लघुवित्त र विकास बैंकको उपसमूह कहिलेसम्म एउटै ?

Aug 27, 2017 Merolagani

-परमेश्वर अधिकारी
नेपाल स्टक एक्स्चेञ्जमा विकास बैंक र लघुवित्तलाई एउटै उपसमूहमा राख्दा सूचक वास्तविक बन्न सकेको छैन । लघुवित्त र विकास बैंक फरक फरक समूह भएपनि एउटै मानेर उपसमूहमा राख्दा ‘प्राइस मुभमेण्ट’को वास्तविक अवस्था थाहा हुन नसकेको हो ।

विकास बैंकहरुको सेयर मूल्य घटेर लघुवित्त कम्पनीको सेयर मूल्य बढ्दा विकास बैंकको सूचक घटेको वा स्थीर अवस्थामा रहेको देखिन्छ ।

त्यसैगरी केही समय अघि विकास बैंकहरुको सेयरमूल्य माथि चढ्दै गर्दा लघुवित्त कम्पनीको सेयरमूल्य भारी मात्रामा घट्यो । उक्त समयमा पनि विकास बैंक समूहको सेयर मूल्य कति वृद्धि भयो भनेर सामान्य लगानीकर्ताले मेसो पाउन सकेनन् ।

लघुवित्तको भाउ बढ्दा विकास बैंकको सूचक बढ्ने तर विकास बैंकहरुको सेयर मूल्य बढ्दा लघुवित्तको अवस्था के भयो थाहा नपाउने अवस्था पनि सामान्य लगानीकर्ताले भोगिरहेका छन् । जसका कारण लघुवित्तमा उछाल आउँदा लघुवित्त र विकास बैंकहरुको सेयरमा भुक्किने गरेका उदाहरण पनि छन् ।

विकास बैंक र लघुवित्तको सूचक फरक फरक बनाउनु पर्ने सम्बन्धमा यस अघि नै आवाज नउठेको होइन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चार वटा वर्गलाई समान बनाउने सोच बनाएको भन्दै उपसमूहलाई अझै अलग अलग गर्ने काम हुन सकेको छैन । उता नेपाल स्टकले पनि कम्पनीहरुको वर्गीकरणलाई प्रभावकारी बनाउन सकेको छैन ।

के भन्छन् लगानीकर्ता ?

लगानीकर्ता छोटेलाल रौनियार भन्छन्, ‘सूचक वास्तविक हुन नसक्दा अन्योल देखिने गरेको छ । राष्ट बैंकले वर्गीकरणमा एकरुपता ल्याउने कामलाई अन्तिम रुप कहिले दिन्छ अहिले भन्न सकिन्न । तर, विकास बैंक र लघुवित्तको उप समूहलाई छिटो अलग गराउनु पर्छ ।’

नेप्सेको स्थापना हुँदा छ वटा मात्र उपसमूह थिए । सूचकलाई वास्तविक बनाउनका लागि २०५८ सालमा ती सूचकलाई टुक्राएर नौ वटा बनाइएको थियो । अहिले बैंक, विकास बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादन, अन्य र व्यापार गरी नौ समूहमा दुई सय ३५ हारहारीमा कम्पनीहरु सूचिकृत छन् ।

अर्का लगानीकर्ता अम्बिकाप्रसाद पौडेल भन्छन्, ‘अरु मुलुकमा “इन्डेक्स” को कारोबार हुन्छ । हामीकहाँ समूह वास्तविक बनाउने पहलसम्म भएन । विकास बैंक र लघुवित्त बिलकुलै फरक पाटो भए पनि एउटै समूहमा राख्दा बजार नै प्रभावित हुने अवस्था छ । अब नेप्सेले अहम भुमिका खेल्नु पर्छ ।’

लगानीकर्ताले कम्पनीहरुको वास्तविक सेयर मूल्य खुट्याउन सूचकको सहायता लिने गरेका छन् । बैंक तथा बीमा समूह अरुको तुलनामा केही वास्तविक बने पनि विकास बैंक समूहको सूचकमा हुने अन्यौलले लगानीकर्ता समस्या पर्ने गरेका हुन् ।

राष्ट्र बैंक के भन्छ ?

