर्देशिका अनुसार १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट भएमा कुल १७ हजार ८४५ आवेदकले लघुवित्तको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसरी बाँडफाँट हुँदा १.१८ कित्ता शेष रहन्छ। बाँकी रहेको १.१८ कित्ता शेयर पनि सोही १७ हजार ८४५ आवेदकमा नै वितरण गरिने भएको हुनाले १ जना आवेदकले थप १ कित्ता शेयर प्राप्त गर्न सक्नेछन्।

त्यसैले थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गर्न, लगानीकर्ताले न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ।

 

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले लघुवित्तलाई इक्राएनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। इक्रा नेपालले प्रदान गरेको उक्त रेटिङ्गले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ।

इक्रा नेपालले लघुवित्तलाई २०८० असार ५ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८१ असार ४ गतेसम्म बहाल रहनेछ।

कस्तो लघुवित्त हो?

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था २०७० पुस १७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो। लघुवित्तले २०७१ असोज १३ गते लघुवित्त वित्तीय संस्थाको रूपमा वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी २०७१ कात्तिक २१ गतेका दिनदेखि औपचारिक रुपले कारोवार सुरु गरेको थियो। लघुवित्तको कार्य क्षेत्र नेपाल भरी रहेका छन्। यस लघुवित्त उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थासँग गाभिए पश्चात् उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ असार २६ गतेदेखि एकिकृत कारोबार सञ्चालन गरिरहेको छ।

लघुवित्तको कारोबार गर्ने मुख्य स्थान सिद्धार्थनगर नगरपालिका वडा नं १२ भैरहवा, रुपन्देहीमा रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा देशभरका २८ जिल्लाहरुमा लघुवित्तको जम्मा ८२ शाखा कार्यालयहरु रहेका छन्। यसका साथै, लघुवित्तले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृती लिई नेपाल भर शाखा, उपशाखा तथा अन्य कार्यालयहरु खोली कारोवार गर्न सक्नेछ।

एफपीओ जारी गर्नुको उद्देश्य

लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो। त्यसैगरी, लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको संकलन गर्न, लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुका लागि आवश्यक पूँजी संकलन गर्न पनि एफपीओ जारी गरेको हो।

निष्काशनबाट प्राप्त हुने कुल रकमलाई कसरी र कुन क्षेत्रमा प्रयोग गरिनेछ?

थप साधारण शेयर निष्काशन गरी प्राप्त हुने पुँजी, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली र अन्य प्रचलित कानून बमोजिम “घ” वर्गको वित्तीय संस्थाले गर्न पाउने कार्यको अधिनमा रही वित्तीय संस्थाको व्यावसायिक प्रयोजनमा उपयोग गरिनेछ। थप साधारण शेयर निष्काशन गरी प्राप्त हुने रकम लघुवित्तको नियमित कारोबार एवं आर्थिक कारोवारहरु विस्तार एवं वृद्धि गर्न उपयोग गरिनेछ।

चालु आर्थिक वर्षमा २ करोड २९ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण

लघुवित्तले चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड २९ लाख १८ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, चालु आर्थिक वर्षमा लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९१ पैसा पुग्ने प्रक्षेपण गरेको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २० पैसा पुग्ने अनुमान गरिएको छ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले असार अन्त्यसम्ममा ९६ लाख १४ हजार रुपैयाँ सञ्चित नाफा कमाएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यसैगरी, आगामी आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८१/८२ मा लघुवित्तले ४ करोड ९१ लाख रुपैयाँ सञ्चित मुनाफा आर्जन गरी प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६१ पैसा पुर्याउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ८१ पैसा पुग्ने अनुमान गरिएको छ।

सञ्चालक समितिको संरचना

लघुवित्तको सञ्चालक समितिमा ७ जना सञ्चालक रहका छन्। जसमध्ये ४ जना संस्थापक शेयरधनीहरुबाट निर्वाचित सञ्चालक रहेका छन् भने २ जना सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित सञ्चालक रहेका छन्। बाँकी १ जना भने स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालक रहेको छ।

लघुवित्तको सञ्चालक समितिका अध्यक्ष खड्ग बहादुर राना रहेका छन्। त्यस्तै, अन्य सञ्चालकहरुमा संस्थापक समूहतर्फबाट खिल राज मैनाली र तुलसी राम खनाल रहेका छन् भने सर्वसाधारण समूहतर्फबाट राजन तिवारी र यम कुमार खड्का रहेका छन्। लघुवित्तको स्वतन्त्र सञ्चालकमा भार्गव धिताल रहेका छन्। बाँकी १ सञ्चालकको पद भने रिक्त रहेको लघुवित्तले जनाएको छ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक, नायव कार्यकारी अधिकृत नारायण अधिकारी र वरिष्ठ प्रबन्धक हरिहर गौतम रहेका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।