शेयर बजार लगातार घट्दा लगानीकर्ताको शेयर धितो ऋण लिने क्षमता पनि घट्दै, कसरी घट्यो क्षमता ?

Mar 28, 2024 11:02 AM merolagani

सुवास निरौला

पछिल्लो समय बैंकमा लगानी योग्य रकम थुप्रिँदै गएको छ। थुप्रिँदै गएको ऋण व्यवस्थापन गर्न बैंकहरुले शेयर धितोमा दिइने ऋण बढाउन खोजेका छन्। जसका लागि उनीहरूले नयाँ ऋणी खोजिरहेका छन् भने भएका ग्राहकलाई पहिल्यै लिएको लिमिट बढाउन अनुरोध गरिरहेका छन्।

तर नयाँ ऋण लिने बढ्न सकेका छैनन् भने अर्को तर्फ पुराना ऋणीले लिमिट समेत बढाउन सकेका छैनन्। लगातार शेयर बजार घट्दै गएको कारण उनीहरूले लिमिट बढाउन नसकेको बताइएको छ। बैंकले लोन अगेन्स शेयर शीर्षकमा ऋण दिन्छ। त्यसको लागि बैंकले ब्याज तिर्ने सक्ने स्रोत खोजी गर्छ। त्यसमा हुनेले जागिरबाट आउने तलब, घर भएकाले घर भाडा लगायतका स्रोत बुझाउँछन्। तर सबै ऋणीको जागिर नहुने र धेरै ऋण लिनको लागि सामान्य घर भाडाले पनि नपुग्ने हुन्छ। तर धेरै जसोले स्रोतको रुपमा आफूले शेयर बजारमा कारोबार गर्दा तिरेको क्यापिटल गेन ट्याक्स (पूँजीगत लाभकर)को विवरण बुझाउँछन्। शेयर धितो राखेर लिने ऋणमा त्यो नै सबैभन्दा सजिलो स्रोतको रुपमा लिइन्छ। वार्षिक रुपमा बजारबाट २४ लाख आम्दानी गरेको र त्यस रकमको पूँजीगत लाभकर तिरेको देखिए लगानीकर्तालाई बैंकले सरदर एक करोडसम्म ऋण चलाउन दिन्छन्। जति धेरै नाफा गर्‍यो वा जति धेरै पूँजीगत लाभकर तिर्‍यो त्यति नै धेरै ऋण चलाउन पाउने अवस्था हुन्छ। त्यही भएर शेयर धितो कर्जा लिने धेरै जसोले यही स्रोत देखाउने गर्छन्।

तर अहिले शेयर बजार लगातार घट्दो अवस्थामा छ।  चैतमा लगानीकर्ताले खासै मुनाफा कमाउन सकेका छैनन्। धेरै जसो सूचीकृत कम्पनीको शेयर मूल्य तल ओर्लिएका छन्। जसले गर्दा पूँजीगत लाभकर समेत लगानीकर्ताले धेरै तिर्न सकेका छैनन्। जसले गर्दा उनीहरूले स्रोतको रुपमा उपयोग गर्ने लाभकरको विवरण समेत राम्रो बनाउन सकेका छैनन्। जसले गर्दा बैंकले पैसा लैजाऊ वा लिमिट बढाउ भन्दा पनि लगानीकर्ताको स्रोत नबढेको कारण शेयर धितो कर्जा समेत भनेजस्तो गरी उपयोग हुन छाडेको बताइएको छ। “बैंक सँग पैसा छ। बैंकले शेयर धितो ऋण दिन खोजेका छन्। उनीहरूले लिमिट बढाउन पनि भन्दै आएका छन्। तर बजार घट्दो अवस्थामा छ। उनीहरूले स्रोतको रुपमा देखाउने पूँजीगत लाभकरको विवरण राम्रो भएकै छैन। त्यसले गर्दा बैंकले समेत दिन्छु भन्दा पनि लगानीकर्ताले ऋण बढाउन नसकेका हुन्,” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले मेरो लगानीसँग भने।

शेयर बजार घट्दै गर्दा लगानीकर्ताको ऋण लिने क्षमता त घटेकै छ, त्यसको असर दोस्रो बजारमा पर्दै जान थालेको छ। बैंकबाट ऋण स्वरूप नयाँ पैसा नआउने, अर्को तर्फ लगानी भएको रकम समेत बजार दैनिक रुपमा घट्दै जाँदा होल्ड हुँदै जाने अवस्थाले गर्दा कारोबार रकम समेत खुम्चिँदै जान थालेको छ।

शेयर बजारमा कारोबार रकम खुम्चिँदै गर्दा लगानीकर्ताको मनोबल समेत खस्किँदै गएको छ। अहिलेको अवस्थामा शेयर ऋण वृद्धि गर्नलाई शेयर बजार बढ्नु पर्ने हुन्छ। तर लगानीकर्ताले भने अहिले बलियो बढ्ने आधार खोजिरहेकाले तत्कालै शेयर बजार बढी हाल्ने अवस्था भने नरहेको बजारका पुराना लगानीकर्ता नयन बास्तोला बताउँछन्। “अहिले लगानीकर्ताले बलियो नीतिगत सम्बोधन खोजिरहेका छन्। त्यही कारण बजार घटिरहेको हो। बजारले उधारो बोलीलाई थोरै दिन पत्याए पनि त्यो दीर्घकालको लागि भने टिकाउ हुन सकेन। त्यसले गर्दा पनि बजारले ठोस कुरा नै खोजिरहेको छ,” बास्तोलाले मेरो लगानीसँग भने।

बास्तोलाका अनुसार बजार बढ्न अझै केही समय लाग्ने छ। जसले गर्दा लगानीकर्ताले शेयर बजारबाट नाफा कमाउन पनि केही समय कुर्नु पर्ने हुन सक्छ। त्यस बेलासम्म लगानीकर्ताको पूँजीगत लाभकर विवरण राम्रो हुने देखिँदैन। त्यसकारण अझै केही समय शेयर धितो ऋण लिने क्षमता पनि कमजोर नै हुने छ।  

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।