यस अघि नै बैंक तथा वित्तीय संस्थाको वर्गीकरणमा एकरुपता ल्याउनु पर्ने सम्बन्धमा छलफलहरु चलेका हुन् । अहिले राष्ट्र बैंकले विकास बैंकहरुको संख्या न्यून बनाउन पूँजी योजनामा वाणिज्य बैंकलाई कुनै न कुनै विकास बैंक मिलाउन आग्रह गरिरहेको छ । सोही अनुसार बाणिज्य बैंकहरुले विकास बैंकलाई आफूमा विलय गराएका छन् । चुक्ता पूँजी अढाई अर्ब पुर्याउन सक्ने क्षमता हुँदा हुँदै पनि केही समय अघि सिद्धार्थ डेभलपमेण्ट बैंक जनता बैंकमा विलय भैसकेको छ ।

राष्ट्र बैंक प्रवक्ता नारायणप्रसाद पौडेल भन्छन्’ ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण हटाएर एकै किसिमको बनाउने भन्ने सम्बन्धमा ठोस निर्णय गरेको छैन । मर्जर तथा विलयका कारण विकास बैंकको संख्या सून्य नहोला भन्न सक्ने अवस्था पनि छैन ।’

उल्लेखित सबै परिदृष्यलाई हेर्दा आगामी दिनमा विकास बैंकहरुको अस्तित्व नरहने आँकलन मात्र गर्न सकिन्छ । राष्ट्र बैंकले विकास बैंक र फाइनान्सको वर्गीकरणमा एकरुपता ल्याउने सम्बन्धमा पनि कुनै ठोस कदम चालेको छैन । विकास बैंक र लघुवित्तको अलग अलग उप समूहको आवश्यक्ता नरहने केन्द्रीय बैकको वुझाई हुन सक्छ ।

तर, राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याएर अस्तित्व राख्ने विकास बैंकहरुको संख्या पनि उल्लेख्य छ । यस अर्थमा पनि लघुवित्त र विकास बैंकको उपसमुह छुट्याउनु पर्ने हुन्छ । यसैगरी लघुवित्त कम्पनीको संख्या पनि पाँच दर्जन हाराहारीमा पुग्न लागेको अवस्था छ । त्यसैले अलग अलग सूचक निर्धारण गरिनुपर्ने लगानीकर्ताको माग छ ।

अहिले पनि धेरै संख्यामा विकास बैंकहरु अस्तित्वमा रहेका छन् । एक जिल्ले, तीन जिल्ले, १० जिल्ले र राष्ट्रियस्तरका विकास बैंकको व्यवस्था अहिले क्षेत्रीय र राष्ट्रियस्तरको मात्र विकास बैंक रहेने व्यवस्था गरेको छ । जसका कारण कतिपय बैंकहरु पूँजी योजना अनुसार अघि बढ्न नसक्ने भएकाले मर्जर तथा विलयमा गइसकेका छन् ।

के गर्दैछ नेप्से ?

अहिले नेपाल स्टक एक्सचेञ्जमा ४२ विकास बैंक र ३३ वटा लघुवित्त गरी बिकास बैक समूहमा कुल ७५ वटा रहेका छन । ४२ विकास बैंक मध्येपनि अधिकांस मर्जर तथा विलयमा गईसकेका छन् । हाल कायम रहेका दुई दर्जन हाराहारीमा रहेका विकास बैंक र ३३ लघुवित्त कम्पनीको वास्तविक सेयर मूल्य लगानीकर्ताले पाउन सकिरहेका छैनन् ।

नेप्सेका अनुसार लघुवित्त र विकास बैंकको उपसमूह अलग अलग बनाउने सम्बन्धमा छलफल चलिरहेको छ । नेप्से प्रवक्ता मुराहरि पराजुली भन्छन्, ‘यो सम्बन्धमा नेप्सेमा विषय उठान भएर छलफल चलिरहेको छ । उपसमूह अलग बनाउन नेप्से सकरात्मक छ । समयसापेक्ष रुपमा निर्णय हुन बाँकी छ ।’

विकास बैंक र लघुवित्तको उपसमुह अलग गराउने सम्बन्धमा नेप्सेले निर्णय गरे तुरुन्त कार्यान्वायनमा जान सक्ने देखिन्छ ।

लगानीकर्ताले भने कहिले उपसूुह अलग होला भन्नेमा आशावादी छन । लघुवित्त र विकास बैंकको वास्तविक ‘प्राइस मुभमेण्ट’ थाहा पाउन लगानीकर्ताले नेप्सेको निर्णय कहिले आउछ, पर्खनुको बिकल्प छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।