बीमा समितिद्धारा ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने मार्गदर्शन २०७६’ जारी

Dec 09, 2019 11:57 AM Merolagani

-निशुल्क बीमा शब्दको प्रयोग हटाएर बीमकको सहकार्यमा राख्न निर्देशन। 

बीमा समितिले बीमा कम्पनीहरुका लागि ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने मार्गदर्शन २०७६’ जारी गरेको छ। 

बीमकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा एवं बीमा व्यवसायको प्रचार प्रसार गर्दा एकरुपता कायम गरी बीमा जोखिमांकन व्यवस्थित बनाउन मार्गदर्शन जारी गरेको हो।

 मार्गदर्शन अनुसार बीमा कम्पनीहरुले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बीमा व्यवसायको प्रचार प्रसार गर्दा सम्बन्धित बीमकको नाम उल्लेख गर्ने वा बीमकसँगको सहकार्यमा बीमा भएको भन्ने उल्लेख गनुपर्नेछ।

यस्तै बीमकले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा लाग्ने बीमा प्रिमियम शुल्क सम्बन्धित संस्थाले नै तिर्ने भएमा यसको बीमा प्रिमियम शुल्क संस्था स्वयंले व्योहोर्ने भन्ने सूचना दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ।

मार्गदर्शन अनुसार जीवन बीमा सेवा दिने कम्पनीहरुले नयाँ बीमालेख जारी गर्दा वा पुरानो बीमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मुल बीमालेख जारी गर्नुपर्नेछ। बीमितले मूल बीमालेख हेर्न सक्ने गरी व्यवस्था गर्नुका साथै संस्थाको वेबसाइटमा राख्ने व्यवस्था समेत गर्न समितिले निर्देशन दिएको छ।

प्रस्ताव भर्दा संस्थाले आफ्नो निक्षेपकर्ता, सदस्य वा ऋणीको औषधोपचार बीमा तथा घातक रोग राइडरको सुविधा प्रदान गर्न बीमितको परिचय खुल्ने गरी केवाइसी र स्वास्थ्य सम्बन्धी विवरण भर्नुपर्नेछ।

यस्तै समितिले बीमाङ्कको अधिकतम हद कायम गर्नुपर्ने सीमापनि निर्धारण गरेको छ। मार्गदर्शन अनुसार जीवन बीमा कम्पनीहरुले घातक रोगको बीमाङ्कको हद १० लाख रुपैयाँ र औषधोपचार बीमा पूरक करारको हद एक लाख रुपैयाँ निर्धारण गरेको छ।

निर्जीवन बीमा कम्पनीहरुले पनि नयाँ बीमालेख जारी गर्दा वा पुरानो बीमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मुल बीमालेख जारी गर्नेपर्न व्यवस्था गरेको छ। बीमितले मूल बीमालेख हेर्न सक्ने गरी व्यवस्था गर्नुका साथै संस्थाको वेबसाइटमा राख्ने व्यवस्था समेत गर्न समितिले जारी गरेको मार्गदर्शनमा उल्लेख छ।

यस्तै समितिले निर्जीन बीमा अन्तर्गत बीमाङ्कको अधिकतम हद कायम गर्नुपर्ने सीमा समेत निर्धारण गरेको छ। मार्गदर्शन अनुसार निर्जीवन बीमा कम्पनीहरुले घातक रोगको बीमाङ्कको हद १० लाख रुपैयाँ , दुर्घटना बीमाको अधिकतम हद १० लाख रुपैयाँ र औषधोपचार बीमाको अधिकतम हद एक लाख रुपैयाँ कायम गर्नुपर्ने जनाएको छ।


comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।