सरकारले सेयर बजारमा प्रतक्ष्य हस्तक्षेपकारी नीति अबलम्बन गर्ने नगरेपनि निरन्तर घट्दो बजारमा आउने कारणहरुको खोजी गरि निकारणको प्रयास त्यहाँका सरकारले गर्ने गरेका छन् । हामीले यहाँ बंगलादेश र चीनमा त्यहाँका सरकारबाट बजारमा अत्याधिक गिरावट आउँदा के कस्तो गरिन्छ भन्ने सामाग्रीलाई जोड्दैछौं ।
बंगलादेशमा कसरी सम्बोधन गरियो बजारको गिरावट ?
सन् २००९ र २०११ मा बंगलादेशको सेयर बजारमा पनि नेपालमा जस्तै निकै ठूलो उथलपुथल आएको थियो । जसका कारण बंगलादेशका दुईवटा स्टक एक्सचेन्ज डीएसई र सीएसईको सूचाङ्क ३० प्रतिशतसम्म तल झरे ।
सन् २००९ मा ६२ प्रतिशत तथा २०१० मा ८३ प्रतिशतसम्मको बढोत्तरी भएको डीएसई र सीएसईको सूचाङ्कमा एकाएक तिब्र उतार चढाव आउँदा लगानीकर्ता निराश बन्न पुगे । त्यस वेलाको त्यहाँको सेयर बजारमा भएको यो गिरावटलाई राजनितीक अस्थीरतासँग जोडिएर बिश्लेषण गरियो ।
बजार अत्याधिक घट्नुमा बंगलादेशको केन्द्रीय बैकले अत्याधिक तरलता संकट पारेको कारणबाट नै बजार तल्लो बिन्दुमा झरेको आरोप पनि लाग्यो । जसलाई रुढीवादी मौद्रिक नीतिको प्रभाव समेत मानियो ।
१९ डिसेम्बरमा २०१० मा ढाका स्टक एक्सचेन्जमा ५५ बर्ष यताकै ठूलो गिरावट आएको थियो । त्यो समयमा त्यहाँका अर्थमन्त्रीले सेयर बजार यस्तै हो, तलमाथि भईरहन्छ भनेर नेपालकै अर्थमन्त्रीले जस्तै जवाफ दिएका थिए ।
सो समयमा नेपालमा जस्तो त्यहाँको सरकार मुकदर्शक बनेर बसेन बरु सेयर बजारमा लगातार आएको गिरावट र दुर्घटनाको जाँचका लागि सरकारले २४ जनवरी २०११ मा एउटा जाँचबुझ समितिको गठन गर्यो । । जसमा बंगलादेशका पूर्व गभर्नर इब्राहिम खालिदको नेतृत्व चार सदस्यीय उच्चस्तरीय समितिको निमार्ण गरिएको थियो ।
सो समितिले तीन महिनापछि बुझाएको प्रतिबेदनमा प्रभावशाली ६० जना व्यक्तिहरुले बजारमा घोटाला गराएको खुलासा भयोे । समितिले डीएसई र सीएसईलाई प्रतिबेदन बुझाउँदै ६० जना व्यक्तिहरुले अधिक मात्रामा अनियमितता गर्दैे नाफा कमाएको प्रतिवेदन सार्वजनिक गर्यो ।
डिसेम्बर २००९ र जनवरी २०११ को समयमाभित्र बजार घटाउने समूहले सेयर बजार २१ प्रतिशतले गिरावट गराएर ६६७ मिलियन डलर कमाएका थिए भन्ने बताइन्छ ।
त्यसकै सम्बोधनका लागि त्यहाँको सरकारले बजारमा हस्तक्षेप गर्यो र बजारलाई पुर्नउत्थान गर्न तथा स्थीर बजार निमार्णका लागि सरकारले बजार स्थिरिकरण कोष (एमएसएफ) को स्थापना गर्यो ।
यसले २०११ को अन्त्यमा बजारमा तरलता बढाउन र शेयरको मूल्यमा वृद्धि गराउनका लागि ५० बिलियन डलर लगानी तयार पारेको थियो । सरकारको यो सम्बोधनले घटेकै बजारमा पनि लगानीकर्तालाई लगानी गर्ने अवसर सृजना गर्न सफल भएको थियो । यसको प्रभावले बजारप्रति आम लगानीकर्ता पनि विस्तारै आकर्षित बन्दै गए र बजारले लिँदै गयो ।
सरकारले सेयर बजारमा लगानी गर्ने कोष खडा भएपछि बजारमा गिरावट आउँदा आउँदै पनि बैंकहरुले लगातार सेयर किनिरहे र आफुसँग रहेको सेयर बेचेनन् । फलस्वरुप बजार तत्काल ७ प्रतिशतले बढ्न सफल भयो ।
कम्युनिष्ट राष्ट्र चीनमा पनि यस्तो प्रचलन
कट्टर कम्युनिष्ट राष्ट्र मानिएको चीनमा पनि बजार ध्वस्त हुने परिस्थिती आउँदा त्यहाँको सरकारले पहलकदमी लिने गरेको छ । यस देशमा सेयर बजारको सूचक निकै घटेर तल्लो बिन्दुमा आइपुग्न थालेपछि सरकारले आवश्यकताको मूल्याङ्कन गरी त्यहाँका वित्तीय कम्पनीहरुलाई सेयर किन्न आदेश दिने गरेको पाइन्छ ।
