एकबर्षमा मुद्रास्फिति दर दोब्बर पुग्यो, तलब तथा ज्यालादर वृद्धिदर भने न्यून

Feb 21, 2016 Mero Lagani

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अर्थतन्त्रको समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । ६ महिनाको अवधिमा मुद्रास्फिति दर बढेर १२.१ प्रतिशत पुगेको छ । जबकी अघिल्लो महिना मंसिरमा मुद्रास्फिति दर ११.६ प्रतिशत रहेको थियो भने अघिल्लो वर्षको यही अवधिमा मुद्रा स्फिति दर ६.८ प्रतिशत मात्रै थियो । तराईमा लामो समय बन्द हड्ताल तथा आपूर्ति व्यवस्थामा आएको व्यवधान जस्ता अन्तर्निहित कारणहरुले मुद्रास्फीति बढ्दै गएको राष्ट्र बैकले जनाएको छ ।



पछिल्लो ६ महिनाको अवधिमा मूल्यवृद्धि आकाशिएको छ । दोहोरो अंकको मूल्य वृद्धि मूख्य तया खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क १५.२ प्रतिशतले बढेको कारण भएको हो । गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर २०७२ पुसमा ९.७ प्रतिशत रहेको छ ।

 

तराईमा लामो बन्द हड्ताल तथा आपूर्ति व्यवस्थामा आएको व्यवधान जस्ता अन्तर्निहित कारणहरुले मुद्रास्फीति बढ्दै गएको राष्ट्र बैकले जनाएको छ । तराई क्षेत्रका नाकाहरुमा आवागमन सहज हुदैं गएबाट गत भाद्र महिनादेखि सुरु भएको मूल्य वृद्धिको दवाव कम हुँदै जाने अपेक्षा गरिएको छ । 

मुद्रास्फीतिमा उच्च चाप पर्नुका कारणहरुमा दलहन तथा गेडागुडी, घ्यू तथा तेल, मसला, मासु तथा माछा, लत्ता कपडा तथा जुत्ता लगायत उप–समूहहरुको मूल्यमा भएको उच्च वृद्धि रहेको छ । यी उप–समूहमध्ये दलहन तथा गेडागुडीको मूल्य ४६.९ प्रतिशत र घ्यू तथा तेलको मूल्य ३१.३ प्रतिशतले बढेको छ ।
साथै मसला, मासु तथा माछा, लत्ता कपडा तथा जुत्ताको मूल्यमा १७.६ प्रतिशत, १६.८ प्रतिशत र १३.७ प्रतिशतले वृद्धि भएको छ ।


काठमाडौं उपत्यकामा सबैभन्दा धेरै

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी अर्थात् १३.८ प्रतिशत, पहाडमा १२.१ प्रतिशत, तराईमा १०.७ प्रतिशत र हिमालमा १० प्रतिशतले मूल्य वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ६.९ प्रतिशत, पहाडमा ७.१ प्रतिशत र तराईमा ६.६ प्रतिशत रहेको थियो ।

भारतमा भन्दा नेपालमा दोब्बर बढी

नेपाल र भारत बीचको उपभोक्ता मुद्रास्फीति अन्तर आर्थिक वर्ष २०७२/७३ को पुस महिनामा भारतको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७ प्रतिशत रहेको तुलनामा नेपालको १२.१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर ६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ६.८ प्रतिशत र ५.२ प्रतिशत रहेकोले दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर १.६ प्रतिशत रहेको थियो ।

२०७२ बैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभाव, तराईको आन्दोलन र दक्षिणका व्यापार नाकाहरुमा भएको अवरोधका कारण नेपाल र भारतबीच मुद्रास्फीति दरको अन्तरमा वृद्धि हुन गएको केन्द्रिय बैंकको भनाई छ ।

तलब तथा ज्यालादर वृद्धिदर न्यून

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क समीक्षा अवधिमा वार्षिक विन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ०.८ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ५.४ प्रतिशतले वृद्धि भएको छ ।
तलब अन्तर्गत बैंक तथा वित्तीय संस्था, शिक्षा र सार्वजनिक संस्थान उप–समूहहरुको तलब सूचकाङ्क क्रमशः २.३ प्रतिशत, १.५ प्रतिशत र ०.७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ज्यालादर अन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्क क्रमशः ९.३ प्रतिशत, ५.६ प्रतिशत र ३.६ प्रतिशतले वृद्धि भएका छन्।

आगामी दिनहरुमा आर्थिक क्रियाकलापले सकारात्मक गति लिने अनुमान

आर्थिक परिदृश्य नेपालको दक्षिणी सीमा नाकाहरुमा भएको अवरोध क्रमशः खुकुलो हँुंदै गएकोले आगामी दिनहरुमा आर्थिक क्रियाकलापले सकारात्मक गति लिने अनुमान गरिएको छ ।

रासायनिक मल तथा बीउ÷विजनको आपूर्ति प्रभावित भएको तथा मौसम पनि अनुकूल नरहेकोले हिउँदे तरकारी एवम्गहुँको उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ ।

राष्ट्रिय गौरवका ठूला आयोजनाहरुलाई अत्यावश्यक इन्धन आपूर्ति गर्न शुरु गरिएकोले विकास–निर्माण कार्य अगाडि बढ्ने देखिन्छ ।

मुलुकको दक्षिणी भेग सामान्य अवस्थामा फर्किए सँगै इन्धन आपूर्ति सहज हँुंदै गएकोले आगामी दिनमा औद्योगिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

मुलुकमा बन्दै गएको सकारात्मक वातावरणको सन्देश बाह्य जगतमा प्रवाहित हुँदै जाँदा र पर्यटकीय सिजन पनि शुरु हुँदै गर्दा पर्यटन क्षेत्रसँग सम्वन्धित गतिविधि विस्तारै बढ्दै जानेदेखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा तेल तथा धातुजन्य पदार्थको मूल्य कम रहेको, अधिक तरलताको कारण बजार ब्याजदर न्यून रहेको र नेपाली रुपैंया अमेरिकी डलरसँगको तुलनामा कमजोर हुँदै गएकाले समष्टिगत मागमा सकारात्मक प्रभाव पर्ने र सो मार्फत आगामी दिनमा आर्थिक गतिविधिमा विस्तार आउने अवस्था देखिन्छ ।

भन्सार नाकामा भएको अवरोधका कारण आयातमा संकुचन आउनाले तथा इन्धन लगायत आवश्यक सामग्रीको अभावमा आर्थिक गतिविधिमा शिथिलता आएकोले मूल्य अभिवृद्धि कर, भन्सार राजस्व, अन्तःशुल्क, आयकर लगायतका कर राजस्व संकलनमा कमी आएको छ ।

 

पूँजी बजारमा रेकर्ड माथि रेकर्ड, हकप्रद र एफपीओले झन् उचाल्योे

 

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

 

 

 

 

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।