चार वाणिज्य बैंकले बन्द गरे कर्जा प्रवाह, बैंकहरुको वासलातमा राष्ट्र बैंकको चासो

Oct 24, 2018 Merolagani

निक्षेपको व्याजदरमा बैंकहरुले भद्र सहमति गर्दै गर्दा केही वाणिज्य बैंकहरुले कर्जा प्रवाह बन्द गरेका छन् । निक्षेपको व्याजदरमा सहमति गरेका ती बैंकहरु थप निक्षेप जुटाउन कसरत गरिरहेका छन् । भदौ महिनादेखि नै समस्यामा परेका ती बैंकहरु दशैं लगत्तै कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

कर्जा निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत पुगेका कारण चार वाणिज्य बैंकहरुले थप कर्जा प्रवाह गर्न बन्द गरेको बुझिएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार सय रुपैंया निक्षेप संकलन गर्दा ८० रुपैंया मात्र कर्जा प्रवाह गर्न पाइने व्यवस्था छ । यो व्यवस्थाभन्दा माथि गएको खण्डमा राष्ट्र बैंकले बैंकहरुलाई कार्वाही गर्ने प्रावधान छ ।

यही प्रवाधान अनुसार कार्वाहीमा पर्ने डरले सिसिडि रेसियो सन्तुलन गर्नका लागि बैंकहरु कर्जा प्रवाह गर्न छाडेर निक्षेप संकलनमा केन्द्रित भएका हुन् । राष्ट्र बैंक स्रोतका अनुसार दैनिक रुपमा हेर्दा ४ वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशतको हाराहारीमा पुगेको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने केही बैंकहरुको सिसिडि ८० प्रतिशतकै हाराहारीमा पुगेको बताए । ‘तरलता अभाव नभएको अवस्थामा के कस्ता कारणले बैंकहरु यो अवस्थामा पुगे भन्ने विषयमा राष्ट्र बैंकले चासो राख्दै बैंकहरुको ध्यानाकर्षण गराई रहेको छ ।’ मेरोलगानीसँगको कुराकानीमा राष्ट्र बैंक प्रवक्ता पौडेलले भने ।

उनका अनुसार पछिल्लो पटक बैंकहरुमा ५० अर्ब हाराहारीको तरलता छ । यो आकार पछिल्ला केही दिनमा झण्डै १५ अर्ब हाराहारीमा संकुचित बनेको हो । यद्यपी बैंकहरुको मासिक प्रतिवेदनमा यो अवस्था कायम रहिरहन्छ वा रहँदैन भन्ने विषय महत्वपुर्ण हुनेछ । केही बैंकहरुले समस्यामा परेका बैंकहरुलाई कर्जा उपलब्ध गराएर सहयोग समेत गर्न थालेका छन् । यसले बैंकहरु राष्ट्र बैंकको कार्वाहीमा नै पर्ने अवस्था भने नरहन सक्छ ।

बैंकहरुले पनि कर्जा प्रवाहमा केही कडाई गर्नु पर्ने अवस्थामा पुगेको विषयलाई घुमाउरो शैलीमा स्वीकार गरेका छन् । तर उनीहरु कर्जा बन्द नै गरेको विषयमा भने बोल्न चाहेका छैनन् । मेरो लगानीसँगको कुराकानीमा एक बैंकका उच्च कर्मचारीले भने ‘समस्या बढेपछि दवाब पनि उत्तिकै बढेको छ । यसले गर्दा मझौला किसिमका कर्जामा मात्र हामीले ध्यान केन्द्रित गरेका छौं । नत्र अहिले निक्षेप प्राथमिकतामा छ । यसलाई कर्जा बन्द गरेको भन्न नमिल्ला ।’

अर्का एक बैंकका उच्च अधिकारीले भने तिहारसम्ममा सबै समस्या समाधान हुने दाबी गरे । ‘अहिले ठुलो समस्या आएको हैन । सामान्य विषय केही दिनमा मिले पछि हामी नियमित तालिका अनुसार काम गर्छौ ।’

सरकारले खर्च गर्न नसक्दा अहिलेको समस्या आएको बैंकरहरुको भनाई छ । ‘बजारको सबै पैसा सरकारी बचतमा गएको अवस्थामा बैंकहरुमा लगानीयोग्य रकमको अभाव चुलिएको हो । अहिले त केही बैंकमा मात्र समस्या देखिँदैछ । सरकारी बचतको आकार बढ्दै जाने मात्र भयो भने अरु बैंक पनि प्रभावित हुन्छन् ।’ एक बैंकरले मेरो लगानीसँग भने ।

अहिले राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा सहज अवस्थामा छ । जसका कारण अरु बैंकहरुले पनि कर्जा प्रवाहलाई केही नियन्त्रण गर्ने अभ्यास सुरु गरि सकेका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।