ग्लोबल मनि विकको अवसरमा ग्लोबल आइएमई क्यापिटलले गर्‍यो सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

Mar 27, 2024 12:20 PM merolagani

विश्व वित्तीय सप्ताह–२०२४ (ग्लोबल मनि विक) को अवसरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले देशका सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ।

सो अवसरमा ग्लोबल आइएमई क्यापिटलले प्लस २ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थी एवं वैदेशिक रोजगारीको लागि विदेशी भाषा शिक्षा अध्ययन गर्ने युवा युवतीहरूलाई लक्षित गरी यही २०८० चैत्र ५ गतेदेखि ९ गतेसम्म देशका सात वटै प्रदेशमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो।

विश्व वित्तीय सप्ताह खासगरी विद्यार्थी तथा युवा युवतीमा अनावश्यक खर्च कटौती गरी बचत गर्ने बानी बसाल्ने तथा वित्तीय शिक्षाको महत्त्व बुझाउने उद्देश्यले ओइसिडि/आइएनएफईको संयोजन तथा नेपाल राष्ट्र बैंकको अनुरोधमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ। उक्त सबै कार्यक्रमहरूमा क्यापिटलका पदाधिकारीहरूले पूँजी बजार सम्बन्धी प्रशिक्षण दिएका थिए।

प्रशिक्षकहरूले खासगरी बचत तथा लगानी बिचको फरक, मर्चेन्ट बैंकरले गर्ने कार्य, डिम्याट खाता तथा मेरो शेयर सेवा, लगानी व्यवस्थापन सेवा लगायत दोस्रो बजारको बारेमा विस्तारित रुपमा व्याख्या गर्नुका साथै पूँजी बजारको विभिन्न उपकरणहरूको अवसर तथा जोखिमको बारेमा प्रकाश पारेका थिए। सानै उमेरदेखि आफुँसँग रहेको पैसालाई एकीकृत गरी पूँजी बजारमा कसरी लगानी, जोखिम पहिचान, लगानी रणनीति तथा विभिन्न लगानीको अवसर र चुनौतीको विषयमा प्रस्तुतीकरण गरिएको  थियो। अन्तरक्रियात्मक कार्यक्रमको रुपमा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रमहरूमा सहभागीहरूको उल्लेख्य उपस्थिति थियो भने कार्यक्रममा सम्बन्धित विद्यालय÷कलेजका प्रिन्सिपल तथा स्थानीय निकायका जनप्रतिनिधिहरूले ग्लोबल आइएमई क्यापिटलले विद्यार्थीहरूको लागि पूँजी बजारसँग सम्बन्धित विषयमा साक्षरता कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गदै धन्यवाद दिए।

ग्लोबल आइएमई क्यापिटलले समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित विषयमा विभिन्न तालीम तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रम मार्फत युवा युवती तथा विद्यार्थीहरूले नेपालको पूँजी बजार सम्बन्धी शिक्षा प्राप्त गरी प्राप्त भएको ज्ञानलाई आगामी दिनमा व्यवहारमा लागू गरी आफ्नो आम्दानीलाई बचत तथा लगानीको रुपमा प्रयोग गर्ने बानीको विकास हुने विश्वास गरिएको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।