यसरी बजार सुधार गर्ने वित्तीय समूहलाई नेशनल टीम भन्ने गरिएको छ । नेशनल टीम बजार बढाउन उत्प्रेरक बन्छ भने सरकारको पनि सिधा हस्तक्षेप रहने गर्दैन ।
साना साना समूहमा रहेका यस्ता बित्तीय कम्पनीहरुले मार्केट मेकर को भुमिका निर्वाह गर्ने गर्दछ । सरकारले सेयर बजारको परिसूचक घटेको अवस्थामा ती वित्तीय संस्थालाई एउटा निश्चित बिन्दुसम्म सूचाङ्क पुर्याउने लक्ष्य दिने गर्दछ ।
नेशनल टीमहरुलाई सरकारी निकायबाट नै यसरी आदेश दिएपछि उनीहरुले गर्ने लगानीले विस्तारै बजारले लय समात्न थाल्दछ । यसो गर्दा साधारण लगानीकर्ताको मनोबल खस्कनु भन्दा अगावै बजार सहि दिशा निर्धारण गरिसकेको हुन्छ जसले गर्दा लगानीकर्तामा आफ्नो लगानीमा डुब्ने डर रहँदैन ।
सन् २०१७ डिसेम्वेरमा पनि चीनले नेशनल टीमलाई ४५०० अंकको बजार सूचांक हासिल गर्न आदेश दिइएको थियो । यस्ता टिमले सो लक्ष्य पूरा गर्न त सकेन तर घट्दो बजारलाई रोक्नका लागि यसले ठूलो भुमिका खेलेको कुरा त्यहाँका सञ्चार माध्यामहरुले बताएका थिए ।
चीनमा यसरी पूँजी बजार विकास र स्थिरता प्रदान गर्ने नेशनल टीमको काम दैनिक लेनदेनका गतिविधिहरुमा प्रत्यक्ष रुपमा देखिने गर्छ । जस्तैः जब बजारमा असामान्य रुपमा मानिसहरु सेयर बेच्ने धुनमा लाग्छन्, त्यो बेला रहस्यमय ढंगले ठूलो मात्रामा खरिदमा देखिने वृद्धिले नेशनल टीम बजारमा प्रवेश गरिरहेको छ भन्ने संकेत दिने गर्दछ ।
नेशनल टीमले बजार खुलेको सुरु समयमा भने लगानी गर्ने गर्देन । यस्ता वित्तीय संस्थाहरुले बजार बन्द हुनुभन्दा केही घण्टा पहिले मात्र बजार प्रवेश गर्ने गर्दछन् र आफुले लगानी गर्ने गरेका छन् ।
चीनमा गत तीन महिनामा मात्र नेशनल टीमले अविश्वसनीय रुपमा करिब १.५ खर्ब यूआन अर्थात् २३६ अर्ब अमेरिकी डलर बराबर स्टक बजारमा लगानी गरिसकेको छ । यो रकम अमेजनको बजार पुँजीकरण बराबरको हो ।
अमेजनको बजार पुँजीकरण २३६ अर्ब अमेरिकी डलर रहेको छ । यसको अर्थ चीनले आफ्नो शेयर बजारलाई माथि उकास्नका लागि अमेजनको पुरै बजार पुँजीकरण लगाएको छ भन्ने देखिन्छ । चीनियाँ सरकारले शेयर बजारको स्थायित्वका लागि ल्याएको नेशनल टीमको अवधारणा अहिले भरपर्दो वित्तीय औजार बन्न पुगेको छ ।
नेपालमा पनि नागरिक लगानी कोषलाई बजार निमार्ताको रुपमा ल्याउने घोषणा भएपनि त्यो अहिलेसम्म घोषणामा नै सीमित रहेको छ । के चाँही हो भने नियामक निकायका पदाधिकारीहरु पूँजी बजारको कुनै ठूलो कार्यक्रममा उपस्थित हुँदा त्यो निर्णय अहिले पनि दोहोर्याउन भने छुटाउँदैनन् ।
बिभिन्न कारणले सेयर बजारमा अपत्यारिलो गिरावट भैरहेको हुन्छ । नेपालमा पनि स्थीर सरकार र सम्वृद्धिको वातावरण बन्छ भन्ने जनताको चाहाना हुँदा हुँदै पनि अर्थतन्त्रको ऐना मानिने सेयर बजार अत्यासलाग्दो गरि झरेको छ । गत डिसेम्वरमा चिनियाँ सेयर बजार पनि यसैगरी निकै ओरालो लाग्यो । तर, नेपालमा जस्तो चिनियाँ सरकार गैह्र जिम्मेवार बनेन । उसले लगानकिर्ताको मनोवल बढाउने कोशिस ग¥यो । नेपालमा भने सरकार र नियामक निकाय आफू पानीमाथिको ओभान बन्दै सम्पूर्ण दोष लगानीकर्ता माथि नै लगाउने गरेका छन् ।