साताको पहिलो कारोबार दिन ३३.३३ अंक ओरालो लागेको नेप्से बाँकी कारोबार दिनमा बढेर बन्द भएको थियो। साताको पहिलो दिन नै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयरबजारमा प्रभाव पार्ने कुनै परिवर्तन नगरेपछि बजार बढ्न थालेको थियो। लगानीकर्ताहरुले समीक्षामार्फत राष्ट्र बैंकले केही कडाइ गर्ने त्रासमा गत साताको अन्तिम कारोबार दिन र यस साताको पहिलो कारोबार दिन बजार उच्च अंकले घटेको थियो। तर, कुनै परिवर्तन नआएपछि लगानीकर्ताहरु पुनः बुलिश मुडमा देखिएका हुन्।
नेप्सेसँगै यस साता अन्य सूचकहरु पनि बढेका छन्। यस साता सेन्सेटिभ इण्डेक्स १८.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ९.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.८२ अंक बढेको छ।
नेप्से बढेपनि यस साता कारोबार रकम भने गत साताको तुलनामा केही घटेको छ। गत साता ४५ अर्ब २७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ४४ करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
बजार बढेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ। यस साता मात्रै नेप्सेको कुल बजार पूँजीकरण २ खर्ब २७ अर्ब रुपैयाँ बढेको छ। गत साता ३४ खर्ब ६ अर्ब रुपैयाँ रहेको यस्तो पूँजीकरण यस साता बढेर ३६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।
यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ७.०८ प्रतिशत बढेको छ। गत साता १८०८.६४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १२८.०२ अंक बढेर १९३६.६६ विन्दुमा पुगेको छ। यो यस उपसमूहको हालसम्मकै उच्च विन्दु हो।
अंकका आधारमा यस साता लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता ४३१३.५९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता १९३.०३ अंक बढेर ४५०६.६२ विन्दुमा पुगेको छ।
यस साता सर्वाधिक घट्नेमा होटल उपसमूह रहेको छ। यस साता सो उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ। त्यसैगरी, अंकका आधारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ६२.३० अंक घटेको छ।
यस साता मोस्ट पपुलर बाइ स्टकको सूचीमा एनआईबिएल प्रगति फण्ड, गुडविल फाइनान्स, नबिल इक्विटी फण्ड, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका स्टकहरु परेका छन्। त्यसैगरी, मोस्ट पपुलर सेल स्टकको सूचीमा आइएमई जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, तारागाउँ रिेजेन्सी होटल लगायतका कम्पनीहरु परेका छन्।